कुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि बजार मूल्य मात्रै हेरेर निर्णय गर्नु हुँदैन।
कम्पनीले कति कमाइरहेको छ, कमाएको नाफाबाट सेयरधनीलाई कति बाँड्न सक्छ, नाफाबाट कति रकम कम्पनीमै राखेर व्यवसाय विस्तार गरिरहेको छ र सेयरधनीले लगानी गरेको पुँजीमा कम्पनीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने बुझ्न वित्तीय विवरणका केही आधारभूत सूचक उपयोगी हुन्छन्।
प्रतिसेयर आम्दानी (इपिएस) ले कम्पनीले एउटा सेयर बराबर कति नाफा कमाएको छ भन्ने देखाउँछ।
कम्पनीको खुद नाफालाई सम्बन्धित अवधिको सेयर संख्याले भाग गरेर इपिएस निकालिन्छ। इपिएस बढ्दै जानुले कम्पनीको प्रत्यक्ष कमाइ क्षमता सुधार भएको संकेत गर्न सक्छ।
तर कुनै एक वर्षको इपिएसभन्दा यसको वृद्धि निरन्तर छ किन छैन भनेर हेर्नुपर्छ।
वितरणयोग्य नाफा नियामकीय व्यवस्था, विभिन्न समायोजन तथा आवश्यक प्रावधानपछि लाभांशका रूपमा वितरण गर्न मिल्ने नाफा हो।
कम्पनीले कमाएको सबै खुद नाफा नै तत्काल सेयरधनीलाई बाँड्न सकिने रकम हुँदैन। अहिले यस्तो वितरणयोग्य नाफा नै सञ्चित आम्दानी (रिटेन्ड अर्निङ) मा समेत देखाइन्छ।
कम्पनीले नाफा कमाएपछि सबै रकम लाभांशका रूपमा वितरण नगरी व्यवसायमै राख्न सक्छ। यसरी वितरण नगरी कम्पनीमा राख्दै जाँदा रिटेन्ड अर्निङ पनि बढ्दै गएको हुन्छ।
यस्तो रकम नयाँ आयोजना, व्यवसाय विस्तार, ऋण घटाउन वा भविष्यको लगानीका लागि प्रयोग हुन सक्छ। त्यसैले रिटेन्ड अर्निङ बढ्दै जानु आफैमा सकारात्मक वा नकारात्मक होइन।
यही कुरा बुझ्न रिटर्न अन इक्विटी (आरओई) उपयोगी हुन्छ। कम्पनीको सेयरधनीको स्वामित्वमा रहेको पुँजी अर्थात् इक्विटीको तुलनामा कम्पनीले कति नाफा कमायो भन्ने आरओईले देखाउँछ।
सेयरधनीले कम्पनीमा लगानी गरेको आफ्नै पुँजीलाई कम्पनीले कति प्रभावकारी रूपमा नाफा कमाउन प्रयोग गरिरहेको छ भन्ने मापन हो।
अर्को महत्वपूर्ण सूचक मूल्य–आम्दानी अनुपात (पिई रेसियो) हो।
कम्पनीले गरेको एक रूपैयाँ आम्दानीलाई लगानीकर्ताले कति तिरिरहेको छ भन्ने पिईले देखाउँछ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर यो अनुपात निकालिन्छ।
पिई कम हुनु मात्र सेयर सस्तो र धेरै हुनु मात्र महँगो भन्ने हुँदैन।
कम्पनीको भविष्यको वृद्धि, व्यवसायको जोखिम र कसरी नाफा कमाइरहेको छ जस्ता कुरा याद गर्नुपर्छ।
त्यस्तै प्रतिसेयर नेटवर्थले कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएपछि बाँकी रहने खुद सम्पत्तिमा एउटा सेयरको हिस्सा कति छ भन्ने देखाउँछ।
अहिलेको अवस्थामा एउटा कम्पनी खारेज भएमा एक सेयरको भागमा कति रकम आउन सक्छ भनेर यसले देखाउँछ।
कम्पनीको भविष्यको आम्दानी क्षमता, व्यवसायको सम्भावना र अन्य अमूर्त मूल्यका कारण बजार मूल्य नेटवर्थभन्दा धेरै माथि वा तल हुन सक्छ।
तर, यीमध्ये कुनै एउटै सूचकले सेयर राम्रो वा नराम्रो भन्ने देखाउँदैन। एउटा क्षेत्रका कम्पनीहरूको यी अनुपातहरू दाँजेर लगानीकर्ताले लगानी रणनीति भने बनाउन सक्छ।
लगानीकर्ताले कम्पनीको नाफा कसरी भइरहेको छ, विगतमा वित्तीय अवस्था के थियो, अहिले कति ऋण छ, व्यवसायको सम्भावना, व्यवस्थापन र भविष्यमा कत्तिको नाफा गर्ने क्षमता छ लगायतका समग्र वित्तीय अवस्था हेरेर मात्र लगानी निर्णय गर्नुपर्छ।