साँझ ५ बज्नै लाग्दा बुटवलको व्यस्त ट्राफिक चोकमा एउटा छुट्टै चहलपहल सुरू हुन्छ।
बिहानदेखि खोलिएका पसल बन्द गरेर व्यवसायीहरू घर फर्किने बेला कुकरमा पकाएको कफीका ठेला पसलहरू बल्ल सञ्चालन गर्ने तयारीमा हुन्छन्।
दूध, चिनी र पकाउने भाँडाकुँडा ठेलामा राखेर व्यवसायीहरू ट्राफिक चोक पुगिनसक्दै कफीका पारखीहरू पुगिसकेका हुन्छन्।
यस्तै व्यवसायी हुन् रवीन्द्र खरेल।
उनी दिनभर इलेक्ट्रिक पसल चलाउँछन्। साँझ ५ बजेदेखि राति १० बजेसम्म ट्राफिक चोकमा कुकर कफी बेच्छन्।
उनका बुबा तुलसीरामले २०५२ सालदेखि ठेलामा कफी र चिया बेचेका थिए। उनले भने पसल खोले।
'आठ वर्षयता भने कफी र इलेक्ट्रिक पसल दुवै आफै धानिरहेको छु,' उनले भने, 'दुइटा व्यवसाय धान्न श्रीमती अनिताले सघाउँछिन्।'
बुटवलमा प्रेसर कुकरलाई कफी मेसिनको विकल्पका रूपमा प्रयोग गर्न थालिएको १५ वर्ष जति भयो। यसको व्यावसायिक सुरूआत बुटवलकै बाबुराम पोखरेलले गरेका थिए।
बाबुराम र उनकी श्रीमती लक्ष्मीले ठेलामा लस्सी र कफी पसल सुरू गरेको २७ वर्ष भयो।
पुरानो बसपार्क हुँदै पछिल्लो समय ट्राफिक चोकमा ठेला राख्ने बाबुराम पहिले विद्युत लाइनबाट चल्ने मेसिनबाट कफी बनाउँथे। १८ घन्टासम्म लोडसेडिङ हुन थालेपछि उनले मेसिनको विकल्प खोजेका हुन्।
'लोडसेडिङका कारण अब यसरी व्यवसाय गर्न सकिँदैन भन्ने लाग्यो। विकल्प खोज्दै जाँदा कुकरमा नोजल (स्टिल र पित्तलको पाइप) जोडेर ग्यासबाट कफी बनाउन सकिने यो आइडिया आएको हो,' बाबुरामले भने।
रवीन्द्र खरेल
बाबुराम पोखरले
त्यो बेला कुकरमा यसरी पाइप जोड्न यहाँ नसकेपछि उनी भारतको गोरखपुरस्थित गोलघर बजार पुगेका थिए। अहिले कुकर कफी बुटवलकै ब्रान्ड बनिसकेको छ र यो शैली देशैभरि चर्चित छ।
यसरी कफी बनाउन सुरूमा कुकरमा पानी राखेर उमाल्नुपर्छ। कुकरको सिठीमा जोडिएको पाइपबाट उच्च चापमा बाफ निस्किन्छ। त्यही बाफले जगमा राखेको दूध, चिनी र कफीको मिश्रणलाई पकाउँछ। अनि कफी तयार हुन्छ।
विष्णु प्रसाद पाण्डेले पनि कफी पसल सुरू गरेको १५ वर्ष भयो। उनले ट्राफिक चोकसँगै नजिकैको गुरूद्वारापथ र काठमाडौंको सिनामंगलमा गरी कुकर कफीका तीन वटा पसल चलाइरहेका छन्।
ट्राफिक चोकमा उनी आफैले हेर्छन्। गुरूद्वारापथमा श्रीमती बिन्दुले र काठमाडौंमा भाइहरूले चलाइरहेका छन्।
दिनभरि गुरूद्वारापथको कफी पसलमा श्रीमतीलाई सघाउने विष्णु साँझ ५ बजेदेखि राति १० बजेसम्म ट्राफिक चोकमा व्यस्त हुन्छन्।
'अरू पसलभन्दा यही ठेलाको व्यापारले सबैभन्दा धेरै आम्दानी र सन्तुष्टि दिन्छ,' उनले भने।
गोविन्द सुवेदीले ठेलाको कफी पसललाई आफ्नो व्यवसाय बनाएको २१ वर्ष भयो। दिनभरि घरै बसेर बिताउने गोविन्द साँझको ५ घन्टाको व्यापारले परिवार पाल्न सहज बनाएको बताउँछन्।
'मैले आफ्नो व्यवसाय नै यसैबाट सुरू गरेँ। सरकारी सेवामा लागेको भए रिटायर हुने बेला हुन्थ्यो। आफैले सानो लगानीमा कफी पसल चलाए पनि यसैबाट सन्तुष्ट छु,' उनले भने।
यो व्यवसाय मुख्यतया आमाबुबा पुस्ताले सुरू गरेका थिए। सडक किनारमा ठेलामा कफी बेच्न थाल्दा कतिपयले यसलाई सानो काम ठानेर उपेक्षा पनि गरे।
