नेपालमा कुनै पनि शैक्षिक गतिविधिले वार्षिक रूपमा एसएलसी/एसइई परीक्षाले जति जनचासो, माया, र अपेक्षा बटुल्दैन। आजको दिनमा, यो परीक्षा एसइई (माध्यमिक शिक्षा परीक्षा) को रूपमा चिनिन्छ, जहाँ मूल्याङ्कन प्रणाली ग्रेडिङ प्रणालीमा रूपान्तरित भइसकेको छ।
म अहिले पाटन अस्पतालमा कार्यरत छु र विशेषज्ञ चिकित्सकको रूपमा विगत धेरै वर्षदेखि विभिन्न सरकारी तथा निजी संस्थामा कार्यरत रही विद्यार्थीहरूलाई शिक्षण गर्दै आएको छु। मैले माध्यमिक तहदेखि लिएर स्नातक, स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूलाई पढाएको छु। यस क्रममा मैले विद्यार्थीहरूको मनोविज्ञान, परीक्षाको ढाँचा, नतिजाको असर र विद्यार्थीहरूमा देखिने मानसिक स्वास्थ्यका समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको छु।
मेरो आफ्नै एसएलसी यात्रा
मैले २०५७ सालमा एसएलसी परीक्षा दिएको थिएँ। म मेरो विद्यालयको नियमित ‘टपर’ भएकाले परिवार, शिक्षक र साथीहरूको ठुलो अपेक्षा थियो। हामी नयाँ पाठ्यक्रमको पहिलो ब्याच थियौँ जसमा पूर्णाङ्क ८०० थियो। त्यो बेलाका बोर्ड टपर्स ‘सेलिब्रिटी’ सरह हुन्थे र प्रतिष्ठित कलेजहरूले छात्रवृत्ति प्रदान गर्थे।
तर दुर्भाग्यवश, म पनि ती ६८% असफल विद्यार्थीमध्ये एक भएँ। मेरो नाम गोरखापत्रमा थिएन। इन्टरनेट कठिनाइले मात्र चल्थ्यो, त्यहाँ पनि नाम थिएन। त्यस बेला नतिजा नै जीवनको सबैभन्दा ठुलो निर्णय ठानिन्थ्यो।
गणितमा जम्मा १२ नम्बर आएर म फेल भएको जानकारीपछि मेरो आत्मबल एकाएक भत्किन खोजेको थियो तर म सम्हालिएको थिएँ। पुनः परीक्षणका लागि निवेदन दिएँ र करिब तीन महिनापछि नतिजा आयो— मैले एसएलसी पास गरेँ, त्यो पनि विशिष्ट अंकको साथ। त्यो नै मेरो जीवनको एउटा मोड थियो। यसैको आधारमा मैले १०+२, त्यसपछि एमबिबिएस (शिक्षा मन्त्रालयको छात्रवृत्तिमा) अध्ययन गर्न पाएँ। एमडी सक्काएर विभिन्न शिक्षण अस्पतालका अनुभव बटुलेँ।
वास्तविकता: असफलता अन्त्य होइन
आज पनि हामी एसइईको नतिजा हेर्छौँ— सफल विद्यार्थीले पुरस्कार, छात्रवृत्ति, प्रशंसा पाउँछन् भने असफल विद्यार्थीहरू एक्लोपन, तनाव र कहिलेकाहीँ आत्महत्या जस्ता खतरनाक सोचसम्म पुग्छन्। यी विद्यार्थीहरूलाई मानसिक, सामाजिक र शैक्षिक सहारा दिनु आजको आवश्यकता हो।
हामीले सम्झनुपर्छ —असफलता कुनै पनि व्यक्तिको अन्तिम गन्तव्य होइन। म नै त्यही असफलताको सूचीमा पर्ने विद्यार्थी थिएँ जसले पुनः प्रयास गर्दै अघि बढेँ। विद्यार्थीहरूलाई आत्मबल बढाउने, परामर्श दिने, सिक्न सघाउने र आशावादी बनाउने वातावरण आवश्यक छ।
शिक्षा प्रणालीमा सुधारको आवश्यकता
हाम्रो शिक्षा प्रणाली अझै पनि ‘पढ्नुपर्छ’ भन्नेभन्दा बढी ‘पास हुनुपर्छ’ भन्ने मनोवृत्तिमा अडिएको छ। पाठ्यक्रम यथार्थमा आधारित हुनुपर्छ, व्यावसायिक तालिम र जीवन–उपयोगी सीपमा केन्द्रित हुनुपर्छ। शिक्षकहरूलाई प्रोत्साहन, तालिम र स्रोत–साधनमा लगानी गर्नुपर्छ।
एसइई अन्तर्गतको ग्रेडिङ प्रणालीले केही सकारात्मक असर गरेको भए पनि यो केवल सुरुवात हो। शिक्षा प्रणालीको मूल उद्देश्य ‘जीवनका लागि तयार बनाउनु’ हुनुपर्छ, ‘परीक्षामा सफल बनाउनु मात्र होइन।’
अन्त्यमा, एक विनम्र सन्देश
यदि तपाईं एसइई (वा कुनै पनि परीक्षा) मा असफल हुनुभएको छ भने कृपया निराश नहुनुहोस्। जीवन लामो छ, समय अझ बाँकी छ। आफ्नो आत्मबल ह्रास नगर्नुस्। परिवार, शिक्षक र साथीहरूबाट सहयोग लिनुस्। फेरि प्रयास गर्नुस्, निरन्तर संघर्ष गर्नुस्, एक दिन अवश्य सफलता प्राप्त हुनेछ।
(लेखक पाटन अस्पतालमा कार्यरत छन्। उनी )