बुटवलमा सञ्चालित १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सकिएको छ।
गत पुस ३ गतेदेखि सुरू भएको प्रदर्शनीमा ८ लाखभन्दा बढी उपभोक्ताले अवलोकन गरी ३० करोड रूपैयाँ हाराहारीको आर्थिक कारोबार गर्न सफल भएको आयोजकको दाबी छ।
स्वदेशी उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्याउन सहज होस् भनेर रूपन्देही उद्योग संघले काठमाडौंबाहिर पहिलो पटक २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो।
त्यसयता बुटवलका अन्य व्यावसायिक संघ–संस्थाहरूसँग आलोपालो गर्दै यस पटक १६ औं संस्करणको औद्योगिक प्रदर्शनी सम्पन्न भइसकेको छ।'समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार' भन्ने नारालाई अगाडि सारेको रूपन्देही उद्योग संघले आयोजना गर्ने हरेक प्रदर्शनीमा स्वदेशी उत्पादनका वस्तु मात्रै प्रदर्शन र बिक्री–वितरणका लागि राखिन्छ।
यस पटक पनि मेसिनरी उद्योग, बेकरी, आइसक्रिम, अचार, कस्मेटिक, ग्रोसरी, प्लास्टिक, हस्तकला, फर्निचर, गार्मेन्ट, फुटवेयर, बाथ फिटिङ, कृषि लगायतका ४५० वटा स्टल राखिएका थिए।
नेपालको मध्य भागमा रहेको रूपन्देही औद्योगिक विकासको केन्द्रका रूपमा स्थापित छ। सयौं साना तथा मझौला उद्योगहरू मात्र होइन, इँटा, सिमेन्ट र स्टिल समेतका दर्जनौं ठूला उद्योगहरू यहाँ सञ्चालित छन्। हरेक वर्ष यहाँ आयोजना हुने एक दर्जनभन्दा बढी औद्योगिक प्रदर्शनी तथा मेला–महोत्सवहरूले यहाँ उत्पादित वस्तुको प्रदर्शन र बिक्री–वितरणमार्फत राष्ट्रिय अर्थतन्त्रमा बलियो इँटा थप्ने माध्यम बनिरहेका छन्।
अर्कोतर्फ नेपालका उत्पादनहरूबारे उपभोक्तालाई भेटेरै जानकारी गराउँदै नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास जगाउन र विदेशी आयात प्रतिस्थापन गर्न पनि भूमिका खेलेका छन्।
साना र मझौला लगानीका उत्पादनहरू, जो उपभोक्तासम्म सहज रूपमा पुग्न सक्दैनन्, त्यस्ता उत्पादनको बजार विस्तार गर्न प्रदर्शनी तथा व्यापार मेलाहरू सहयोगी बन्ने गरेका छन्।
प्रदर्शनीमा राखिने मेसिनरी र प्रविधिले स्थानीय उद्योगीहरूलाई आफ्नो उत्पादन प्रक्रिया सुधार गर्न र लागत घटाउन प्रेरित गर्न सक्छन्। प्रदर्शनीको अवधिभर कतिपयले प्रत्यक्ष रोजगारी पाउँछन् भने देशका विभिन्न भागबाट आउने अवलोकनकर्ताका कारण होटल, यातायात र पर्यटन क्षेत्र चलायमान हुन्छ।
काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएकाले पनि होला, रूपन्देहीलाई प्रदर्शनी र मेला–महोत्सवहरूको राजधानीका रूपमा समेत चिनाएको छ। पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण निराश भएका उद्यमीहरूलाई औद्योगिक प्रदर्शनीले नेपालमा अझै पनि लगानीको अवसर छ भन्ने सकारात्मक सन्देश दिएको छ।
'आफ्नै गाउँठाउँको कच्चा पदार्थबाट वस्तु उत्पादन गरी मैले पनि व्यवसाय सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास युवाहरूमा प्रदर्शनीले जगाइदिएको छ,' रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले भने।
उद्यमशील बन्न प्रदर्शनीले दिएको प्रेरणा
बुटवलका चार जना युवाहरू पढाइपछि विदेश जानुभन्दा स्वदेशमै व्यवसाय सञ्चालन गरेर उद्यमी बन्ने बाटो तय गर्दैछन्।
एउटै कलेजमा स्नातक तहमा पढिरहेका उनीहरू गाउँघरको मौलिक स्वादलाई सहरको आधुनिक भान्सासम्म पुर्याउने र त्यसैको माध्यमबाट उद्यमी बन्ने अभियानमा जुटेका छन्।
