२०५५ पुसमा सूचीकृत तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य १२ वर्ष यताकै उच्च भएको छ।
सन् २०११ यता उपलब्ध तथ्यांक अनुसार कम्पनीको सेयर मूल्य पहिलो पटक ७९२ मा आइपुगेको हो। यस १२ वर्षको अवधिमा कम्पनीको मूल्य ६ सय रुपैयाँ माथि पुगेको भए पनि सात सय रुपैयाँ कट्न सकेको थिएन।
अहिले एक्कासी किन बढिरहेको छ त तारागाउँ रिजेन्सीको मूल्य?
हुनतः पछिल्लो समय होटेल क्षेत्रका केही कम्पनीहरूको सेयर मूल्य नै बढिरहेको छ।
तारागाउँको सेयर मूल्य बढ्नुका विभिन्न कारण रहेको एक ब्रोकर बताउँछन्। उनका अनुसार कोभिडको समयमा मूल्य नबढेका यस्ता होटेलको सेयरमा अहिले आएर वृद्धि देखिन थालेको हो।
विशेष गरेर पछिल्लो समय नेपाल भित्रिने पर्यटकहरूको संख्या वृद्धि भइरहेको, होटेलको कोठा बिक्री हुने दर (अकुपेन्सी) बढेको कारण मूल्य बढ्न थालेको हो।
यस्ता कम्पनीहरूको सेयर संख्या कम रहेको कारण बजारमा मागको तुलनामा आपूर्ति पनि कम रहेको कारण मूल्य बढिरहेको हो। त्यस्तै, तारागाँउ जस्तो काठमाडौंमा सयौं रोपनी जग्गा रहेका होटेलको मूल्यांकन नै अहिलेको कम्पनीको चुक्ता पुँजीभन्दा धेरै हुने भएकोले भ्यालु इन्भेष्टरले यस्ता पक्षलाई पनि महत्व दिन थालेको उनी बताउँछन्।
'आजको दिनमा यस्ता कम्पनीको जग्गा बिक्री भएमा नै अर्बौ रूपैयाँमा बिक्री हुन्छ,' ती ब्रोकरले भने, 'जग्गाको मूल्य सेयरमै प्रतिबिम्बत हुन्छ भन्ने त होइन, तर अहिले यस्तै क्षेत्रमा यस्तै होटेल बनाउन परे कति लगानी गर्नुपर्ने हुन्छ। यस्ता कुरा भ्यालु इन्भेष्टरले बुझेर पनि लगानी गरेका हुन्छन्।'
अब लागौं कम्पनीको वित्तीय विवरण तर्फ। कम्पनीले प्रकाशित तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको नाफा २३ करोड ८८ लाख रूपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०७७/७८ भरिमा मात्रै कम्पनीले १८ करोड ८० लाख रूपैयाँ नाफा गरेको थियो।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोडबाट आम्दानी रकम पनि बढेर यो आर्थिक वर्षमा ९० करोड रूपैयाँ पुगेको छ।
तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रूपैयाँ ६६ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ३६.७३ गुणा र प्रतिसेयर नेटवर्थ १३१ रूपैयाँ ६९ पैसा छ।
कम्पनीले पाँच वर्षमा भने अधिकतम १२ प्रतिशतको दरमा लाभांश दिएको छ। गत आर्थिक वर्षमा नाफा भएपछि भने कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो।
बिहीबार कम्पनीको मूल्यले लामो सेतो आकारको मैनवत्ती बनाएको छ। सो दिन ७ सय ३४ रूपैयाँबाट कारोबार खुलेर ७ सय ९२ रूपैयाँमा पुगेपछि बजार बन्द भएको थियो।
एकै दिन ७२ रूपैयाँसम्म मूल्य बढेको हो। १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक नै लागेको छ। यसले लगानीकर्ताहरूको कम्पनी प्रति आकर्षण बढेकोले मागमा उच्च वृद्धि भएको देखिन्छ।
पिभट विश्लेषण अनुसार कम्पनीको लागि आगामी साता ८१४ रूपैयाँमा पहिलो लक्ष्य हुनेछ। त्यो लक्ष्यबाट मूल्य घट्न थालेमा भने पहिलो टेवा ६६८ मा हुनेछ। त्यस्तै, मुभिङ एभरेज रेखाले बजार बुलिश प्रवृत्तिमा रहेको देखाएको छ।