अधुरो प्रेम- २
भोलिपल्ट नै देव तालिमको लागि गयो। देव तालिममा गएको करिब तीन महिना बितिसकेको थियो। एकदिन बेलुका देवले मलाई भिडिओ कल गर्यो।
म निकै खुसी भएर कल रिसिभ गरेँ। देवको अनुहार फरक थियो, मलाई बोली पनि फरक लाग्यो। मैले देवलाई सोधेँ- देव के भयो? किन अनुहार मलिनो देख्छु नि, बोली पनि रुन्चे छ, त ठिक त छस्?
देवले रुन्चे स्वरमा भन्यो- स्मृतिले बिहे गरिछे यार, मैले उसलाई कति माया गरे, उसले मलाई बुझ्नै सकिन, अब के गर्नु!
म पनि छाँगोबाट खसेजस्तै भएँ अनि सोधेँ- तैँले कसरी थाहा पाइस्?
'मैले पठाएको म्यासेजको जबाफ स्मृतिले के लेखेकी होलिन् भनी हेर्दा म्यासेजको जबाफ केही देखिनँ। फेसबुक डिएक्टिभ भएको रहेछ। पछि उसको नामले फेसबुकमा खोजेको अर्को प्रफाइल रहेछ, त्यहाँ उसको बिहेको फोटो राखिएको छ।'
देवको यो कुरा सुनेर मलाई निकै नरमाइलो लाग्यो।
मैले पनि फेसबुक खोलेँ। स्मृतिको प्रोफाइल हेरेँ, साँच्चिकै उसको बिहे भइसकेको रहेछ।
देवलाई सान्त्वना दिँदै भनेँ– सबै प्रेमीहरूको यात्रा विवाहसम्म पुग्छ भन्नु पनि त छैन, प्रेमले कहिलेकाहीँ त्याग पनि खोज्ने रहेछ, जे हुनु थियो भयो, धेरै नसोच।
अनि सोच्न थालेँ- यदि उनलाई देव मन नपरेको भए “ मन पर्दैन” भनेको भए पनि हुने थियो। किन केही जबाफ नदिई अलमलमा पारेकी होलिन्?
मनमा निकै कौतुहलता भयो, मैले उनलाई फेसबुकमा नै म्यासेज गरेँ 'तिमी कहाँ छौ? तिम्रो अर्को फेसबुक प्रोफाइल के भयो? किन अर्को बनाएको?'
भोलिपल्ट बिहान स्मृतिले म्यासेज गरेकी रहेछिन्, 'म अहिले जापानमा छु, प्रोफाइल नचलेको त ३/४ महिना भयो दाइ, पासवर्ड बिर्सेछु अनि रिकभर पनि भएन' स्मृतिको कुरा सुनेर म आश्चर्यमा परेँ।
सायद उनले झुट बोलेकी होलिन् जस्तो लाग्यो।
मैले पुन: सोधेँ- 'तिमीसँग अफिसमा काम गर्ने देव भन्ने केटा अहिले कता छ थाहा छ तिमीलाई?'
स्मृतिको म्यासेज पुन: आयो 'खै दाइ, पहिला त्यति बोल्ने हाँस्ने मान्छे अहिले कहाँ हुनुहुन्छ मलाई पनि थाहा छैन। मैले पनि सम्पर्क गर्न खोजेँ। चार महिनादेखि फोन पनि स्वीच अफ भन्छ। पहिला अब प्रहरीमा भर्ना हुनुपर्यो भन्ने कुरा गर्नुहुन्थ्यो त्यसपछि सम्पर्क नै छैन'।
म झनै आश्चर्यचकित भएँ।
देवले मेरै अगाडि स्मृतिलाई म्यासेजमा नै प्रेम प्रस्ताव राखेको थियो। तालिममा जान लागेको कुरा पनि जानकारी गराएको थियो। तर किन स्मृतिले केही थाहा छैन भनेकी होलिन्? मैले सोचेँ।
'तिमीलाई देवले जाने समयमा केही भनेन?' मैले प्रश्न गरेँ।
'नाइँ दाइ केही पनि जानकारी गराउनुभएन, फोन सम्पर्क पनि भएन, उहाँ जाने समयमा म आमा बिरामी भएर अफिस बिदा बसेको थिएँ, भेट नै हुन पाएन' उनले जबाफ पठाइन्।
मेरो मनमा कैयौं प्रश्नहरूको वर्षा हुन थाल्यो।
किन स्मृतिले झुटो बोलेकी होलिन्?
