भारतीय बजारमा नेपाली चियामाथि लगाइएको नयाँ प्रक्रियागत अवरोधका कारण निर्यात ठप्पजस्तै बनेपछि पूर्वी नेपालका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्।
भारतीय टी बोर्डले प्रयोगशाला परीक्षणको नाममा चिया रोक्न थालेपछि तयारी चियाले गोदाममा भरिएका छन्। किसानले हरियोपत्तिको भुक्तानी पाएका छैनन्। उद्योगीहरू उत्पादन नै रोक्न बाध्य भएका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपाल इलामले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि आफ्ना सदस्य उद्योगहरू बन्द गर्ने घोषणा गरेको छ। झापाका उद्योगीहरूले पनि असार ४ गतेदेखि उद्योग बन्द गर्ने तयारी गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार अहिले भारतका विभिन्न ठाउँमा पुगेका नेपालका तयारी चिया परीक्षण रिपोर्टको प्रतिक्षामा गोदाममै थन्केका छन्। यसका कारण बजार पुग्न नपाएपछि अब उद्योगहरू बन्द गर्नुको विकल्प नभएको उनले जानकारी दिए।
'पहिला बोर्डरमै रोक्थ्यो, अहिले भारत पुगेपछि गोदाममा राखेर रोक्ने गरिएको छ। आठ–दस दिनपछि नमूना लिन्छन्, त्यसपछि १५–२० दिनमा मात्रै रिपोर्ट आउँछ। धेरैको त अहिलेसम्म रिपोर्ट नै आएको छैन,' लिम्बूले सेतोपाटीसँग भने, 'यस्तो अवस्थामा हामीले उद्योग बन्द गर्नुको विकल्प केही भएन।'
उनका अनुसार भारतीय टी बोर्डले नेपालबाट जाने चियामा अनिवार्य परीक्षणको झन्झट हटाउने घोषणा गरेको थियो। त्यसैले नेपालबाट धमाधम चिया भारत जान थालेका थिए।
पहिले सीमामै परीक्षणका लागि रोकिने गाडी कोलकातासम्म पुग्न थालेका थिए। अहिले भने कोलकाताकै गोदामबाट हरेक गाडीको नमूना संकलन गरेर परीक्षण प्रतिवेदन कुर्न भनिएको छ।
'हप्तौं भयो चियाको नमूना परीक्षणको रिपोर्ट आएको छैन,' उनले भने, 'यस्तो अवस्थामा चिया कसरी पठाउन सकिन्छ? त्यसैले उद्योग नै बन्द गर्ने सल्लाह भएको हो।'
ए कपटक रिपोर्ट 'अनफिट' आयो भने फेरि स्याम्पलिङ गर्न १५ हजार भारतीय रूपैयाँ तिर्नुपर्छ। त्यसको पनि रिपोर्ट २०–३० दिनसम्म आउँदैन। यसरी चिया ६० दिनसम्म अड्किन थालेको उनले जानकारी दिए।
उद्योगीहरूका अनुसार अहिले इलामको मात्रै करिब दुई लाख ५० हजार किलो तयारी अर्थोडक्स चिया भारततर्फका गोदाममा थन्किएको छ। सिटिसी चिया समेत जोड्दा यो परिमाण तीन लाख किलो नाघिसकेको छ।
नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा रहेको दाबी उद्योगीहरूको छ।
-ink-1781447219.jpeg)
उपाध्यक्ष लिम्बूका अनुसार बजारमा निकास नपाउँदा उद्योगीहरूले किसानको हरियोपत्तिको भुक्तानी गर्न पनि सकेका छैनन्।
'सरकारले समयमा पहल गरेको भए यस्तो अवस्था आउँदैनथ्यो। अहिले किसान, मजदुर र उद्योग सबै मारमा परेका छन्। त्यसैले हामी कारखाना बन्द गर्न बाध्य भएका हौं,' उनले भने।
सूर्योदय क्षेत्रमा मात्रै ६२ भन्दा बढी साना–ठूला अर्थोडक्स उद्योग छन्। इलाममा वार्षिक ६० देखि ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने र त्यसको झण्डै आधा हिस्सा सूर्योदय क्षेत्रकै रहेको उद्योगीहरूको भनाइ छ।
इलामपछि झापाका उद्योगीहरूले पनि उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले असार ३ गतेसम्म पत्ति खरिद गर्ने र त्यसपछि उद्योग बन्द गर्ने तयारी भएको बताए।
