चौध वर्ष परदेशको भूमिमा पसिना बगाउँदा पनि अर्घाखाँचीका जगत खड्काको खल्ती रित्तै थियो।
१२ वर्ष मलेसिया र २ वर्ष कतारमा बसेका जगतको वैदेशिक रोजगारीको अनुभव यतिसम्म कष्टकर र नमिठो बन्यो कि, घर फर्किने जहाजको टिकट काट्न समेत उनले नेपालबाटै पैसा मगाउनुपरेको थियो।
तर समय सधैं एकै ठाउँ अडिँदैन। तिनै जगतअहिले आफ्नै माटोमा गरेको पौरखले वार्षिक २५ लाख रूपैयाँभन्दा बढीको कारोबार गर्ने भएका छन्।
१४ वर्ष विदेशमा बसेर पनि विदेश जाँदाको लगानी मात्र तिर्न सकेका जगत १० वर्षदेखि स्वदेशमै पौरख गरिरहेका छन्।
उनी अहिले एकैसाथ होटल, फ्रेस हाउस, कुखुरा, बाख्रा र बंगुर पालन तथा तरकारी खेती गरिरहेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७, खाँची मैदानमा उनी एक सफल उद्यमीका रूपमा चिनिन्छन्।
श्रीमती विमला खड्कासँगै काँधमा काँध मिलाएर उनले सुरू गरेको खाँची दरबार होटल र एकीकृत कृषि फर्म अहिले स्वदेशमै केही गरौं भन्ने युवाहरूका लागि एउटा प्रेरणाको स्रोत बनेको छ।
'१४ वर्ष विदेशमा रित्तो हात संघर्ष गरेँ। अहिले आफ्नै माटोमा वर्षको २५ लाख रूपैयाँसम्मको कारोबार गर्छु,' उनले भने।
जगत २०५८ सालमा रोजगारीको खोजीमा कतार पुगेका थिए। होटलमा काम पाए पनि आम्दानी राम्रो नभएपछि उनी दुई वर्षपछि मलेसिया हानिए।
मलेसियामा पनि उनले होटलमा कुक, सेक्युरिटी गार्डदेखि तेल मिल र इलेक्ट्रोनिक्स पसलमा सामान ओसारपसार गर्ने कामसम्म गरे।
'मेहनतमा कुनै कमी थिएन, तर बचत शून्य थियो,' जगत विदेशको भूमिमा बिताएका पुराना दिन सम्झिन्छन्, 'आम्दानी नभएपछि घरबाटै पैसा पठाएर कतारबाट घर फर्किएको थिएँ। दोस्रो पटक मलेसियाबाट फर्किँदा पनि घरबाटै टिकट खर्च मगाउनु पर्दा मन साह्रै रोएको थियो।'

२०७२ सालमा नेपालमा भूकम्प गएपछि भने उनले देशमै केही गर्ने संकल्प गरे।
भूकम्पपछि उनी घर फर्किएका थिए। त्यसपछि विदेश जान मन लागेन। जे गर्छु, आफ्नै माटोमा गर्छु भनेर कस्सिए।
'यही ठाउँमा सानो चिया खाजा पसल र आफ्नै बारीमा कृषि फर्म सुरू गरेँ,' उनले भने।
जगत र विमलातीले खाँचीकोट मन्दिर जाने बाटोको मुखमै होटल खोलेका छन्। तर यो होटल मात्र होइन, एउटा एकीकृत व्यावसायिक केन्द्र बनिरहेको छ।
होटल नजिकै स्कुल भएकाले विद्यार्थीका लागि विशेष मेनुसहितको खाजा तयार गरिदिने विमलाले बताइन्।
'गाउँघरमा विद्यार्थीले धेरै महँगो खाजाको पैसा तिर्न सक्दैनन्। १० रूपैयाँमा पकौडा र २५ रूपैयाँमा चाउमिन पाउने भएपछि विद्यार्थीको यहाँ लर्को लाग्छ,' उनले भनिन्।
विद्यार्थी मात्र होइन, सडक निर्माणका लागि खटिने मजदुर, सुपा देउराली दर्शन गरेर नुवाकोट हुँदै प्युठानको स्वर्गद्वारी जाने पर्यटकहरूका लागि पनि यो होटल भरपर्दो विश्राम स्थल बनेको छ। पछिल्लो समय सडक कालोपत्रे भएपछि गाडीको आवतजावतसँगै व्यापार पनि बढ्दै गएको जगले बताए।
'खाँचीकोटमा मेला लागेका बेला एकै दिनमा एक लाख रूपैयाँसम्मको कारोबार हुन्छ। त्यस्तो बेला गाउँका ५–६ जनालाई ज्यालादारीमा खटाउँछौं। अरू बेला ४० देखि ५० जनासम्मलाई खाना–खाजा खुवाउन बुढाबुढी आफैले सक्छौं,' जगले भने।
सुरूमा चिया र खाजाबाट सुरू गरेको होटलमा अहिले दैनिक ३०/३५ जनाले खाना खान्छन्। बास बस्न यहाँ कोठा पनि छ। उनीहरूले होटलसँगै कुखुराको मासुको फ्रेस हाउस पनि चलाएका छन्।

होटल र फ्रेस हाउसका लागि चाहिने कुखुरा आफैले पालेका छन्। बाख्रा र बंगुर पालनसँगै तरकारी खेती पनि गरेका छन्। खोरमा अहिले २५ वटा बाख्रा र ५ सय वटा कुखुरा छन्। वर्षमा १०/१२ वटा खसीबोका सजिलै बिक्छन्।
आफ्नो सफलता र मेहनतबारे जग भन्छन्, 'नेपालमा मेहनत गर्ने हो भने विदेश जानु पर्दैन भन्ने म आफैले महसुस गरेको छु। बिहान ५ बजेदेखि राति १० बजेसम्म हामी दुवै जना यत्तिकै खटिन्छौं। मेहनत गरे अनुसार आम्दानी पनि भएकाले सन्तुष्ट छौं।'
होटल सञ्चालनमा कुनै समस्या नआए पनि कृषि र पशुपालनमा विभिन्न रोगव्याधी र प्राविधिक समस्याले सताइरहन्छ। कुखुरा र बाख्रा बिरामी पर्दा गाउँमा प्राविधिक नपाएर मरेको पीडा उनले भोगे। तर उनले हार मानेनन्। रोइलो पनि गरेनन्।
बरू यो समस्या समाधान गर्न उनले आफ्नी कान्छी छोरी सवितालाई भेटेरिनरी (पशु चिकित्सा) पढाए।
अहिले सविताको बिहे भए पनि कुनै समस्या आइलागे उनैले सम्हाल्छिन्। उनले गाउँमै दाना, औषधि र बीउबिजनको पसल पनि खोलेकी छन्।
'अहिले त पशुको उपचार छोरीले गर्छिन्। गाउँका अरू किसानको समस्या पनि उनैले समाधान गर्छिन्,' जगत र विमला गर्वसाथ भन्छन्।