यदि उनले साँचो बोलेको भए देवले पठाएको म्यासेज कसले पायो?
स्मृतिसँगको कुराकानी पश्चात म आफ्नो अफिसतिर गएँ। लामो समयपछि स्मृतिसँग भएको कुराकानी र स्मृतिको जबाफले मलाई अचम्मित तुल्यायो।
मलाई अझै याद छ, देवले स्मृतिलाई प्रेम प्रस्ताव राख्ने उद्देश्यले उसलाई भेट्ने निकै कोसिस गरेको थियो। त्यतिबेला स्मृति आमाको उपचारको लागि काठमाडौं गएकोले ऊसँग भेट हुन भने पाएन।
सायद स्मृति अस्पतालमा आमा बिरामी भएको कारणले ब्यस्त वा तनावमा भएकोले गर्दा होला फोन गर्दा पनि रिसिभ भएन। तर पनि उसले मसँगै बसेर स्मृतिलाई म्यासेन्जरमा म्यासेज गरी प्रेम प्रस्ताव राखेको थियो। त्यो म्यासेज स्मृतिले कुनै बेला त हेरेकै होलिन्। किन उनले देवको बारेमा केही थाहा भएन, तालिममा जाने बेला एक पटक भेट्न पनि खोज्नु भएन, फोन पनि गर्नुभएन भनेकी होलिन्।
यस्तै यस्तै कुरा सोच्दा सोच्दै त्यो दिन साँझ पर्यो, अफिस टाइम पनि सकियो। घर फर्कंदै गर्दा पनि मेरो मानसपटलमा यही कुराहरू घुमिरह्यो।
मोबाइल हेर्दैगर्दा देवलाई फेसबुकमा अनलाइन देखेपछि मैले भिडिओ कल गरें।
मैले देवलाई आज भएको सबै कुरा भनेँ। देवले पनि आश्चर्यजनक शैलीमा भन्यो- यो कसरी हुन सक्छ। उसले हेरेर नै मलाई ब्लक गरेको थिई। अनि पछि फेरि अनब्लक गरेकी हो। त्यो बेला म तत्काल तालिममा सहभागी हुन आउनु पर्यो। उसको म्यासेज गरेको भोलिपल्ट नै। उसले म्यासेज त हेरेकै होली नि। मैले उसलाई साँचो माया गरेको थिएँ, उसले बुझ्नै सकिन।
'आमाको उपचार गरेर आएपश्चात पहिलेको आइडी अचानक के भयो खुलेन अनि अर्को आइडी बनाएकी रे' मैले भनेँ।
विचरा देव निरास स्वरमा भन्यो- सायद मबाट नै टाढा हुन होला, एक पटक मनको कुरा मलाई भनेको भए म आफै टाढा भइदिन्थेँ।
यत्तिकैमा देवले फोन काट्यो।
उता देवको मनमा अनेक कुराहरू खेल्न थाले। स्मृतिले साँच्चिकै म्यासेज पाइनन् कि के हो?