बुटवलमा सम्पन्न १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा धेरैको ध्यान एउटा यस्तो स्टलले खिच्यो, जहाँ आधुनिक मेसिनरीभन्दा पनि हाम्रै खेतबारीमा फलेका गेडागुडी र खाद्यान्नको सुगन्ध आउँथ्यो।
ती चार साथीहरूले सुरू गरेको अर्गानिक सातु, आटो, पिठो र गेडागुडीको व्यवसायले प्रदर्शनीमा केवल व्यापार मात्र गरेन, उद्यमशीलताको नयाँ आशा समेत जगाइदिएको छ।
तिनै चार जना साथीले सञ्चालन गरेको 'गाउँघरको स्वाद' को स्टल प्रदर्शनीमा राखिएका स्टलमध्ये उदयमान उद्यमीका रूपमा पुरस्कृत समेत भयो।
नवलपरासीको बर्दघाट भलुहीकी निरा अधिकारी, तिलोत्तमाकी आरजु भुसाल, बुटवलका विवेक रायमाझी र सचित पोखरेल बुटवलको कालिका क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययन गर्छन्। उनीहरू चौथो वर्ष सकिएपछि विदेश जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर छलफल गर्थे।
नवलपरासीको बर्दघाट भलुहीकी निरा अधिकारी, तिलोत्तमाकी आरजु भुसाल, बुटवलका विवेक रायमाझी र सचित पोखरेल
दुई महिना अगाडि यी चारै जना साथीहरू आफ्नो नियमित पढाइमा व्यस्त थिए। उनीहरूको मनमा केही नयाँ गर्ने हुटहुटी भने सधैं रहन्थ्यो।
यसै क्रममा भैरहवामा एउटा संस्थाले युवा स्वरोजगार र उद्यमशीलता सम्बन्धी कार्यक्रम आयोजना गर्यो। क्याम्पसबाटै छनोट भएर उनीहरू उक्त कार्यक्रममा सहभागी भए।
त्यो कार्यक्रमले उनीहरूको सोचाइ बदलिदियो।
'हामी सधैं अवसर छैन भन्छौं तर हाम्रै भान्सामा प्रयोग हुने कुराहरूलाई मात्र व्यवस्थित गर्न सके पनि ठूलो बजार रहेछ भन्ने बुझ्यौं,' निराले भनिन्।
तालिमबाट फर्किएलगत्तै उनीहरूले गाउँघरमै पाइने गेडागुडी र खाद्यान्नलाई प्रशोधन गरेर उपभोक्तासम्म पुर्याउने योजना बनाएका थिए।
'हामी सहभागिताका लागि मात्र गएका थियौं। त्यहाँ पुगेपछि सिकेका कुराले हाम्रो सोच नै बदलिदियो,' निराले भनिन्।
तालिममा उनीहरूले आफ्नै वरिपरि रहेका स्रोतहरूलाई चिन्नु नै वास्तविक उद्यमशीलता हो भन्ने सिके।
त्यही दिन उनीहरूले निर्णय गरे — अब पढेर विदेश जाने वा जागिर मात्र खोज्ने होइन, केही उत्पादन गर्ने।
'ब्याचलर पढेपछि चारै जना मिलेर नेपालमै केही काम गर्नुपर्छ भन्ने लागिरहे पनि ठुलो लगानी चाहिन्छ भन्ने सोच्थ्यौं। भैरहवाको कार्यक्रममा सहभागी भएपछि भने व्यवसाय गर्न लाखौं पुँजीभन्दा पनि बलियो सोच र स्थानीय स्रोतको पहिचान प्रमुख रहेछ भन्ने बुझ्न पायौं,' उनले भनिन्।
कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूले सल्लाह गरे — किन हामी सानो–तिनो व्यवसाय अहिल्यै सुरूवात नगर्ने?
गाउँघरमै हुर्किएकाले उनीहरूले गाउँघरमा उत्पादित वस्तुको महत्त्व बुझिसकेका थिए। मानिसहरूको बसाइ जति नै सहर केन्द्रित भए पनि गाउँघरमा उत्पादित वस्तुको स्वादबाट भने टाढा जान सक्दैनन् भन्ने उनीहरूलाई थाहा थियो।
उनीहरूले गाउँघरको उत्पादन प्रशोधन र ब्रान्डिङ गरी बजार पुर्याउने सल्लाह गरे।
चारै जना बसेर छलफल गरेपछि 'गाउँघरको स्वाद' नाममा उनीहरूले केही समयअघि मात्र तिलोत्तमा नगरपालिकामा फर्म दर्ता गरे।
मंसिर अन्तिम साता आफ्नो वार्षिकोत्सव अवसरमा कालिका क्याम्पसले फुड फेस्टिभल आयोजना गरेको थियो। उनीहरूले त्यहाँ स्टल राखेका थिए। त्यसबाट अभिभावक र शिक्षकको प्रशंसा बटुलेपछि बुटवलको औद्योगिक प्रदर्शनीमा पनि स्टल राख्ने योजना बनाएका थिए।
'आगामी चैत–वैशाखमा हामी सबैको परीक्षा सकिन्छ। फर्म दर्ता गरिसकेकाले त्यसपछि त केही न केही गर्नुपर्छ, एकै पटक बजारमा जानुभन्दा प्रदर्शनीमा स्टल राख्न पाए बिक्री पनि हुने र उपभोक्तासँग भेट्ने अवसर मिल्ने भनेर नै चार–पाँच दिनमै स्टल राख्ने तयारी गरेका हौं,' निराले भनिन्।
प्रदर्शनी अवधिभर उनीहरूले २० हजार रूपैयाँ तिरेर भाडामा स्टल लिए। तर बिक्री गर्न कुनै उत्पादन थिएन।
विभिन्न प्रकारका गेडागुडी, मकै, भटमास र अन्य पौष्टिक खाद्यान्न मिसाएर तयार पारिने सातु नेपाली समाजको परम्परागत 'सुपरफुड' हो। त्यही सातुलाई उनीहरूले प्रदर्शनीको आफ्नो मुख्य उत्पादन बनाए। सँगै जुम्लाको सिमी, भटमास, मकैको आटो, कोदो र फापरको पिठो पनि बिक्रीमा राखे।
'हाम्रो यो पहिलो प्रयास हो। ठूलो लगानी गरेर खोलिएका उद्योगलाई पनि उपभोक्तासम्म पुग्न महिनौं पर्खिनुपर्छ। उपभोक्ताको विश्वास जित्न त वर्षौं मेहनत गर्नुपर्छ। हामीले प्रदर्शनीमार्फत पहिलो प्रयासमै हजारौं उपभोक्तामाझ पुग्ने अवसर पाएका छौं। व्यापारभन्दा राम्रो प्रतिक्रिया पाएका छौं,' समूहका अर्का सदस्य विवेकले भने
व्यस्त जीवनशैली र फास्ट फुडको युग भए पनि मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन्। यही कुरालाई मध्यनजर गर्दै सातुलाई आफ्नो मुख्य उत्पादन बनाएको निराले बताइन्।
'अन्न र गेडागुडीसँगै काजु, ओखर, बदाम लगायतका मिसाइएकाले घरमा बनाएकोभन्दा थोरै महँगो भयो कि भन्ने लाग्न सक्छ। तर सातुको स्वाद र नामसमेत धेरैले मन पराइदिनुभयो। फर्मको नामले पनि भविष्यमा हामीले उत्पादन गर्ने र बजारमा पठाउने खाद्यान्नहरू गाउँघरकै स्वादका हुनुपर्छ भन्नेमा हामीलाई सचेत बनाएको छ,' उनी भन्छिन्।
बुटवलको प्रदर्शनीमा स्टल राख्नु उनीहरूका लागि एउटा ठुलो चुनौती र अवसर दुवै थियो।
सुरूमा मनमा डर पनि थियो — कतै मानिसहरूले हाम्रो साधारण उत्पादनलाई बेवास्ता त गर्ने होइनन्? तर नतिजा ठ्याक्कै उल्टो भयो।
प्रदर्शनीका दौरान उनीहरूको स्टलमा सातु र अन्य गेडागुडी खरिद गर्ने मात्र होइन, उनीहरूको कामलाई प्रोत्साहन गर्नेहरू धेरै भेटिए।
रूपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहराले क्याम्पस पढ्दै गरेका युवाहरू उद्यमको बाटोमा लाग्न खोज्नु सकारात्मक भएको बताए।
'रूपन्देही उद्योग संघले राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्नुको एउटा उद्देश्य यस्तै युवाहरूलाई उद्यमी बनाउनु पनि हो। यस अर्थमा यस पटकको औद्योगिक प्रदर्शनी सफल भएको छ,' उनले भने।
प्रदर्शनीमा पाएको सकारात्मक प्रतिक्रियाले आफूहरूको उत्साह हजार गुणा बढाइदिएको निराले बताइन्।
'औद्योगिक प्रदर्शनी ठूला उद्योगको बीचमा हाम्रो सानो स्टललाई कसले हेर्ला र भन्ने लागेको थियो। तर सोचभन्दा परिणाम सुखद आयो। पहिलो पटक भएकाले बिक्रीभन्दा पनि हामीले पाएको प्रतिक्रिया ठूलो कुरा हो,' उनले भनिन्।
प्रदर्शनीमा उनीहरूले पुरस्कार र सम्मान पनि पाए। यसले उनीहरूमा नयाँ उत्साह थपिदिएको छ। अब परीक्षा दिएपछि यसैलाई व्यवसायका रूपमा अगाडि बढाउने योजना बनाइरहेका छन्।
निराका अनुसार फर्म दर्ता, स्टिकर छपाइ र प्रदर्शनीका लागि सामान किन्दा ८० हजार रूपैयाँभन्दा बढी लगानी भएको छ। प्रदर्शनीबाट कति बिक्री–वितरण भयो भन्ने यकिन हिसाब गरिसकेका छैनन्।
'हामीले अहिले नाफा कमाउनेभन्दा पनि युवाहरूको सोचमा परिवर्तन ल्याउने र आफ्नो ब्रान्ड चिनाउने प्रयास मात्र गरेका हौँ,' उनले भनिन्।
प्रदर्शनीमा युवा विद्यार्थीहरूले राखेको स्टललाई पनि भाडा रकम छुट नगरिएकामा भने उनीहरूको गुनासो छ।