अचेल सरकारी वेबसाइटहरू खोल्दा माथिल्लो वा मध्य भागमा हात फैलाएको मान्छेको एउटा सानो नीलो आकृति देखिन्छ।
बाहिरबाट हेर्दा साधारण चिह्न जस्तो देखिए पनि यो केवल डिजाइन वा लोगो मात्र होइन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र विभिन्न मन्त्रालयसहित ७ सयभन्दा बढी सरकारी निकायका वेबसाइटमा देखिने यो आकृतिले 'अपांगतामैत्री' सुविधालाई संकेत गर्छ। अर्थात्, यस्तो आकृति भएको वेबसाइटमा दृष्टिविहीन, कम दृष्टि भएका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई सरकारी सूचनामा सहज पहुँच दिलाउने 'एक्सेसिबिलिटी' सुविधा छ भन्ने बुझिन्छ।
प्रधानमन्त्री बालेन शाहको सरकारले चैत १३ गते पहिलो मन्त्रिपरिषद बैठकबाट पारित शासकीय सुधारका १०० कार्यसूची अनुसार सरकारी वेबसाइटहरूमा यो सुविधा थपिएको हो।
एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा आबद्ध सरकारी पोर्टलहरूलाई शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउन यो सुविधा थपिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले जानकारी दिए। गत वैशाख ३ देखि यो सुविधा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।
विभागले विकास गरेको 'एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली' मा करिब १४ सय डोमेन लगइन भएका छन्। तीमध्ये हाल डिजाइन पूरा भई सञ्चालनमा रहेका ७ सयभन्दा बढी वेबसाइटमा एक्सेसिबिलिटी सुविधा कार्यान्वयन भइसकेको छ।
'सरकारी वेबसाइट खोल्दा माथिल्लो वा मध्य भागमा हात फैलाएको नीलो मानव आकृति देखिन्छ,' सूचना अधिकारी दवाडीले भने, 'त्यहाँ क्लिक गर्दा सर्वसाधारण तथा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहज बनाउने १२ वटा विशेष फिचर खुल्छन्।'
सरकारले २०८२ चैत १३ गतेको मन्त्रिपरिषद बैठकबाट पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ३० मा 'सरकारी एप वा पोर्टलहरू शारीरिक रूपमा अपांगता भएका तथा कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सबल बनाउने' उल्लेख छ।
यसै अनुसार सरकारी वेबसाइटहरूमा थपिएका ती १२ वटा फिचर र तिनका उपयोगिता यस प्रकार छन् —
१. Text Size (अक्षरको आकार): यसले स्क्रिनमा देखिने फन्टलाई सानो वा ठूलो बनाउन मद्दत गर्छ, जसले आँखा कमजोर भएका वा साना अक्षर पढ्न गाह्रो हुने ज्येष्ठ नागरिकले सजिलै सामग्री पढ्न सक्छन्।
२. High Contrast (उच्च कन्ट्रास्ट): यसले पृष्ठभूमि र अक्षरको रङबीचको फरकलाई प्रस्ट बनाउँछ। दृष्टि कमजोर भएका वा तीव्र उज्यालोमा अक्षर स्पष्ट नदेख्ने प्रयोगकर्तालाई सहज हुन्छ।
३. Text Align (अक्षरको मिलान): यसले वाक्यहरूलाई बायाँ, दायाँ वा बीचमा मिलाउने सुविधा दिन्छ।
४. Color Filter (रङ फिल्टर): यसले स्क्रिनका रङहरूलाई 'कलर ब्लाइन्डनेस' भएका मानिसहरूका लागि अनुकूल हुने गरी बदलिदिन्छ।