यदि त्यो म्यासेज उनले नपाएको भए मलाई फेसबुकमा ब्लक गर्ने को ? आखिर के भएको थियो त्यो दिन ?देवलाई यस्तै यस्तै बितेका कुराहरूले पिरोल्न थाल्यो।
समय बित्दै गयो, देव पनि करिब एक वर्षको तालिम सकाएर घर बिदामा आएको थियो। पहिलाको देव अहिले निकै परिवर्तन भएको रहेछ। उसको शरीरदेखि बानी ब्यहोरासम्म सबै परिवर्तन भएको थियो।
कहिलेकाहीँ कुनै बेला स्मृतिको कुरा आइहाल्यो भने पनि कसैले पछाडिबाट छुरा प्रहार गरेजस्तो उसको अनुहार पीडा देख्न सकिन्थ्यो।
एक दिन साँझमा देव र म पोखरा लेकसाइडमा खाजा खाँदै थिँयौ।
अचानक स्मृतिको बाबालाई देखेर मैले बोलाएँ, बुबा आउनु सँगै खाजा खाऊ। उहाँ आउनुभयो, मैले उहाँसँग पछि चिनजान गर्ने मौका पाएको थिएँ, तर देवले चिनेको थिएन।
मैले देव र उहाँको एक अर्कालाई परिचय गराएँ।
स्मृतिको बुवाले केही सोचे जस्तो गर्नुभयो र भन्नुभयो-सायद मैले उहाँलाई पहिले पनि देखेको थिएँ।
'तपाईंको छोरी स्मृति र देव पहिले एउटै अफिसमा काम गर्थे, पछि देव प्रहरी निरीक्षकमा नाम निकाली भर्खर तालिम सकाएर आएको हो' मैले भनेँ।
'ए त्यो देव तपाईं हो?' स्मृतिको बुवाले आश्चर्यजनक तरिकाले पहिले नै केही सम्बन्ध भएजस्तो गरी सोध्नुभयो।
'त्यो देव? के भन्न खोज्नुभएको हो बुझिनँ नि' देवले भन्यो।
उहाँले 'केही होइन' भनेर टार्न खोज्नुभयो।
त्यतिकैमा देवले आफ्नो केही काम भएको र जानुपर्ने भन्दै बाइकमा गयो।
स्मृतिको बुवाले भनेको 'त्यो देव तपाईं हो?' भन्ने प्रश्नले मलाई कता कता शंका लाग्यो – कतै देव र स्मृतिको बारेमा उहाँलाई पहिले नै थाहा त थिएन?
मैले उहाँलाई प्रश्न गरेँ- तपाईंले देवलाई पहिले नै चिन्नुहुन्थ्यो हैन बुवा? उहाँलाई धेरै अनुरोध गरेपश्चात भन्नुभयो- चिनेकै त हैन तर कुनै समयमा छोरीको मोबाइलमा देवको म्यासेज आएको थियो।
यो कुरा सुनेपश्चात मलाई कौतुहल भयो र सोधेँ- के म्यासेज देख्नुभयो?
'प्रेम प्रस्ताव गरेको थियो, मलाई मन परेन त्यसपछि फेसबुक नै डिलेट गर्दिएँ,' उहाँले भन्नुभयो।
'छोरीसँग केही कुरा गर्नुभयो त त्यो बारेमा?' मैले थपेँ।
'केही कुरा भएन, पछि उसको बिहेको कुरा चल्यो, उसले त बिहे गर्न मानेकै थिइन हाम्रै करकापमा बिहे गरी' सायद उसले पनि देवलाई अति नै माया गर्थी, उसलाई पनि देवले माया गर्छ भन्ने थाहा भएको भए सायद उसले अर्कोसँग बिहे गर्न मान्ने थिइन, त्यसैले यस बारेमा मैले ऊसँग केही कुरा गरिनँ। मलाई मेरो गल्तीको पछि मात्र महसुस भयो, उसको आँखामा मैले देव प्रतिको माया महसुस गर्दा पनि बिहेको सबै तयारी भइसकेकोले केही भन्नै सकिनँ।' स्मृतिको बुवाले भन्नुभयो।
यति कुरा सुनेपछि बल्ल थाहा भयो स्मृतिले झुट बोलेकी रहेनछिन्।
उनलाई त देवले माया गर्थ्यो भन्ने पनि केही थाहा रहेनछ। स्मृतिले पनि देवलाई उत्तिकै माया गरेकी थिइन् भन्ने उनको बुबाबाट प्रस्ट भयो।
अब के नै हुन सक्थ्यो र? त्यो सबै समयको खेल थियो। यदि देव अचानक तालिममा जानु नपरेको भए, र उसलाई अलिकति पनि समय हुन्थ्यो भने पनि यो दिन आउँदैनथ्यो होला।
उता त्यही समयमा स्मृतिको आमा बिरामी भई अस्पताल लैजानुपर्यो र उनीहरूको भेट र सम्पर्क नै हुन सकेन।
भनिन्छ नि भाग्यमा जे लेखेको छ त्यही पाइन्छ। देवको जीवनमा स्मृति भगवानलाई मन्जुर थिएन होला, त्यसैले त सबै संजोग त्यस्तै मिल्यो।
पछि मैले यो कुरा देवलाई भनेपछि देवको आँखा रसाए।
'दुबैले एक अर्कालाई चाहेको अवस्थामा पनि समयमा नै मनका कुरा साटासाट गर्न नसक्दा यो अवस्थामा पुग्नुपर्यो' देवले मलिनो स्वरमा भन्यो।
स्मृतिको विवाह भएको करिब १ बर्ष पुगिसकेको थियो। एक दिन अचानक देवको मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो।
'हेल्लो देव, आराम हुनुहुन्छ' फोनमा सुनिन्छ। स्वर निकै प्रिय र आनन्दमय थियो।
देवले त्यो स्मृतिको आवाज कहाँ भुल्न सकेको थियो र। कसैले साँचो भनेको हो जीवनको पहिलो माया कहिल्यै पनि भुल्न सकिँदैन भनेर। स्मृतिको त्यो आवाज सुन्नासाथ देवलाई एकछिन श्वास नै रोकिएजस्तो महसुस भयो।
एकछिनपछि मात्र भन्यो, 'म ठिक छु स्मृति, अनि तिमी?'
