आजबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वत: अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।
महासंघमा उनको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो। श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए। उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरे।
महासंघको ५७औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
व्यवसायिक रूपमा श्रेष्ठ लक्ष्मी ग्रुपसँग सम्बन्धित छन्। उनले २०४५ सालदेखि परिवारले सुरु गरेको कन्फेक्सनरी उद्योगमा काम सुरु गरेका थिए। उक्त उद्योग अहिले सुजल फुडका रूपमा सञ्चालनमा छ।
लक्ष्मी ग्रुपअन्तर्गत उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल र अटोमोबाइल क्षेत्रमा काम विस्तार गरेका छन्। अटोमोबाइल क्षेत्रमा हुन्डाई गाडीको आधिकारिक वितरण गर्दै आएका छन्। पछिल्लो समय स्टिल उत्पादन र गाडी असेम्बलसम्बन्धी उद्योग पनि सञ्चालनमा ल्याइएको छ।
यो समूहअन्तर्गतका विभिन्न उद्योगमा तीन हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।