रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसाको दरमा सेयर निष्कासन गरिरहेको छ।
योग्य संस्थागत लगानीकर्ताले बोलकबोल (बुक बिल्डिङ) प्रक्रियामा सहभागिता जनाएर निकालिएको मूल्यमा १० प्रतिशत घटाएर यसरी वैदेशिक रोजगारीमा रहेकाको लागि सेयर जारी गरिएको हो।
केही समयपछि सर्वसाधारणका लागि जारी गरिने सेयरको मूल्य समेत प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसा हुनेछ।
योग्य संस्थागत लगानीकर्ताले बुक बिल्डिङको क्रममा पेस गरेको मूल्यको आधारमा धेरै मूल्य तोक्नेलाई सेयर बाड्दै जाँदा जुन मूल्यमा आइपुग्दा निष्कासन गरिएको सेयर सकिन्छ, त्यो कट अफ प्राइसको रूपमा रहन्छ।
यस्तो कट अफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर जारी गरिन्छ। यही अनुसार मूल्य कायम भएको हो।
मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेकाहरूको लागि खुलेको सेयर निष्कासनमा मागिएकोभन्दा धेरै आवेदन परिसकेको छ। तर, यो मूल्यमा सेयर किनिरहेकाहरूले नेप्सेमा हुने पहिलो कारोबारमा कति मूल्यमा सेयर बिक्री गर्न पाउँलान् त?
अहिले कम्पनीले बिक्री गरिरहेको मूल्यभन्दा कम मूल्यबाट कारोबार सुरू हुने सम्भावना बढ्न थालेको छ।
नेप्सेले २०८१ असारताका नै यो प्रक्रियाबाट मूल्य निर्धारण भइसकेपछि सूचीकरणको समयमा यस्ता कम्पनीको मूल्य फेरि तोक्न आवश्यक नभएको भन्दै आन्तरिक तयारी गरेको थियो।
तर, सञ्चालक समितिको बैठकमा यस्तो प्रस्ताव पुगे पनि यसमा अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन। त्यसो हुँदा नेप्सले यसअघि झैं हरेक आइपिओलाई दिने मूल्य रेञ्ज नै रिलायन्सलाई पनि दिने सम्भावना छ।
‘बुक विल्डिङबाट मूल्य निर्धारण भइसकेपछि पुनः मूल्य निर्धारण गरिरहनु नपर्ने भन्ने अवधारण हो, तर अहिलेसम्म यसमा कुनै नियम बनेको छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने।
अहिले कम्पनीहरू सूचीकरण हुन आउँदा त्यस्ता कम्पनीको पछिल्लो अडिट भएको (परिस्कृत) वित्तीय विवरणमा उल्लेख प्रतिसेयर नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। त्यसपछि भने मूल्य बजारले नै निर्धारण गर्दै जान्छ।
अन्य मुलुकहरूमा भने फरक अभ्यास छ।
भारतकै उदाहरण हेर्ने हो भने त्यहाँ बिहान १० बज्नुभन्दा एक घण्टा अगाडि नै पहिलो कारोबारको लागि मूल्य निर्धारण प्रक्रिया सुरू हुन्छ।
१० बजे सेयर बजारमा नियमित कारोबार सुरू हुने भएकोले नौ बजेर ५५ मिनेटसम्ममा हुने कारोबारमा मूल्य निर्धारण गरिन्छ। यो मूल्य निर्धारण प्रक्रियामा योग्य संस्थागत लगानीकर्तादेखि अन्य लगानीकर्ताहरू समेतले सहभागी हुन पाउँछन्।
यसरी सुरूमा बिडिङ प्रक्रियाबाट मूल्य निर्धारण गरेर सेयर जारी गरेपछि पनि पुनः मूल्य निर्धारण गरिने अभ्यास भारतमा रहेको देखिन्छ।
नेपालमा भने नेटवर्थकै आधारमा मूल्य तोकिने अभ्यास रहेकोले अहिले महँगो मूल्यमा सेयर किनेर बजारमा सस्तोमा सेयर बेच्नुपर्ने अवस्था हुनसक्ने देखिन्छ।
नेपालमा आइपिओ जारी गर्दा सामान्यतया अहिलेसम्म तीन तरिकाबाट गरिँदै आएको छ। अंकित मूल्य एक सय रूपैयाँ हुने गरेर, अंकित मूल्यमा केही रकम प्रिमियम मूल्य थपेर र बुक बिल्डिङ प्रक्रियाबाट मूल्य तोकिने गरिएको छ।
प्रिमियम मूल्य तोक्दा प्रतिसेयर नेटवर्थको दुई गुणाभन्दा बढी मूल्य हुन नपाइने व्यवस्था छ। त्यसैले अंकित मूल्य वा प्रिमियम मूल्यमा सेयर किनेर बजारमा बिक्री गर्दा लगानीकर्ताले धेरैजसो अवस्थामा कहिल्यै नोक्सानी व्यहोर्न परिरहेको थिएन।
बुक बिल्डिङ प्रक्रियाबाट आएको आइपिओमा सेयर किन्दा नोक्सान नै हुने सक्ने संभावना पनि देखिएको छ।
कतिमा हुनसक्ला त कारोबार?
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा दुई तरिकाले नेटवर्थ निकालिएको छ।
एउटा तरिकाले निकालिएको नेटवर्थमा सम्पत्तिको पुनर्मूल्यांकनबाट हिसाबमा निस्कने रकम जोडिएको छैन। यस अनुसार प्रतिसेयर नेटवर्थ दुई सय ५४ रूपैयाँ ८३ पैसा छ।
त्यस्तै, कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौताको रूपमा समेत ७५ करोड ३६ लाख रूपैयाँ छ।
व्यवसायी र प्राधिकरणबीच यो शुल्कमा अहिले पनि विवाद छ। भोलिका दिनमा यो शुल्क तिर्नुपर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ पनि क्षय हुनेछ। यसै अवस्थालाई आधार मानेर प्रतिसेयर नेटवर्थ दुई सय १० रूपैयाँ ६९ पैसा हुने कम्पनीले अनुमान गरेको छ।
नेप्सेले यी दुईमध्ये अब कुन प्रतिसेयर नेटवर्थ लिन्छ भन्ने यकिन हुन सकेको छैन।
‘यसअघिसम्म हामीले उपलब्ध पछिल्लो परिस्कृत वित्तीय विवरणको नेटवर्थ लिने गरेका थियौं,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘यसमा पनि सम्पत्तिको पुनर्मूल्यांकनपछिकै नेटवर्थ लिने गरिएको थियो।’
तर, जुन नेटवर्थ लिँदा पनि केही दिन भने लगानीकर्ताले नोक्सानमै सेयर बिक्री गर्नुपर्ने हुनसक्छ।