स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्।
रसुवा जिल्लाका विभिन्न ७ जलविद्युत आयोजनामा कार्यरत ७ सय ३० जना सम्पर्कविहीन छन् भने नुवाकोटका ६ आयोजनामा कार्यरत २ सय ४ जना सम्पर्कविहीन रहेको उल्लेख छ।
रसुवामा माथिल्लो त्रिशूली–३, रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलम्ची–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका छन्।
ती आयोजनामध्ये माथिल्लो त्रिशूली–३ मा सबैभन्दा धेरै ५ सय ७८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवागढीमा १३, रसुवा–भोटेकोशीमा ४, लाङटाङ खोलामा ४२, चिलिमेमा ८ र मेलुङ खोलामा ७ जना सम्पर्कविहीन छन्।
त्यस्तै, नुवाकोटका त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्। यहाँ माथिल्लो त्रिशूली–३ ‘बी’ मा कार्यरत १ सय ५८ जना र माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन रहेको विवरण छ।
विवरणमा २ सय १६ मेगावाटको अपर त्रिशूली–३ ‘ए’का २ सय ५४ जनाको मात्र उद्धार हुन सकेको उल्लेख छ। त्यस्तै, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ र चिलिमे जलविद्युत आयोजनामा तत्काल उद्धारको आवश्यकता देखिएको जनाइएको छ। उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न पहल तथा प्रयास भइरहेको उल्लेख छ।