नेपालीहरू रोजगारीका लागि सबभन्दा धेरै खाडीका संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी, कुवेत, बहराइन, ओमन र मलेसिया पुग्छन्।
यी मुलुक जाने अधिकांशले करार सम्झौता अनुसार तलब तथा सेवासुविधा भने पाइरहेका छैनन्।
यस्तैमध्ये एक हुन् राजेन्द्र शाह। उनी दुई वर्षदेखि मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका छन्।
तर आफूले करार सम्झौता अनुसार सेवासुविधा तथा तलब नपाएको उनले बताए।
उनका अनुसार कम्पनीसँग नेपाली भाषामा भएको सम्झौतामा दैनिक ८ घन्टा र महिनामा २६ दिन काम गर्दा तलब १५०० रिंगेट हुने भनिएको छ।
दैनिक ४ घन्टा ओभरटाइम गरे मासिक थप ११२५ रिंगेट गरी महिनामा कुल २६२५ रिंगेट तलब हुने भनिएको छ। अर्थात् दैनिक १२ घन्टा, २६ दिन काम गरे यति तलब हुने हो।
'अहिले कम्पनीले दैनिक १२ घन्टा, महिनाको ३० दिन काम लगाउँछ। एक दिन पनि बिदा छैन। मेसिन जस्तो खट्दा तलब चाहिँ जम्मा २१ सय रिंगेट दिन्छ। सम्झौतामा भने जस्तो केही पाउन सकिएको छैन,' राजेन्द्रले भने।
राजेन्द्र प्रतिनिधि मात्र हुन्। उनी जस्तै सुरक्षा क्षेत्रमा काम गर्ने धेरै नेपालीहरू आफूहरूले सम्झौता अनुसार सेवासुविधा नपाएको गुनासो गर्छन्।
एक दिन नबिराई खटिनुपर्ने र बिरामी हुँदा समेत बिदा नपाएको उनीहरूको दुखेसो छ।
उनीहरूका अनुसार बिरामी भएर काममा जानै नसक्दा कम्पनीले गयल भनेर त्यस दिनको तलब काटिदिन्छ। यसबारे सम्बन्धित मुलुकका दूतावासलाई पटक पटक जानकारी गराउँदा समेत पहलकदमी नचालेको उनीहरूको गुनासो छ।
मलेसियामा दैनिक ८ घन्टा, महिनामा २६ दिन काम गर्दा सेक्युरिटी गार्डको न्यूनतम पारिश्रमिक १७०० रिंगिट हो। तर अधिकांशले आधारभूत तलब नै पाउन सकेका छैनन्।
त्यस्तै त्यहाँको सामाजिक सुरक्षा योजना 'सोक्सो' का लागि भनेर पनि ४० रिंगिट मासिक काटिने गरेको गुनासो छ। उनीहरूको काटिएको रकम कहाँ जम्मा भइरहेको छ, कति जम्मा भएको छ भन्ने जानकारी समेत नहुने उनीहरू बताउँछन्।
विगत १४ महिनादेखि मलेसियाकै अर्को एक सेक्युरिटी कम्पनीमा कार्यरत बर्दियाका सुदीप तिरूवाको यस्तै गुनासो छ। उनले पनि महिनामा ३० दिन, दैनिक १२ घन्टा काम गर्दा आधारभूत तलब १५०० रिंगेट मात्रै पाउँछन्।
'ओभरटाइम गर्दा २५०० रिंगेटसम्म कमाइ हुन्छ भनिएको थियो, अहिले २१ सय पुग्छ। त्यो पनि के के भनेर कटाएर दिन्छ,' उनले भने, 'अनि महिना मर्नेबित्तिकै कहिल्यै तलब दिँदैन।'
मलेसिया जस्तै खाडी मुलुक गएका नेपालीले पनि समस्या झेल्नुपरेको छ।
तनहुँकी वसन्ती थापा मगर दुई वर्षदेखि युएईमा हाउस–किपिङको काम गरिरहेकी छन्। उनले पनि भनेको जस्तो तलब तथा सेवासुविधा नपाएको बताइन्।
त्यहाँको एक अस्पतालमा काम गर्ने उनको जिम्मेवारी सरसफाइ गर्ने, बेड तथा सोफा मिलाउने लगायत हो।
'दिनमा ८ घन्टा काम गर्दा ९५० दिराम कमाइ हुन्छ भनेको थियो। अहिले दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घन्टा खट्नुपर्छ। त्यति खट्दा पनि भनेजति तलब छैन,' वसन्तीले भनिन्।
उनका अनुसार खानेखर्च पनि आफै गर्नुपर्छ। सुरूमा कम्पनीले दुई महिनाको तलब पनि भिसा शुल्कबापत भन्दै कटाएको उनले बताइन्।
नेपालमा पनि म्यानपावरलाई भिसा शुल्क बुझाएकी थिइन्। त्यहाँ पनि बुझाउँदा दोहोरो मारमा परेको उनले बताइन्।
सरकारले मलेसिया तथा खाडी मुलुक जाने नेपालीका लागि फ्री भिसा, फ्री टिकट घोषणा गरेको छ। सरकारको नीति अनुसार यी मुलुक जाने नेपालीले भिसा तथा टिकट लगायत शुल्क तिर्नुपर्दैन। म्यानपावरलाई सेवाशुल्क भनेर १० हजार रूपैयाँ मात्रै तिरे पुग्छ।
तर अहिले म्यानपावरहरूलाई दुईदेखि पाँच लाख रूपैयाँसम्म बुझाएर जान बाध्य भइरहेको धेरै श्रमिकहरू बताउँछन्।
वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाका निर्देशक प्रयागदत्त जैसीले पनि करार सम्झौता अनुसार श्रमिकहरूले काम, तलब तथा सेवासुविधा नपाएका थुप्रै उजुरी आइरहेको बताए।
'श्रमिकहरू गन्तव्य देश नपुग्दै यहीँ ठगिएकादेखि रोजगारदाताले कम तलब दिएका, तलबै नदिई काम लगाएका, एउटा काम भनेर अर्को लगाएका गुनासाहरू आइरहन्छन्। पछिल्लो समय यस्ता गुनासा लिएर आउनेहरू अझ बढेका छन्,' निर्देशक जैसीले भने।