सेयर बजार परिसूचक नेप्से चार महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ। गत जेठ २१ गते १८६६ बिन्दुबाट उकालो लागेको बजार त्यसयता पहिलो पटक १८८९ बिन्दुमा आइपुगेको छ।
नेप्से परिसूचक मंगलबार १९ अंकले घटेर १८८९ बिन्दुमा आइपुगेको छ। लामो समयदेखि घट्न थालेको बजार चार कारोबार दिनदेखि भने लगातार दोहोरो अंकले घटेको छ। चार दिनमा नेप्से ७८ अंकले घटेर १९ सय बिन्दुभन्दा तल आइपुगेको हो।
बजार घट्नुको पछाडि विविध कारण रहेको सरोकारवालाहरूले बताएका छन्।
पहिलो कारण: अर्थतन्त्रमा आएको शिथिलता। 'सरकारले कर्मचारीलाई तलब खुवाउन समेत ऋण उठाइरहेको छ, राजस्व असुली बढ्न सकेको छैन,' एक ब्रोकरले भने, 'अहिलेको शिथिलताले साना तथा मध्यम व्यावसायीलाई समेत दबाब परिरहेको छ, यही कारण अर्थतन्त्रको समस्या व्यक्तिगत तहमै देखिन थालेको छ।'
सेयर कारोबारका लागि आउने मध्यम व्यवसायीहरू अहिले लगानी बढाउन नसक्ने अवस्थामा रहेको ती ब्रोकर बताउँछन्।
दोस्रो कारण: असोजमा बढेको ब्याजदर। केही वाणिज्य बैंकहरूले असोजको लागि समेत निक्षेपको ब्याजदरमा वृद्धि गरे। अब कात्तिकमा समेत बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरेमा बजार बढ्न समस्या हुने अर्का ब्रोकर बताउँछन्।
'लगानीकर्ताहरूको सामर्थ्य घटेको छ, अहिले सवारी कर्जा १० प्रतिशतभन्दा कममै उपलब्ध हुन थाल्दा पनि बिक्री बढेको छैन,' ती ब्रोकरले भने, 'कात्तिकमा बैंकहरू सबैले निक्षेपको ब्याजदर केही घटाएमा मात्रै बजार बढ्ने सम्भावना छ।'
सिद्धान्त अनुसार निक्षेपको ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ। निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर समेत बढ्छ र ऋण लिएर कर्जा लगानी गर्नेहरूको लगानी क्षमता पनि घट्छ।
त्यसैले लगानीकर्ताहरू कात्तिकको लागि बैंकहरू ब्याज बढाउँछन् कि बढाउँदैनन् भनेर पर्खिरहेको ब्रोकरहरू बताउँछन्।
तेस्रो कारण: कर तिर्ने समय नजिकिनु। असोज मसान्त लागेसँगै व्यक्ति तथा संस्थाहरूले कर बुझाउनुपर्छ। त्यसैले यसको दबाबमा समेत सेयर लगानीकर्ता छन्।
चौथो कारण: चाडवाडकै दबाब। आर्थिक गतिविधिमा शिथिलता आएसँगै मानिसहरूको क्रयशक्तिमा कमी आएको छ। तुलनात्मक रुपमा अन्य समयभन्दा दसैंजस्ता चाडमा खर्चमा पनि वृद्धि हुन्छ। यसले पनि अहिले दबाब दिएको हो। अन्य सामान्य अवस्थामा पनि दसैं ताका नेप्से निश्चित अंक सहित सामान्य घटबढ हुने प्रवृत्तिमा देखिन्थ्यो।
पाँचौं कारण: राष्ट्र बैंकले अपेक्षाअनुसार सेयर धितो कर्जाको एकल ग्राहक सीमा संशोधन नगर्नु। राष्ट्र बैंकले चार दिन अघि मात्रै सेयर धितो कर्जाको एकल ग्राहक सीमा संशोधन गर्यो। पहिले सबैखाले ऋणीलाई १२ करोडको सीमा लगाएको राष्ट्र बैंकले यो सीमा बढाएर व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड बनायो।
लगानीकर्ताहरूको अपेक्षा यस्तो सीमा ५० करोडसम्म हुन्छ भन्ने थियो। अपेक्षाअनुसार नभएपछि पनि केही लगानीकर्ता राष्ट्र बैंकको पछिल्लो निर्णय प्रति रुष्ट छन्।