बादलका टुक्रा आँखैअगाडि तैरिने, चारैतिर हरियाली पहाडको लहर र टाढासम्म देखिने हिमशृङ्खला।
तनहुँको अग्लो चुचुरोका रूपमा चिनिने छिम्केश्वरी प्राकृतिक र धार्मिक पर्यटनको आकर्षक गन्तव्य हो। तर, यहाँ आउने पर्यटकका लागि खान र बस्न भरपर्दो सुविधा नहुनु मुख्य समस्या थियो।
अब भने छिम्केश्वरीको काखमा छिम्केश्वरी रिसोर्ट सञ्चालनमा आएको छ। आबुखैरेनी गाउँपालिका–५, लाब्दी–भोटेश्वारामा रहेको रिसोर्टले छिम्केश्वरीको पर्यटनमा नयाँ आतिथ्य सुविधा थपेको छ।
दुई करोड लगानी, २० रोपनी क्षेत्रफल
स्थानीय व्यवसायी शेरबहादुर गुरूङ, दीपक गुरूङ र कृष्णमान तामाङको संयुक्त लगानीमा रिसोर्ट निर्माण गरिएको हो। करिब २० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट निर्माणमा दुई करोड रुपैयाँ लगानी भएको छ।
छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका लगानीकर्ता कृष्णमान तामाङका अनुसार व्यवसायसँगै छिम्केश्वरीलाई देश–विदेशमा चिनाउने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको हो ।
'हाम्रो मुख्य उद्देश्य व्यवसाय मात्र होइन, यो पवित्र भूमिको पर्यटनलाई देश–विदेशमा चिनाउनु पनि हो,' तामाङले भने।
हिमाल हेर्दै बस्न र स्थानीय स्वाद लिन सकिने
समुद्री सतहबाट करिब १ हजार ६२५ मिटरको उचाइमा रहेको रिसोर्टमा ६ वटा सुविधायुक्त कोठा छन्।
प्रत्येक कोठामा तीन जनासम्म बस्न सक्ने व्यवस्था छ। समूहमा आउने पर्यटकका लागि २५ जना अट्ने खुला हल तथा प्रकृतिसँग नजिक भएर रात बिताउन चाहनेका लागि टेन्टको व्यवस्था गरिएको छ।
रिसोर्टमा करिब २०० जना क्षमताको सभाहलसमेत निर्माण गरिएको छ। यसले बैठक, गोष्ठी, पारिवारिक जमघट तथा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने सुविधा थपेको छ।
रिसोर्टको अर्को आकर्षण स्थानीय तथा रैथाने खानाका परिकार हुन्। कोदो, फापर र मकैका रोटी, ढिँडो तथा स्थानीय कुखुरा र खसीका परिकार यहाँ पाइन्छन्। चिसो मौसममा तात्तातो ढिँडो र स्थानीय कुखुराको झोलसँगै हिमशृङ्खला नियाल्नु पर्यटकका लागि विशेष अनुभव बन्न सक्छ।
पर्यटन पूर्वाधारको अभाव हटाउने प्रयास
आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान छिम्केश्वरी रिसोर्टको स्थापनालाई स्थानीय पर्यटन विकासका लागि महत्वपूर्ण कदम मान्छन्।
'मानिसहरू छिम्केश्वरी आउन चाहन्थे, तर खान र बस्नको उचित व्यवस्था नहुँदा समस्या थियो। गाउँपालिकाको पहल र निजी क्षेत्रको लगानीबाट त्यो समस्या समाधान हुँदैछ,' उनी भन्छन्।
उनका अनुसार रिसोर्ट सञ्चालनले छिम्केश्वरीसहित समग्र क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
धार्मिक पर्यटनसँग पनि जोडिन्छ छिम्केश्वरी
रिसोर्टबाट करिब ३० मिनेटको पैदल दूरीमा छिम्केश्वरी माईको मन्दिर रहेको छ। २१३४ मिटर उचाइमा रहेको यो क्षेत्र तनहुँका महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छ।
मन्दिर दर्शनका लागि आउने भक्तजन तथा धार्मिक पर्यटकका लागि पनि रिसोर्टले आवास र खानाको सुविधा उपलब्ध गराउने भएकाले धार्मिक र प्रकृति पर्यटनलाई एउटै यात्रामा जोड्ने सम्भावना बढेको छ।
कसरी पुग्ने?
पक्की बाटोका कारण छिम्केश्वरी पुग्न अब विगतको तुलनामा सहज भएको छ। आबुखैरेनीको मिलनचोकबाट सवारीसाधनमा करिब ४५ मिनेटको यात्रापछि रिसोर्ट पुग्न सकिन्छ। तनहुँको पर्यटकीय नगरी बन्दीपुर हुँदै अफरोड यात्रामा यहाँ पुग्न सकिन्छ।
प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्य, शीतल मौसम, ग्रामीण जीवनशैली, धार्मिक आस्था र रैथाने खानालाई एउटै यात्रामा अनुभव गर्न सकिने भएकाले छिम्केश्वरीमा पर्यटनको सम्भावना व्यापक छ।
प्रकृतिको काखमा बसेर स्थानीय स्वाद चाख्न, हिमाल नियाल्न र छिम्केश्वरी माईको दर्शन गर्न चाहनेका लागि यो क्षेत्र अब पुगेर फर्किने मात्र होइन, केही समय बसेर अनुभव गर्ने गन्तव्य बन्दै गएको छ।