दाङका अरूण योगीलाई तेह्र वर्षको उमेरमा टन्सिलको समस्या देखियो। उनलाई दाजु अनिलले उपचारका लागि भारतको दिल्ली पुर्याए। दिल्लीमा लामै समय बस्नुपर्ने भयो।
डाक्टरले दुई वर्षसम्म नियमित उपचार गर्नुपर्छ भने।
अरूण आफ्नो गाउँको अमर माध्यमिक विद्यालयमा सात कक्षाका विद्यार्थी थिए। उनको पुर्ख्यौली घर साविक उरहरी गाविसको कचिला भन्ने ठाउँमा छ, हाल तुलसीपुर उपमहानगरपालिका–१२ मा पर्छ।
घरको आर्थिक अवस्था कमजोर थियो। भाइलाई चिनजानका व्यक्तिका साथमा छाडेर अनिल घर फर्के।
कलिलो उमेर भए पनि अरूणले सानोतिनो काम गर्ने विचार गरे। आफ्ना स्थानीय अभिभावकसँग कामको कुरा गरे। एक जनाले तिमी सानै छौ, श्रमको काम गर्न सक्दैनौ, कोठीको काम गर्छौ भने खोजिदिन्छु भने।
'घरेलु कामदारका रूपमा भातभन्साको काम गर्नुलाई कोठीको काम भन्दा रहेछन्,' अरूणले भने।
अरूणले भातभान्साको भन्दा बरू भविष्यमा पनि काम लाग्ने कुनै सीप सिक्ने विचार गरे। यस्तै कामको खोजीमा उनी आफू बस्ने ठाउँ नजिकैको 'विनोद मोटरसाइकल वर्कसप' पुगे। उनले मोटरसाइकल बनाउने काम सिक्ने विचार गरे। त्यसै अनुसार चिनजानका एक नेपालीलाई भने।
ती नेपालीले वर्कसपमा कुरा गरिदिए। अरूणले कामको मौका पाए तर खाना र खाजा मात्र पाउने, तलब नपाउने गरी।
'तलब नपाए पनि खान पाउने भएपछि काम सुरू गरेँ। दुई वर्ष पैसा नलिई नै काम गरेँ। त्यतिन्जेलमा मोटरसाइकल मर्मत गर्न सक्ने मिस्त्री भएँ,' उनले भने।
मोटरसाइकल मर्मतको काम जाने, घाँटीको उपचार पनि सकियो। उनी घर फर्के।
अरूणको पढाइ छुटे पनि हातमा सीप थियो। उनले काम गर्ने विचार गरे।
तर कहाँ गर्ने? त्यो बेला अहिले जस्तो धेरै मोटरसाइकल थिएनन्। तुलसीपुरमा गतिलो वर्कसप पनि थिएन।

अरूणका फुपूका छोरा घोराहीमा 'राप्ती अटो इन्जिनियरिङ' चलाउँथे। अरूणले त्यहीँ काम थाले। त्यहाँ खानबस्न पाए पनि तलब कहिल्यै तोकिएन। वर्कसपका साहुदाइले कहिलेकाहीँ आफ्नो तजबिजले पैसा दिन्थे। त्यसले गोजीखर्च चल्थ्यो।
यसरी काम थालेको आठ वर्षपछि अरूण काठेकोहलमा कोठा भाडामा लिएर बस्न थाले। त्यही समय लमहीकी जुनुमाया थापा उनी बसेकै घरमा डेरा बस्न आइन्। उनी महेन्द्र बहुमुखी क्याम्पसमा आइए (प्लस-टूसरह) पढ्न भर्ना भएकी थिइन्। उनीहरूबीच प्रेम बस्यो र २०६१ सालमा आफूखुसी बिहे गरे।
दस वर्ष दाइको वर्कसपमा काम गरिसकेपछि २०६२ सालमा अरूण र जुनु तुलसीपुर फर्के।
जुनुले पनि आइए पास गरिन्। उनको विचार अब आफ्नै ठाउँमा आफ्नै काम गर्नुपर्छ भन्ने थियो। अरूण सहमत थिए। तर तत्कालै आफ्नो काम थाल्न अनुकूल भइसकेको थिएन। त्यसैले करिब ६ महिना अर्कैको वर्कसपमा काम गरे।
अब आफै चलाउन सक्छु भन्ने भएपछि उनले ४० हजार रूपैयाँ लगानीमा २०६३ सालमा 'योगी मोटरसाइकल वर्कसप' खोले।
'त्यसयता पछाडि फर्किनु परेको छैन। लगातार यही काममा छु,' उनले भने।
यसबीच उनले तीन पटक वर्कसपको ठाउँ भने सार्नुपर्यो। हाल राप्ती राजमार्ग किनारमा मदन–आश्रित चोकनजिक केही दक्षिणतर्फ चलाएका छन्।
'घरधनीले घर कालो भयो भनेर किचकिच गरिरहन्छन्। त्यसैको बहानामा ६–६ महिनामा भाडा बढाउन खोज्छन्,' अरूणले भने, 'कतै ठाउँ साँघुरो हुन्छ, कतै के मिल्दैन, कतै के।'
अहिले वर्कसपमा ठाउँ पर्याप्त छ। मोटरसाइकलका पाटपुर्जाको पसल पनि राखेका छन्। पसल जुनुको जिम्मामा छ।
अरूणका अनुसार पाटपुर्जाको पसलमा हाल ५० लाख रूपैयाँ जतिको सामान छ। वर्कसपमा चार जना मिस्त्री छन्।
