हजुरआमाबाट आमा हुँदै घरका महिलाहरूले हस्तान्तरण गरेको पुस्तैनी सीपको प्रयोग गरेर व्यवसाय सुरू गर्ने योजना साट्दा उनका परिवारका सदस्य खुसी थिएनन्।
सरकारी जागिरलाई प्राथमिकता दिने परिवारले विज्ञानतर्फ रसायनशास्त्र विषय लिएर पढिरहेकी छोरीले पनि जागिरै खाओस् भन्ने चाहना राखेको थियो।
सुजना कुलुङलाई भने हजुरआमा र आमाले उनीहरूभन्दा अघिका पुस्तासँग अल्लो प्रयोग गरेर बनाउने लुगाकपडा लगायत सीप निखारेर त्यसमा केही नवीन प्रयोग गर्ने हुटहुटी सानैदेखि थियो।
अन्ततः आमाको समर्थनमा उनले आफूले रोजेको व्यवसाय १९ वर्षको उमेरमा सुरू गरिन्।
सुजनाको गाउँ संखुवासभाको उत्तर–पश्चिम भागमा पर्छ, जहाँ अल्लो प्रशस्त पाइन्छ। त्यही अल्लोलाई रैथाने तरिकाले प्रशोधन गरेर त्यसको कच्चा पदार्थ तयार गर्दै त्यसबाट विभिन्न सामग्री बनाउने योजना अनुरूप उनले एसपिएस अल्लो तथा सुती कपडा उद्योग नामको व्यवसाय सुरू गरिन्।
यसका लागि उनले गाउँका महिलाहरूसँग सहकार्य गरिन् र रैथाने सीप र सामग्री प्रयोग गरेर महिलाहरू मात्र संलग्न भएको व्यवसाय सुरू भयो।
कुनै पनि मेसिन प्रयोग नगरी हातकै कामले सामग्री बनाउँछ उनको घरेलु उद्योगले। व्यवसाय सुरू गरेपछि भने सुजनाले योजना कागजमा उत्तम देखिए पनि त्यसलाई व्यवहारमा उतार्न र व्यापार व्यवसायबारे अझ धेरै कुरा जान्न बाँकी नै रहेछ भन्ने महसुस गरिन्।

आफ्नो सामानको बजारीकरण, सामानको गुणस्तर वृद्धि, खाता पाता राख्ने, सरकारका नियम पालना गर्ने, 'बिजनेस डिल' गर्ने तथा एक पटक आएको ग्राहकलाई फेरि फेरि आउने कसरी बनाउने जस्ता विषय उनका सामु चुनौती बन्दै गए र उनले यस्ता विषयमा आफ्नो ज्ञान बढाउने कोसिस गरिन्।
यही क्रममा उनी नबिल बैंकद्वारा उनीजस्तै युवा उद्यमीहरूलाई सफल व्यवसायीमा परिणत गर्ने उद्देश्यले सञ्चालन गरिएको नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप (नबिल एसइई) को प्रशिक्षण कार्यक्रममा जोडिइन्।
यहाँ उनले चाहेका विषयमा ज्ञान लिन पाइन्।
'मैले जान्न खोजेको व्यवसाय गर्दा चाहिने व्यावहारिक ज्ञान थियो, यहाँ मैले त्यही पाएँ,' सुजना भन्छिन्, 'प्रशिक्षणले मेरो सोच पूरै बदलिदियो। मेरो व्यावसायिक मोडल सामुदायिक पसलजस्तो थियो। नबिल एसइईमा गएपछि थाहा पाएँ, बिटुबी अर्थात् व्यवसायदेखि व्यवसाय मोडल बनाउनु उत्तम हुन्छ भनेर। अनि मैले मेरो व्यापारको ढाँचा नै त्यता मोडेँ।'
सन् २०२१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले सुरू गरेको यस प्रशिक्षण कार्यक्रममा खाद्य तथा कृषि, प्रविधि तथा डिजिटल नवप्रवर्तन, दिगो वातावरण, महिला उद्यमी, शिक्षा लगायत क्षेत्रहरूमा संलग्न उद्यमीहरूलाई सहभागी गराइन्छ। जसअन्तर्गत सुरूको ६ महिना गहन प्रशिक्षण दिइन्छ भने अर्को एक वर्ष उनीहरूलाई मेन्टरिङ प्रदान गरिन्छ।
व्यवसायलाई विस्तार गर्ने क्रममा सुजनाको उद्योगले महिलाका पहिरन बनाउन थालेको छ। धागो प्रयोग गरेर महिलाहरूका लागि बुनेका लुगाको उत्पादन गर्दैछ।
उनका उत्पादन चीन र अस्ट्रेलियामा निर्यात हुने गरेका छन्। अहिले उनको व्यवसायले वार्षिक करिब ५० लाख रूपैयाँको कारोबार गर्छ।
त्यस्तै तनहुँका सन्देश गैरेले पनि नबिल एसइईमा जोडिएर आफ्नो व्यवसायको ढाँचा नै परिवर्तन गरेका छन्। इकोन्दुक नाम गरेको उनको व्यवसायले केराको थाम, डाँठ, सिस्नो लगायतबाट वातावरणमैत्री सामग्री उत्पादन गरिरहेका छन्। उनले स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर विशेष गरी झोला, कार्पेट, जुत्ता, चप्पल आदि बनाउने गर्छन्।

