नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'नेप्से इन्डेक्स ३०' सम्बन्धी प्रस्ताव बुधबार बस्ने नेप्सेको सञ्चालक समितिमा पेश गर्ने भएको छ।
नेप्सेले लगानीकर्ता लगायतसँगको सुझाव लिएपछि नेप्से इन्डेक्स ३० सम्बन्धी प्रस्ताव सञ्चालक समितिबाट पारित गर्न पेश गर्न लागेको हो।
नेप्से इन्डेक्स ३० मा यसअघि गरिएको प्रस्तावमा एउटा मात्र संशोधन गरिन लागिएको छ। नेप्से ३० इण्डेक्समा समावेश हुने कम्पनी सम्बन्धी मापदण्डको मस्यौदामा त्यस्ता कम्पनीको अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षमा मूल्यवृद्धि दरभन्दा बढी रहेको हुनुपर्ने प्रावधान राखिएको थियो।
अब भने प्रतिसेयर आम्दानी मूल्यवृद्धि दरभन्दा बढी रहेको हुनुपर्ने प्रावधान भने हटाइएको छ। नेप्सेले वैशाखमै मापदण्ड सम्बन्धमा लगानीकर्ताहरूसँग सुझाव मागेको थियो।
यसबाहेक मापदण्डमा प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष लगातार खुद नाफामा रहेको हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था छ।
फ्रि–फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ। त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था छ।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुन्छन्।
पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरू मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राखिनेछ।
यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ।
यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिने छन्। समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने भएको छ।
यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ।
तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने भएको छ।
यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनरमूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ। नेप्सेले तयार पारेको यो मापदण्ड सञ्चालक समितिबाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।
याे पनि हेर्नुस्:
'नेप्से इन्डेक्स ३०' ले कसरी फरक पार्छ कारोबार?