'मिस्त्रीको तलबमा मासिक ८० हजार रूपैयाँ खर्च हुन्छ,' अरूणले भने।
सबैभन्दा लामो समय काम गर्ने मिस्त्री हुन् तुलसीपुरको वनगाउँका २५ वर्षीय गणेश (छोटु) चौधरी। दस वर्षदेखि काम गरिरहेका उनी मासिक २५ हजार रूपैयाँ तलब पाउँछन्। अरूणको अनुपस्थितिमा वर्कसप छोटुकै जिम्मामा हुन्छ।

'मसँग काम गरेका १० जनाले आ–आफ्नै वर्कसप चलाएका छन्,' अरूणले भने।
अरूण र जुनुका दुई छोरी छन्।
अरूणको गाउँ कचिलामा दस कट्ठा पुर्ख्यौली जमिन छ। त्यहाँ विभिन्न प्रजातिका बिरूवाको बगैंचा बनाउँदै छन्।
करिब ११ वर्षअघि तुलसीपुरको रजौरामा एक कट्ठा घडेरी किनेका थिए। अर्को साल त्यहीँ नजिकै पाँच धुर किने। पाँच वर्षअघि रजौरामै एक तले घर किने। मर्मत गरेर तला थपे। उनीहरू त्यसमै बस्छन्। आफ्ना लागि एउटा गाडी किनेका छन्।
उनी भविष्यमा आफ्नो पुर्ख्यौली गाउँमै बस्ने विचारमा छन्।
'गाउँको पुर्ख्यौली जमिनमा बगैंचा बनाउँदैछु। सकुन्जेल वर्कसप चलाउँछु, बुढेसकालमा गाउँ फर्केर शान्तिपूर्वक बस्छु,' अरूणले भने, 'मान्छे राखेर भए पनि पसल चलाउँछु। आउजाउ गर्ने गाडी छँदैछ।'
उनले गाउँमा बस्ने आमाबुबाको सुविधाका लागि गाडी किनेका थिए। आमा रोगी थिइन्, बुबा पनि बिरामी भइरहन्थे। पछिल्लो दुई वर्षभित्रमा आमाबुबा दुवैको मृत्यु भयो।
उनलाई उपचारका लागि दिल्ली पुर्याउने दाइ अनिल पनि कोरोना संक्रमणको समयमा बितिसके।
अरूण–जुनु दम्पतीकी जेठी छोरी आरजु एमबिबिएस (मेडिकल शिक्षामा स्नातक) पढ्ने उद्देश्यले काठमाडौंमा बसेर तयारी गर्दै छिन्। कान्छी छोरी तुलसीपुरकै एउटा निजी विद्यालयमा कक्षा ९ मा पढ्दै छिन्।
'डाक्टरी पढ्न सरकारी कोटामा नाम निस्केन भने पनि पढाउने पैसा जम्मा गरेको छु,' अरूणले भने।
उनले दुई छोरीलाई उनीहरूको इच्छा अनुसार पढाउने र हातगोडा चलुन्जेल मोटरसाइकल वर्कसप चलाउनेबाहेक अर्को केही पनि सोचेका छैनन्।
अरूण मोटरसाइकल मर्मत गर्ने कुशल मिस्त्री त हुन् नै, कुशल चालक पनि हुन्। जिल्लामा जेसिज लगायत संघसंस्थाले आयोजना गरेका 'स्लो बाइक रेस प्रतियोगिता' मा लगातार १० पटक उनलै जित हासिल गरेका थिए। त्यसपछि भने उनी प्रतियोगितामा सहभागी हुन छाडे।
३१ वर्षको काम–अनुभव भएका अरूणलाई सेवाग्राहीहरू कुशल 'मेकानिकल इन्जिनियर' झैं मान्छन्।
तुलसीपुरका शिक्षक कोमल खड्काले भने, 'अरूणलाई मैले बाइक देखाएकै २५ वर्ष भयो। उहाँ त कुशल मेकानिकल इन्जिनियर जत्तिकै हुनुहुन्छ। त्यसैले उहाँको ख्याति पनि छ।'
शिक्षक कोमल खड्का
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिमाल बस्नेत पनि अरूणकै वर्कसपमा जान्छन्।
'जसको भरोसा हुन्छ उसलाई दिने त हो। अरूण कुशल मिस्त्री हुन्, आफै काम गर्छन्। कामदारलाई लगाउँदा पनि आफू निगरानी गर्छन्,' उनले भने।
दाङ मात्र होइन; सल्यान, रोल्पा, रूकुम, प्यूठान लगायत जिल्लाबाट पनि मोटरसाइकल/स्कुटर चालकहरू अरूणको वर्कसपमा आउँछन्।
कतिपय मानिस भने अरूणलाई मोटरसाइकल मर्मत गर्ने श्रमको काम अब नगर्न सल्लाह दिन्छन्। पर्याप्त कमाइहाल्यौ, अब किन हातगोडा काला पारिरहन्छौ भन्नेहरूको कमी छैन।
अरूण यस्तो सल्लाह सुन्दैनन्।
भन्छन्, 'म गरिबको छोरो, आफन्त र साथीहरूकै सदभावले थोरै प्रगति गरेको हुँ। मलाई त पैसाभन्दा पनि कर्म ठूलो हो जस्तो लाग्छ। म आफ्नो काममा खुसी छु। परिवार खुसी छ। अरू के चाहियो र!'
