बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
शनिबार बिहानैदेखि प्राविधिक सहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरूङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको जनाएको हो।
सो क्रममा केहीबेरअघि सुरूङको माथिल्लो भागमा रहेको 'क्राउन' पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको उल्लेख छ।
सुरूङभित्र अक्सिजन पठाउने प्रयास भएको छ।
उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको जनाएको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।