दाङ, तुलसीपुरको केन्द्र मानिने बिपी चोकबाट पश्चिमतर्फ तुलसीपुर बसपार्क जाने बाटोमा छ 'रोयल फुड किचेन एन्ड रेस्टुरन्ट'।
यो रेस्टुरेन्ट चलाउँछन् रामबहादुर–चेतना दम्पती र चेतनाका भाइ यज्ञबहादुर ओली।
शान्तिनगरमा हुर्केका रामबहादुर घर्ती र चेतना ओली स्कुल पढ्दैदेखिका साथी थिए। रामबहादुर १२ कक्षाको पढाइ पूरा गरेर कुक बन्न भारत गए। चेतना राप्ती बबई क्याम्पस भर्ना भइन्। चेतनाले स्नातक सकिन्, रामबहादुर सेफ भएर फर्के। गत असारमा उनीहरूको बिहे भयो।
बिहे भएलगत्तै उनीहरूले रेस्टुरेन्ट खोल्ने निधो गरे। बसपार्क जाने बाटोमा मासिक ४५ हजार रूपैयाँमा एउटा घरको फराकिलो एक तला भाडामा लिए। त्यहाँ पहिले पनि अरू कसैले रेस्टुरेन्ट चलाएका थिए। तर खाली भएको ठाउँ अव्यवस्थित थियो। निकै मर्मत गरेर संरचना बनाउनुपर्ने थियो।
'रेस्टुरेन्टका लागि उपयुक्त ठाउँ भएकाले मेहनत गर्दा सफल हुन सकिन्छ भन्ने विश्वास थियो,' रामबहादुरले भने।
भर्खरै बिहेमा पैसा खर्च भएकाले उनीहरूलाई लगानीको समस्या पर्यो। यही सिलसिलामा चेतनाका भाइ यज्ञबहादुरसँग कुरा भयो।
यज्ञ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै थिए। पढाइ सकेर अमेरिका जाने सोच थियो। दिदीभिनाजुले रेस्टुरेन्ट चलाउने भनेपछि घरसल्लाह भयो। अन्ततः यज्ञको पनि साझेदारीमा रेस्टुरेन्ट चलाउने पक्का भयो।


उनीहरूले आफूसँग भएको बाहेक अपुग रकम बैंक र आफन्तहरूबाट सापट लिए। यज्ञ काठमाडौंबाट दाङ फर्केपछि उनीहरूले महिना दिनसम्म मर्मत, साजसज्जाको काम गरे। करिब ४० लाख रूपैयाँ खर्च भयो।
अनि सुरू भयो रोयल फुड किचेन एन्ड रेस्टुरेन्ट।
'रेस्टुरेन्ट अपेक्षा अनुसार नै चलेको छ। सञ्चालनको नौ महिनामा कमाइबाटै १५ लाख रूपैयाँ ऋण तिर्यौं,' रामबहादुरले भने।
यहाँ अहिले उनीहरू तीन जना बाहेक चार जना कर्मचारी छन्। रामबहादुर किचनमा व्यस्त हुन्छन्, उनकी श्रीमती चेतना काउन्टरमा। यज्ञ टेबलमा परिकारहरू पुर्याउँछन्। किचनमा पनि सघाउँछन्।
२१ वर्षीय यज्ञको पनि बिहे भइसकेको छ। उनका छोरा ६ महिनाका छन्।
'बच्चा अलि ठूलो भएपछि मेरी श्रीमती विमलाको पनि यही रेस्टुरेन्टमा काम गर्ने सोच छ,' यज्ञले भने।
यसरी यो रेस्टुरेन्टमा दुई परिवार जोडिएको छ।
रामबहादुर र यज्ञ दुवै आफ्नो काममा सीपयुक्त भएकाले पनि सहज भएको छ। यज्ञले यही विषय पढे पनि रामबहादुरले काम गरेरै पाककला सिकेका हुन्।
सानैदेखि रामबहादुरको रूचि पाककलामा थियो। आठ वर्षअघि उनी कुक बन्ने सपना देखेरै भारतको गुहाहिटी गएका थिए। त्यहाँ एक जना आफन्तले होटलमा काम लगाइदिए। त्यो होटलमा उनले हेल्पर भएर दुई वर्ष काम गरे। त्यसपछि काम र पैसा दुवैमा केही बढोत्तरीका साथ अर्को होटलमा गए। बिस्तारै उनको तह बढ्दै र होटल पनि फेरिँदै गयो। उनी असिस्टेन्ट कुक हुँदै कुक भए।


'लामो समय एउटै होटलमा काम गर्दा नयाँ अनुभव लिन पाइन्थेन। तलब पनि बढ्ने थिएन,' रामबहादुरले भने, 'काम जानेपछि अर्को होटलमा जाँदा नयाँ कामको अनुभव हुन्थ्यो। थोरै भए पनि तलब बढ्थ्यो।'
त्यतिन्जेलमा उनी इन्डियन, चाइनिज, कन्टिनेन्टल, इटालियन लगायत परिकार बनाउन सिपालु भइसकेका थिए। अन्तिममा उनी फेरि पहिले काम गरेको होटलमै सेफ भएर गए। मासिक भारू ३५ हजार तलबसहित अन्य सुविधा थियो।
भारतमा ८ वर्ष बिताइसेकपछि भने उनलाई सधैं अर्काको काम गरेर हुँदैन भन्ने लाग्यो। उनी आफूले सिकेको सीपबाट आफ्नै ठाउँमा आफ्नै व्यवसाय चलाउन चाहन्थे।
'केही साथीले त्यहीँ एउटा होटल किनेर चलाऊ भनेका थिए। दाङमा चल्दैन, पछुतो होला भनेका थिए,' रामबहादुरले भने, 'तर म पछि हटिनँ।'
यसरी अठोटले सुरू रोयल फुड किचेन एन्ड रेस्टुरेन्टमा अहिले दैनिक ५० हजार रूपैयाँसम्मको व्यापार हुन्छ। थोरै हुँदा पनि ३० हजार रूपैयाँभन्दा नघट्ने उनले बताए।
'सबै खर्च कटाएर मासिक दुई लाख रूपैयाँसम्म आम्दानी हुन्छ,' उनले भने।
यो रेस्टुरेन्टको खासगरी माछाको परिकार र खसीको कबाब ग्राहकले रूचाएका छन्। सुसी, तन्दुरी फिस यहाँको विशेष परिकार हो। रामबहादुर माछाका विभिन्न १२ परिकार बनाउँछन्।
सबभन्दा बढी चल्ने चाहिँ बिरयानी हो। बाँसको ठेउलामा राखेर पकाइने बेम्बो बिरयानी र भट्टीमा पकाइने स्पेसल बिरयानी बढी चल्तीमा छ। यसबाहेक चिकेन टक्का कबाब, चिकेन तन्दुरी, लच्छा पराठा खाने ग्राहक धेरै हुन्छन्।


रेस्टुरेन्टमा जन्मोत्सव र वैवाहिक वार्षिकोत्सव मनाउने ग्राहक पनि आउँछन्। यस्ता ग्राहकका लागि चार वटा क्याबिन छन्। एक पटकमा सय जनासम्म बस्न मिल्ने हल छ।
रामबहादुरले अर्काको कामदार हुनु र आफै व्यवसायी हुनुमा निकै ठूलो फरक अनुभव गरेका छन्।
'अर्काको काम गर्न धेरै सजिलो, अर्डर अनुसार पकाइदिएपछि भइहाल्थ्यो। आफ्नै भएपछि जिम्मेवारी पनि धेरै हुँदो रहेछ,' उनले भने, 'ग्राहकको अलिकति पनि गुनासो हुन दिनु हुँदैन भन्ने लाग्छ। कर्मचारी, व्यवस्थापनको पाटो पनि हेर्नुपर्छ। अझै राम्रो गर्न सकूँ भन्ने लाग्दो रहेछ।'
रामबहादुरलाई आफ्नै देशमा, आफ्नै ठाउँमा व्यवसाय गर्न सकेकोमा सन्तोष छ।
'कुनै पनि काम ठूलो र सानो हुँदैन। ढंग पुर्याएर गर्नु नै ठूलो कुरा हो। आफ्नै देशमा व्यवसाय गरेर सेवा गर्न र सानो रोजगारी सिर्जना गर्न सकेकोमा सन्तोष लागेको छ,' उनले भने।
कहिलेकाहीँ रेस्टुरेन्टमा रामबहादुर र चेतना, यज्ञका आमाबुबा पनि आउँछन्। रेस्टुरेन्ट फस्टाएको देखेर उनीहरू खुसी छन्।
'अब अझ माथिल्लो तला पनि भाडामा लिएर ग्राहकलाई चिया, कफी र यस्तै अन्य साधारण पेय उपलब्ध गराउने योजना छ,' यज्ञले भने।