बन्दाबन्दीका कारण घटेको मुलुकको ब्यापार घाटा दरमा कमी आउँदै गएको छ।
यस आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको ब्यापार घाटा ४ खर्ब ७५ अर्ब रहेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले कमी हो।
यद्यपि पछिल्ला महिना व्यापार घाटाको गिरावट दरमा कमी आएको छ। यस आर्थिक वर्षको पहिलो चार महिनामा ब्यापार घाटा १२.५ प्रतिशतले घटेको थियो।
क्रमिक रुपमा ब्यापार घाटाको दरमा कमी आउनु भनेको ब्यापार घाटा रकम उकालो लाग्दै जानु हो।
उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालन हुँदै गर्दा तिनका लागि चाहिने कच्चा पदार्थको आयात बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ। बन्दाबन्दीका बेला ती सामानको आयात ठप्प प्रायः थियो।
पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात गत वर्षको सोही अवधिको तुलनामा घटेको छ।
क्रमिक रुपमा यी सामानको आयात समेत बढ्दै गएको छ।
आयात उकालो लाग्दै गर्दा निर्यातको अन्तर दर भने घट्दै गएको छ।
पाँच महिनामा कुल वस्तु निर्यात जम्मा ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ। जवकि अघिल्लो महिनासम्मको समीक्षा अवधिमा निर्यात १०. ८ प्रतिशतले बढेको थियो।
अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ।
झण्डै ११ प्रतिशतले बढ्यो रेमिट्यान्स
मुलुकमा भित्रिने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार पाँच महिनामा ४१६ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो।
भुक्तानी सन्तुलन १ खर्ब बचतमा
समीक्षा अवधिमा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ। यसको अर्थ मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा २३ अर्ब ३० करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा छ।
समीक्षा अवधिमा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको थियो।