स्थानीय बजारमा सुनको मूल्य हरेक दिन थप महँगो हुँदै नयाँ रेकर्ड बनेको छ।
बिहीबार एक तोला सुनको भाउ तीन लाख ३९ हजार तीन सय रूपैयाँ छ।
२०८१ माघ १५ गते एक तोला सुनको मूल्य एक लाख ५९ हजार दुई सय रूपैयाँ थियो।
एक वर्षको अवधिमा मात्रै एक तोला सुनको मूल्य एक लाख ८० हजार रूपैयाँले बढेको छ।
२०८१ माघ १५ गते कुनै क्रेताले एक तोला सुन किन्न एक लाख ५९ हजार रूपैयाँ भए पुग्थ्यो भने अहिले त्यही सुन किन्न तीन लाख ३९ हजार चाहिने भयो।
यसरी अत्यधिक सुनको मूल्य बढ्नको कारण स्थानीय बजारको प्रभाव नगन्य मात्रै छ।
सरकारले चालु आर्थिक वर्षबाट सुनको कारोबारमा विलासी शुल्क अनिवार्य गरेको छ।
अघिल्लो आर्थिक वर्षमा १० लाख रूपैयाँभन्दा बढीको सुन खरिदमा मात्रै यो शुल्क लगाउने गरिएको थियो।
यसबाहेक यति धेरै सुनको मूल्य बढ्नुको कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव मात्रै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले बताए।
सुनको मूल्य यसरी बढ्नुमा नेपाली बजारको भूमिका कति छ? हाम्रो राजस्व नीतिको प्रभाव कति हुन्छ? व्यवसायीहरूले लिने नाफाको प्रभाव कति पर्छ?
यी विषयमा धेरैको चासो हुन्छ।
यसका लागि नेपाल सुन कसले ल्याउँछ, कसरी ल्याइन्छ, मूल्य कसरी निर्धारण गरिन्छ भन्ने विषय बुझ्न आवश्यक छ।
यसै सम्बन्धमा हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यलाई सोधेका छौँ।
बज्राचार्यका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ।
अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरेको बज्रचार्य बताउँछन्।
अहिले नेपाल सरकारले सुनको भन्सार दर १० प्रतिशत तोकेको छ।
त्यस्तै ०.५ प्रतिशत बैंकले नाफा राख्छ। नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकहरूले पाउँछन्। ०.५ प्रतिशत व्यवसायीले नाफा राख्ने गर्छन्।
यसका अतिरिक्त २ प्रतिशत विलासी शुल्क तिर्नुपर्ने हुन्छ।
मूल्य निर्धारण गर्ने क्रममा यो शुल्कको हिसाब गरिएको हुँदैन।
नेपालमा सुनको मूल्य निर्धारण भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गर्ने गरेको छ। यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ।
सुनको मूल्य लगातार बढेपछि कारोबार भने कम भएको व्यवसायीहरूको अनुभव छ।
लामो समयदेखि व्यवसायीहरूले बैंकबाट सुन नलिएको र बैंकमा सुन धेरै भएकाले मंसिरदेखि आयात पनि नगरिएको उनीहरूको भनाइ छ।
यद्यपि चालु वर्षको ६ महिना १९ अर्ब ६७ करोड रूपैयाँ बराबरको सुनको आयात भएको छ।
गत वर्ष यसै अवधिमा ८ अर्ब २८ करोड रूपैयाँ बराबरको सुन आयात भएको थियो।