५. Text Spacing (अक्षरबीचको दूरी): दुई अक्षर वा शब्दबीचको खाली ठाउँ बढाउन वा घटाउन यो फिचर प्रयोग हुन्छ। अक्षरहरू खप्टिए जस्तो लाग्ने प्रयोगकर्तालाई यसले पढ्न सजिलो बनाउँछ।
६. Line Height (लाइनको दूरी): यसले दुई हरफ वा लाइनहरूबीचको दूरी बढाउँछ। लामा अनुच्छेद पढ्दा कुन लाइन पढिरहेको छु भनी हुने अलमल यसले हटाउँछ।
७. Font Selection (फन्ट छनोट): यसले वेबसाइटको जटिल फन्टलाई बदलेर एकदमै साधारण र सजिलै चिनिने फन्टमा रूपान्तरण गरिदिन्छ।
८. Saturation (रङको गाढापन): यसले स्क्रिनका रङहरूलाई बढी गाढा वा फुस्रो बनाउँछ। टल्किने रङले आँखा दुख्ने मानिसहरूका लागि यो उपयोगी छ।
९. Dyslexia Friendly (डिस्लेक्सिया-मैत्री फन्ट): अक्षरहरू उल्टो देखिने वा पढ्न गाह्रो हुने 'डिस्लेक्सिया' भएका व्यक्तिहरूका लागि डिजाइन गरिएको विशेष स्थिर फन्ट यसले लागू गर्छ।
१०. Bigger Cursor (ठूलो माउस कर्सर): यसले माउसको कर्सरको आकार ठूलो र कालो बनाइदिन्छ, जसले स्क्रिनमा कर्सर सजिलै भेट्टाउन र क्लिक गर्न सकिन्छ।
११. Hide Images (तस्बिरहरू लुकाउने): यसले वेबसाइटका फोटो र ग्राफिक्स लुकाएर अक्षर मात्र देखाउँछ। यसले कमजोर इन्टरनेटमा पनि वेबसाइट छिटो खोल्न र दृष्टिविहीनहरूलाई 'स्क्रिन-रिडर' प्रयोग गर्दा ध्यान भंग नहुन मद्दत गर्छ।
१२. Pause Animations (एनिमेसन रोक्ने): स्क्रिनमा हलचल भइरहने वा झिलमिल गर्ने भिडियो र जिआइएफहरूलाई यसले एकै ठाउँमा रोकिदिन्छ। यसले चक्कर लाग्ने वा ध्यान केन्द्रित गर्न नसक्ने प्रयोगकर्तालाई सहज बनाउँछ।
यी फिचरले शारीरिक अपांगता भएका व्यक्तिहरूलाई सरकारी सूचनामा पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने विभागको अपेक्षा छ।
'सर्वसाधारण, ज्येष्ठ नागरिक वा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूले अरूको सहयोगबिना आफ्नै तरिकाले सरकारी वेबसाइट प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको हो,' दवाडीले भने, 'सुरूआती चरणमा सीमित फिचर थिए, बिस्तारै थप्दै लगियो। अहिलेसम्म सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। आगामी दिनमा प्राप्त हुने सुझावका आधारमा थप सुधार गर्दै जानेछौं।'
यसअघि सरकारी पोर्टलहरू सर्वसाधारणका लागि मात्र अनुकूल हुने गरी बनाइँदा अपांगता भएका व्यक्तिहरू सूचनाबाट वञ्चित हुने गरेका थिए। नयाँ सुविधामार्फत दृष्टिविहीन वा कम दृष्टि भएका व्यक्तिहरूले पनि 'स्क्रिन रिडर' र अनुकूल सेटिङमार्फत सरकारी निर्णय, सूचना र सेवाबारे जानकारी लिन सक्नेछन्।
सबै नागरिकलाई सूचनाको समान हक दिलाउन र 'डिजिटल नेपाल' को अवधारणालाई समावेशी रूपमा अघि बढाउन सरकारी वेबसाइटहरूमा गरिएको यो परिवर्तनलाई प्रविधि र मानवअधिकारका क्षेत्रमा काम गर्नेहरूले उदाहरणीय कदमका रूपमा लिएका छन्।