निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले बन्द हडतालका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेका छन्।
प्रचण्ड-नेपाल समूहको नेकपाले बिहीबारका लागि देशव्यापी आम हड्तालको कार्यक्रम घोषणा गरेपछि उनीहरुले सयुक्त वक्तव्य निकाल्दै सो आग्रह गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सयक्त विज्ञप्ति निकाल्दै कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने चेतावनी दिएका छन्।
'विश्वव्यापी महाव्याधीले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिनेछ । यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ' सयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्ने उनीहरुले बताएका छन्।
विज्ञप्ति मार्फत् उनीहरुले नयाँ संविधान जारीपछि सबै राजनीतिक दलले बन्द हडताल नगर्ने भन्दै गरेको प्रतिबद्धततालाई पनि स्मरण गराएका छन्।