पृथ्वीकै उच्च पवित्र
स्थानमा म अवस्थित छु ।
प्राकृतिक सुन्दरतामा म
संसारकै सु-सज्जित रानी हुँ ।।
तराई मेरो खेल्ने आँगन हो,
पलेँटी कसेर म बसेकी छु ।
निर्मल,मेची र महाकालीले
मेरो करेसो बारी घेरेकी छु ।।
पहाड मेरो शरीर हो,हरियाली
पहिरनमा म सजिएकी छु ।
डाँडा,पाखा मेरा पोल्टाहरूमा
बहुमूल्य खानीहरू छुपाएकी छु ।।
हिमाल मेरो शीर हो, जहिल्यै म
मुस्कुराई शान्तिको भाव छर्दछु ।
संसारभरिका रमितेहरूलाई
हरपल,हाँसेर म स्वागत गर्दछु ।।
सन्तानले विदेश रोजी नदिए
उर्वरा उर्जावान हुन्थें म ।
मिलीजुली विकास गर्दिए
स्वर्गको राजधानी बन्थें म ।।
खाएर जङ्गलको कन्दमूल
पुर्खाहरू तिम्रा,बस्दथे सोखले ।
मर्दैनौ तिमीहरू मेरो काखमा
इथोपिया जस्तो कोही भोकले ।।
विश्वास गरी सन्तान हो
दिलमा मलाई सजाउ ।
समाइ कुटो कोदालो यहीँ
आफ्नै गाउँबेंसी सजाउ ॥
बिर्सिदेउ विदेश सन्तान हो
गाउँ घरमै जाँगर चलाऊ ।
आमाकै काखमा बसेर,अब
पुर्खौली चुलो जलाऊ ।।