'हाम्रो पनि ३ गतेसम्म पत्ति लिने र ४ गतेदेखि उद्योग बन्द गर्ने तयारी छ,' पराजुलीले भने।
यसबाट हाल झापामा सञ्चालनमा रहेका करिब ३६ वटा उद्योग प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।
उद्योगीहरूका अनुसार अहिले समस्या काँकडभिट्टा वा पानीट्यांकी नाकामा छैन। चिया भारत प्रवेश गरेपछि कोलकाता आसपासका गोदाममा पुगेर अड्किने गरेको छ।
'बोर्डर पार गर्न समस्या छैन। तर गन्तव्यमा पुगेपछि गोदाममै रोक्छन्। अनेक प्यारामिटर देखाएर जानीजानी रोक्न खोजिएको जस्तो देखिन्छ,' पराजुलीले भने।
उद्योगीहरूले दार्जिलिङका उद्योगहरूमा अनौपचारिक बाटोबाट नेपाली हरियो पत्ति सहज रूपमा पुगिरहेको तर वैधानिक रूपमा निर्यात गरिएको तयारी चिया भने परीक्षणको नाममा रोकिएको भन्दै विरोध जनाएका छन्।
भारतीय टी बोर्डले मे १ देखि आयातीत चियामा नयाँ 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर' एसओपी लागू गरेपछि नेपाली चिया निर्यात १९ दिनसम्म प्रभावित भएको थियो।
त्यति बेला प्रत्येक चिया कन्साइनमेन्टको नमूना संकलन गरी अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था थियो। नेपाली उद्योगीहरूको विरोध र भारतकै वाणिज्य मन्त्रालयको हस्तक्षेपपछि टी बोर्डले मे १९ मा नियम संशोधन गर्दै भारतको घरेलु खपतका लागि आयात हुने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी छुट दिएको थियो।
कागजमा नियम खुकुलो बनाइए पनि व्यवहारमा अवरोध नहटेको र अब उद्योग बन्द गर्नुबाहेक अरू केही उपाय नभएको नेपालका उद्योगीहरूको भनाइ छ।
अध्यक्ष पराजुलीका अनुसार भारत प्रवेश गरेका चियाका ट्रकहरूलाई अन्तिम गन्तव्यमा पुगेर पुनः परीक्षण प्रक्रियामा अल्झाइन्छ।
'अहिले चिया निर्यात रोकिएको छैन, तर निर्वाध रूपमा जान पनि पाइरहेको छैन। रिपोर्ट आउन हप्तौं लाग्छ। यस्तो अवस्थामा व्यापार कसरी चल्छ?' उनले भने।
चिया उद्योग बन्द हुने भएसँगै यसको प्रत्यक्ष असर किसान र मजदुरमा पर्ने निश्चित छ।
उद्योगहरूले हरियो पत्ति खरिद रोकेपछि हजारौ् किसानको आम्दानी प्रभावित हुनेछ भने कारखानामा कार्यरत श्रमिकहरूको रोजगारीसमेत संकटमा पर्ने उद्योगीहरूको चेतावनी छ।
अहिलेको समय चिया उत्पादनको 'पिक' सिजन मानिन्छ।
उद्योगीहरूले भारतीय अवरोधका कारण उद्योग सञ्चालन असम्भव बनेको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।
वार्षिक साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याउने चिया क्षेत्रमा आएको पछिल्लो समस्या समाधानमा सरकारको उच्च चासो हुनुपर्ने उद्योगीहरूको माग छ।
नेपालमा अहिले साना ठूला गरी १२० हाराहारी चिया उद्योग छन्। त्यस्तै, १०० भन्दा बढी साना–मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्।
अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो।
अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसकने अवस्था सिर्जना भएको उद्योगीहरू बताउँछन्।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। नेपाली चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जान्छ।