चीन सरकारले नेपालका बाढीपीडितका लागि नगद सहयोग रकम हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप ३ करोड ६ लाख रूपैयाँ (२ लाख अमेरिकी डलर) नगद पनि सोही अवसरमा हस्तान्तरण गरेको छ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताएको अर्थमन्त्रालको सचिवालयले बताएको छ।
नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले अन्य सहायता सामग्री पनि नेपाल भित्रिन सुरू भइसकेको जानकारी दिएका छन्।
उनका अनुसार आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता राहत सामग्री काठमाडौं ओरालेका छन्।
रसुवामा गएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका भएर स्वदेश फिर्ता ल्याउन पहल भइरहेको राजदूत माओमिङले अर्थमन्त्री सचिवालयलाई जानकारी गराएका छन्।
त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति र थप उद्धार प्राविधिकहरू काठमाडौं आइसकेका छन्।
नेपाल सरकारले माग गरेको ठूलो परिमाणको सामान बोक्न सक्ने ड्रोन ल्याउनका लागि पनि द्रुत गतिमा काम भइरहेको उनले अर्थमन्त्रालयलाई जानकारी गराएका छन्।