अपराह्न पौने ४ बजेको थियो।
काठमाडौं महानगरपालिका–१६ ठमेल पकनाजोलको 'चिलपिल जोन रेस्टुरेन्ट एन्ड बार' सुनसान देखिन्थ्यो।
ग्राहक पर्खिरहेको टेबल र कुर्सी मिलाउन व्यस्त थिए सञ्चालक सुरेन्द्र पाण्डे।
उनी कहिले टेबल पुछ्थे, कहिले टेबल वरिपरि राखिएका फूलहरू मिलाउँथे।
पाँच–सात मिनेट काम गरेपछि उनले भने, 'ग्राहक आउने समय हुन लाग्यो। त्यसैले सबै काम सकेर बस्छु ल।'
त्यति भनेर उनी भान्सातिर छिरे। हात धोए र मसला मोलेर राखेको एक डेक्ची सुँगुरको मासु ओल्टाइपल्टाइ पारेर छोपिदिए।
'यसरी चलाइरहँदा मासुमा मसला पस्छ र सेकुवा खान मज्जा आउँछ,' उनले भने, 'यहाँको स्पेसल सेकुवा र सुकुटी हो।'
त्यति नै बेला सुरेन्द्रकी श्रीमती माया गुरूङ र अर्की साझेदार बाबुदुमी राई पनि त्यहाँ आइपुगे। उनीहरूको आगमनसँगै होटलमा केही चहलपहल छायो।
यो रेस्टुरेन्ट उनीहरू तीन जनासहित ज्ञानु लामा र अर्का एक जना मिलेर पुस ९ गतेदेखि सञ्चालनमा ल्याएका हुन्।
यत्तिकैमा दुई पुरूषहरू रेस्टुरेन्टमा छिरे।
टेबलमा बस्दै गर्दा सँगै आएको एक पुरूषले भने, 'कस्तो ठाउँमा ल्याइस्?'
उनीसँगै आएका अर्का व्यक्तिले भने, 'यहाँको सुकुटी एकदम मिठो छ। चाखेर हेर, ठाउँको कुरा पछि गरौंला।'
उनीहरूले सुकुटी र मदिरा मगाए।
खाइसकेपछि साथीलाई लिएर आएका पुरूषले मिठो लाग्यो भनेर सोधे।
साथीले मिठो छ भनेको सुनेर बाबुदुमी र सुरेन्द्र एकअर्कालाई हेरेर मुस्कुराए।


'ग्राहकको मुस्कानले काम गर्न ऊर्जा मिल्छ,' सुरेन्द्रले भने।
रेस्टुरेन्टमा आउने कतिपय ग्राहकले सुरूमा असहज महसुस गरेको उनीहरूले थाहा पाइरहेका हुन्छन्। त्यसैले सकेसम्म सहज महसुस गराउने प्रयास गरिएको बाबुदुमीले बताइन्।
'चिलपिल जोन रेस्टुरेन्ट एन्ड बार' का सबै सञ्चालक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हुन्। बाबुदुमी आफूलाई नन–बाइनरी भनेर चिनाउँछिन्। माया र सुरेन्द्र समलिंगी दम्पती हुन्। विवाहको कानुनी मान्यता पाउने पहिलो समलिंगी जोडी उनीहरू नै हुन्।
यसरी आफ्नो पहिचानसहित साझेदारीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले व्यवसाय सञ्चालन गरिएको पहिलो पटक भएको बाबुदुमीले बताइन्।
'यौनिक तथा अल्पसंख्यक समुदायले खोलेको भनेर यो समुदायको मात्र रेस्टुरेन्ट भनेर नसोच्नुहोला। यो सबैका लागि हो,' उनले भनिन्, 'हाम्रो पहिचानलाई होइन, मानवता हेरेर व्यवहार र सहयोग गरिदिनुहोस्।'
यो रेस्टुरेन्ट नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको सहकार्यमा उनीहरूले सञ्चालन गरेका हुन्।