उनका अनुसार उनको उद्योगले सुदूरपश्चिमका ग्रामीण भेगका किसानहरूसँग कच्चा पदार्थ खरिद गरेर स्थानीय किसानहरूलाई नै प्रशोधन विधिमा संलग्न गराएर कच्चा पदार्थ बनाउँछ। वातावरणमैत्री सामग्रीहरूले विदेशमा, त्यो पनि विशेष गरी युरोपमा, राम्रो बजार पाएको सन्देश बताउँछन्।
तर व्यवसायलाई यो अवस्थासम्म ल्याउने यात्रा सहज थिएन। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका सन्देशले कलेज पढ्दा सानो परियोजनाका रूपमा 'पकेट मनी' बाट यो व्यवसाय सुरू गरेका थिए।
केरा, अल्लो लगायतबाट चाहिने कच्चा पदार्थ बनाउन खोजेजस्तो मेसिन नै नपाएपछि इन्जिनियरिङका विद्यार्थी सन्देशले त्यो आफै बनाए।
उनलाई पनि सुजनाकै जस्तो आवश्यकता खड्कियो। उनका साथीभाइले त्यसका लागि नबिल एसइई जाने सल्लाह दिए।
'बिजनेस मोडलको बारेमा मात्र होइन, पिच गर्ने, नेटवर्क विस्तार गर्ने र व्यापारका लागि पुँजी खोज्नसम्मको मद्दत र ज्ञान दुवै मैले पाएँ,' सन्देश बताउँछन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले नबिल एसइई युवा व्यवसायीहरूका विभिन्न आवश्यकतालाई मध्यनजर गर्दै बनाइएको कार्यक्रम भएको बताए।

'युवाहरूसँग नवीन विचार हुन्छ, त्यही अनुरूपको ऊर्जा हुन्छ। त्यो विचार र ऊर्जालाई सही मार्गदर्शन दिन सके उनीहरू केही गर्न सक्छन् भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं,' सिइओ ज्ञवालीले भने, 'हामीसँग जोडिनुभएका युवाहरूले फरक फरक किसिमका व्यवसाय एकदम राम्रोसँग गरिरहनुभएको छ। युवाहरूले पाएको यो सफलता नै हाम्रो सन्तुष्टि हो।'
सन् २०२१ को नोभेम्बरमा सुरू भएको नबिल एसएसई फेलोसिप कार्यक्रम अन्तर्गत हालसम्म सामाजिक प्रभाव सिर्जना गरने लक्ष्यसहित उद्यम सञ्चालन गरिरहेका वा उद्यम सुरू गर्ने तयारीमा रहेका विविध शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिका ११५ जना सहभागीलाई तालिमका साथै मेन्टरिङ प्रदान गरिसकेको छ।