तर समय बदलियो।
गोविन्द सुवेदी
विष्णु पाण्डे
अहिले ती ठेलामा छोराछोरी पुस्ता छन्।
विष्णु अर्याल आमाबुबाले कफी बेच्ने ठेलामा खेल्दै हुर्किए। उनका बुबा रामुले ठेलामा कफी बेच्न थालेको २२ वर्षभन्दा बढी भयो। त्यसैको कमाइबाट विष्णुले स्नातकसम्म पढे।
अहिले उनी आफै बुबाका साथी बनेर कफी र लस्सी बेचिरहेका छन्।
'आमाबुबाले सुरू गर्दा म सानै थिएँ। पछि बिदाको दिनमा कहिलेकाहीँ आएर सघाउँथेँ। १२ वर्षयता भने बुबासँगै दैनिक ठेला लिएर आउन थालेको छु। अहिले त एक दिन आउन नपाउँदा अधुरो जस्तो लाग्छ,' उनले भने, 'सानैदेखि आमाबुबाको यही काम हेर्दै हुर्किएँ। यसैलाई निरन्तरता दिन्छु भन्ने छ।'
साँझको ५ घन्टा मात्र खोल्ने भए पनि यही व्यवसायबाट उनको परिवारको खर्च चलेको छ। सानो लगानी र थोरै समयको मेहनतले राम्रै आम्दानी भइरहेकाले अरू व्यवसायतिर ध्यान पनि नगएको उनले बताए।
उनी दिनभर घरमा परिवारसँग बस्छन्। कहिलेकाहीँ साथीहरूसँग घुमफिरमा पनि जान्छन्। दिउँसो ४ बजेदेखि कफी र लस्सीका लागि सामान जोरजाम गरेर ठेला लिएर आउँछन्। आफ्नै ठाउँमा बसेर परिवार पाल्न पाउनु ठूलो कुरा भएको उनी बताउँछन्।
रवीन्द्र खरेल पनि दिनभर चलाउने इलेक्ट्रिक पसलभन्दा ५ घन्टाको ठेला कफीबाट धेरै सन्तुष्टि मिलेको बताउँछन्।
एकै पटक धेरै लगानी गर्नु नपर्ने, उधारो नजाने र लगानीको प्रतिफल केही घन्टामै पाइने भएकाले राम्रो भएको उनले बताए।
'कफी, दूध र चिनी किन्न दिउँसो लगाएको लगानीको प्रतिफल राति १० बजे घर फर्किँदा हातमा परिसकेको हुन्छ। इलेक्ट्रिक पसलमा लगानी पनि एकै पटक धेरै गर्नुपर्यो, त्यसमाथि उधारो जान्छ। उधारो उठाउने बेला उल्टै झगडा गर्नुपर्छ,' उनले भने।
यहाँ सडक किनारमा साँझ कफी व्यापार गरेर ६ परिवार धानिएका छन्। उनीहरू यो कम लगानी र छोटो समयको मेहनतमा राम्रै आम्दानी हुने व्यवसाय भएको बताउँछन्।
विष्णु अर्याल (दायाँ)

क्याफेको तुलनामा सस्तो हुनु र खुला आकाशमुनि साथीसंगीसँग गफ गर्दै कफी पिउन पाइने भएकाले धेरै ग्राहक यहाँ आकर्षित हुन्छन्। यहाँ ८० रूपैयाँ कपमा कफी पाइन्छ।
बाहिरबाट आएकाहरूका लागि पनि बुटवलको कुकर कफी आकर्षण हो।
काठमाडौंका गोविन्द भट्टराईले भने, 'म कफीको पारखी हुँ। तर यो कुकर कफीको स्वाद फरक छ। अब बुटवल आएको बेला पिउन छुटाउँदिनँ।'
भारतको कोलकाताबाट घुम्न आएका कौशिक रायले पनि कुकर कफी मिठो लागेको बताए।
'कुकरमा कफी पनि पकाइन्छ भनेर पहिलो पटक देख्ने र खाने अवसर मिल्यो। धेरै मिठो लाग्यो,' उनले भने।
बुटवल उपमहानगरपालिकाले साँझ ५ बजेदेखि राति १० बजेसम्म ट्राफिक चोकको सडक किनारमा ठेला राखेर कफी बिक्री गर्न अनुमति दिएको छ।
पुराना पुस्ताको मेहनत र नयाँ पुस्ताको व्यवस्थापनले कुकर कफीलाई बुटवलको ब्रान्ड बनाउन मद्दत पुगेको छ।
नेपालमा रोजगारीको वातावरण नभएको भन्दै दैनिक सयौं युवाहरू विदेश पलायन भइरहँदा सानो लगानी र छोटो समयको मेहनतले स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पनि दिएको छ।
भारतबाट आएका कौशिक राय
काठमाडौंबाट आएका गोविन्द भट्टराई