यौनिक तथा अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउन बेकरी, बारिस्टा (कफी बनाउने) र बेकरीको तालिम दिइएको दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्म दवाडीले जानकारी दिए।
'विभिन्न निकायहरूसँग सहकार्य गरेर तालिमहरू दिइरहेका छौं,' उनले भने, 'पिछडिएका समुदायका महिलाहरूलाई पनि तालिम दिइरहेका छौं।'


यो परियोजना अन्तर्गत हाल यौनिक तथा अल्पसंख्यक समुदायका माया, सुरेन्द्र र बाबुदुमीसँगै २५ जनाले तालिम लिइरहेका छन्।
तालिमकै कारण आफूलाई व्यवसाय गर्ने आँट आएको र सहज भएको बाबुदुमीले बताइन्। माया र सुरेन्द्रले भने यसअघि पनि सडकमा ठेलागाडामा खानेकुराहरू बेचेका थिए।
चिलपिल जोन रेस्टुरेन्ट एन्ड बारको विशेष परिकार सुँगुरको सेकुवा, बफ, चिकेनको सुकुटी र कोदोको लोकल रक्सी हो। यसबाहेक मःम, चाउमिन, किमा नुडल्स लगायत अरू खाजा पनि पाइन्छ।
'हाम्रो समुदायका मानिसहरू यौन व्यापार मात्र गर्छन् भन्ने धारणा छ। हामी यो तोड्न चाहन्छौं,' बाबुदुमीले भनिन्।
माया र सुरेन्द्र यसअघि 'मायाको पहिचान' नामक संस्थामा रहेर आफ्नो समुदायका हकअधिकारबारे आवाज उठाउँदै आएका थिए। तर आम्दानीको स्रोत नहुँदा काम गर्न मुस्किल भयो। त्यसैले दुःखसुख गरी जुटाएर रेस्टुरेन्टमा लगानी गरेको मायाले बताइन्।
'फरक–फरक व्यक्तिसँग ऋणपान गरेर ५० हजार, एक लाख गर्दै ५–५ लाख रूपैयाँ जुटायौं,' माया र सुरेन्द्रले भने।
पाँच जनाले यसै गरी पाँच–पाँच लाख रूपैयाँ जुटाएर रेस्टुरेन्टमा २५ लाख रूपैयाँ लगानी गरेका छन्। केही पैसा दिगो पर्यटन परियोजनाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बाबुदुमीले लामो समय विभिन्न संघसंस्थामा काम गरी बचाएको पैसा लगानी गरेकी हुन्। पछिल्लो समय अमेरिकाको सहयोग नआएपछि उनी कार्यरत संस्था बन्द भयो। उनले अन्त काम पाइनन्।
'कतै काम नपाएपछि यौन व्यवसायमा लाग्ने सोचेँ। तर मन मानिरहेको थिएन,' बाबुदुमीले भनिन्, 'त्यही बेला तालिम लिने मौका र व्यवसाय गर्न प्रोत्साहन पाएँ।'
खोटाङकी बाबुदुमी पुरूषका रूपमा जन्मेकी थिइन्। एसएलसी (एसइई सरह) दिएपछि थप पढ्न काठमाडौं आइन्।
प्लस–टू पढ्ने बेला उनले अल्पसंख्यक समुदायबारे बुझ्ने अवसर पाइन्। आफूसँग भावनात्मक कुरा मिलेको महसुस भयो।
त्यसपछि आफू महिला भएको उनले बताइन्। आफ्नोबारे बुझेपछि स्वरूप पनि फेरिन्।
'भावनात्मक रूपमा केटी भए पनि शारीरिक रूपमा केटा नै छु। त्यसैले आफूलाई नन–बाइनरी भन्न रूचाउँछु,' २३ वर्षीया बाबुदुमीले भनिन्, '१४ वर्षको उमेरदेखि कमाएर जम्मा गरेको पैसा लगानी गरेकी छु। सबैले मेहनत गरेका छौं। यसबाट अब हाम्रो जीवनले नयाँ मोड लिन्छ भन्ने विश्वास छ।'
