सिद्धार्थ बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ सय लाख ८० हजार एक सय ९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार एक सय ६६ रुपैयाँ मात्र नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् मात्र वितरण हुनेछ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो वर्ष २०७८ को तुलनामा २६ करोड अर्थात् ९.११ प्रतिशतले वृद्धि भएको हो। बैंकको वितरणयोग्य मुनाफा ६६ करोड रूपैयाँ छ।
खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा घटेको हो। बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट एक अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा छुट्याएकाले वितरण योग्य रकम कम भएको हो। यस वर्ष लाभांश कम देखिएपनि जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपछि सेयरधनीहरूलाई नै वितरण गरिन्छ।
यसरी छुट्याइएको रकम एक अर्ब ४६ करोड रूपैयाँ समेत गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा दुई अर्ब १२ करोड रूपैयाँ हुन आउँछ। प्रतिशतका आधारमा १५.०७ प्रतिशत बराबर प्रतिफल हो।
बैंकले प्रतिकुल बजार अवस्थाका बावजुद निस्क्रिय कर्जाको अनुपातलाई २.०१ प्रतिशतमा सीमित गरेको छ। अघिल्लो त्रैमासको निष्क्रिय कर्जाको अनुपात ३.९५ प्रतिशत थियो।
२०८० असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रूपैयाँ छ। जगेडा कोष ११ अर्ब २२ करोड रूपैयाँ छ भने बैंकको नेटवर्थ २५ अर्ब ३१ करोड रूपैयाँ छ। अघिल्लो आर्थिक वर्षभन्दा नेटवर्थ ३ अर्ब ७१ करोड रूपैयाँले वृद्धि भएको हो। बैंकले यस आर्थिक वर्षमा ५९ करोड नगद लाभांश वितरण गरे पश्चात् पनि बैंकको नेटवर्थमा १४.४३ प्रतिशतले वृद्धि हुने देखिन्छ।
सिद्धार्थ बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण रकम प्राप्त गर्न सफल भएको थियो। हालसम्म नेपालका कुनै पनि बैंक तथा वित्तिय संस्थाले निगमबाट प्राप्त गरेको ऋण रकममध्ये यो सबैभन्दा बढी हो।
अन्तर्राष्ट्रिय ख्याती प्राप्त वित्तीय संस्थाहरूबाट सिद्धार्थ बैंकलाई स्वीकृत ऋण रकमले बैंकभित्र विद्यमान सुशासन र बैंकको सवल वित्तीय अवस्थालाई देखाउने बैंकले बताएको छ।