'म पनि ठिकै छु, हजुरले त बिर्सनु भयो कि भन्ने सोचेको थिएँ, मोबाइल नम्बर नयाँ भए पनि आवाजले नै चिन्नु भयो त' स्मृतिले भनिन्।
'तिमीलाई म कहिल्यै भुल्न सक्दिनँ स्मृति, तिमीसँग भेट भएदेखि तिम्रो सम्झना नआएको सायद कुनै पल छैन' देवले जबाफ दियो।
'ओहो! यस्तो पनि भन्न आउँदो रैछ त हजुरलाई' स्मृतिले हँसिलो तरिकाले भनिन्।
यस्तै यस्तै गफगाफ केहीबेर चल्यो त्यसपश्चात फोनमा कुरा समाप्त भयो।
दिनहुँ जस्तै स्मृति र देवको फोनमा कुराकानी हुन थाल्यो। दुबैले आ-आफ्ना कुराहरू साटासाट गर्ने उनीहरूको बानी पहिलेदेखि नै थियो। धेरै जसो कुराहरू सेयर गरे पनि स्मृतिले प्राय: आफ्नो श्रीमान्को बारेमा केही बोल्न मन गर्ने थिइनन्।
जापानमा आफूले निकै दुख गर्नु परेको र श्रीमानसँगको सम्बन्ध पनि त्यति राम्रो नभएको उनको कुराबाट बुझ्न सकिन्थ्यो।
आफुले माया गरेको ब्यक्तिले यसरी दुख भोग्नु परेको सुनेर देव निकै दुखी भयो।
'अब के गर्छौ त स्मृति' देबले सोध्छ।
'मिल्ने भए त म नेपाल नै आउँथें, यहाँ धेरै दुख छ, सकीनसकी काम गर्नैपर्छ, कसरी आउने होला मेरो पासपोर्ट सबै श्रीमानसँगै छ। उहाँले कहाँ राख्नुभएको छ केही थाहा छैन, नेपाल जान्छु भन्दा पनि बेवास्ता गर्नुहुन्छ,' उनले भनिन्।
केहीबेर शून्यता छायो। स्मृतिको आवाजमा पश्चाताप थियो, देवको मौनतामा विछोडको पीडा।
जीवनमा केही सम्बन्धहरू अधुरा भए पनि उनीहरूको स्मृति सदैव रहन्छ। स्मृति र देवको माया पनि त्यस्तै बन्यो। समयमा अभिव्यक्त हुन नसकेको, गहिरो र साँचो माया। देव अब प्रहरी निरीक्षकको रूपमा कर्तव्यमा लागिसकेको थियो, र स्मृति जापानमा विवाहित जीवन बिताउँदै थिइन्। दुबैको बाटो फरक भए पनि मनका कुनामा उनीहरूको सम्बन्धको छाया सधैं रहिरहनेछ।
त्यो फोन कल पनि अन्तिम थिएन, तर उनीहरूको सम्बन्ध अब ‘साथी’ को सीमामा मात्र बाँधियो। अब न त देवले आफ्नो माया माग्न सक्थ्यो, न त स्मृतिले त्यसलाई दिन सक्थिन्।
केही प्रेम अभिव्यक्त नभएता पनि अमर हुँदा रहेछन्।
प्रेम कहिल्यै असफल हुँदैन, केवल पूरा नहुन सक्छ। देव र स्मृतिको कथा केवल दुःखको कथा होइन, त्यो समय, संयोग र मौनताको जटिल संगम हो।
यो पनि: