Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असार १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

समीरे भीर

उज्वल अधिकारी

उज्वल अधिकारी

ई. उज्वल अधिकारी।
ई. उज्वल अधिकारी।

२०७३ साल असार महिना।

माइक्रो हाइड्रोपावरको अनुगमनका क्रममा जीवनमै पहिलो पटक चितवनभन्दा पश्चिमको यात्रा गरेर भर्खरै डोल्पाको दुर्गम गाउँ सहरताराबाट फर्किएको थिएँ। जुन कन्सल्टेन्सी मार्फत ईन्जिनियरको रुपमा अनुगमनमा खटिएको थिएँ, त्यहाँबाट फोन आयो।

'भाइ फेरि अर्को एउटा साइट छ, पश्चिम नै हो, जाजरकोटको अर्छानी गाविस। डोल्पामा जस्तै त्यहाँ नि माइक्रो हाइड्रोकै अनुगमन हो, जान्छौ?'

म पूर्वी नेपाल धरानको मान्छे, पश्चिमतिर खासै घुम्ने मौका नपाएको र घुमफिर गर्न, नयाँ ठाउँको संस्कृति रहनसहन बारे बुझ्न, घुलमिल हुन विशेष रुचि राख्ने भएकाले उक्त दुर्गम साइट जाने प्रस्तावलाई सहजै स्वीकार गरेँ।

तोकिएको समयसीमा नाघिसक्दा पनि निर्माण कार्य सुरू नभएका लघु जलविद्युतको अनुगमन गर्नु थियो। के कति सामान साइटमा पुगेका छन् र निर्माण कार्य नहुनुका कारणहरु के-के हुन्? हेरेर रिपोर्ट बुझाउनु पर्ने काम थियो।

'भाइ मलाई पनि साइटको रुट थाहा छैन, केवल पुग्नु पर्ने ठाउँ र आयोजनाको नाम मात्र थाहा छ। गुगल म्याप हेरेर, मानिसहरूसँग सोध्दै जानु है,' डिजाइन पोइन्ट कन्सल्टेन्सीका डाइरेक्टर धर्म दाइले भन्नुभयो।

अर्को दिन झोलामा सामान प्याक गरेर ललितपुरको ज्वागलस्थित अफिसमा गई साइटका लागि आवश्यक कागजात र पेश्की रकम लिई काठमाडौ नयाँ बसपार्कबाट नेपालगन्जसम्मको लागि टिकट काटेँ। साझ ५ बजे छुटेको गाडी नेपालगन्ज पुग्दा भोलिपल्ट बिहानको ७ बजेको थियो।

नेपालगन्ज बसपार्कमा ओर्लेर जाजरकोट सदरमुकाम खलंगासम्मको टिकट लिएँ। गाडी साझँ ६ बजे बसपार्कबाट छुट्छ भन्ने थाहा पाएपछि नजिकै एउटा होटलमा गएर खाना खाएँ। धर्म दाइलाई कल गरेर आफ्नो जानकारी दिउँ भन्ने लाग्यो। गोजीबाट मोबाइल झिक्न खोज्दा गोजी रित्तो थियो...

म झस्किएँ।

सम्झेँ... मोबाइलमा चार्ज सक्किएकाले लमही छेउतिर आइपुग्दा चार्जमा राखेको थिएँ, ओर्लिदा झिक्नै बिर्सिएछु।

हत्तपत्त आफ्नो नम्बरमा फोन हानेँ। फोन उठ्यो, सिटको छेउमा बसेको दाइसँग रहेछ।

'मान्म जान लाग्या, कोहलपुर बसपार्कमा छु। यतै आएर फोन गर्नुस्, हजुरलाई भेटेर मोबाइल दिन्छु' मोबाइल फिर्ता गरिदिने आश्वासन पाएँ।

दुनियाँमा इमानदार मानिसहरु भेट्न कहाँ सहज छ र? हतार गर्दै बाइकमा लिफ्ट मागेर १५ मिनेटमै बोलाइएको ठाउँमा पुगेँ। पुगेर कल गर्दा मोबाईल अफ गरिएको थियो।

मलाई फोन गर्न आफ्नो मोबाइल दिनु भएकी दिदीले भन्दै हुनुहुन्थ्यो, 'मोबाइल पनि अफ गरिसकेछ, तपाईलाई दुख मात्र दियो। कहाँ पुगिसक्यो होला, नियतवश छल्ने त्यस्ता मान्छेलाई भेटिन्न भाइ।'

त्यता कतै भेटिन्छ कि भनेर यताउती खोजेँ, सो व्यक्तिलाई फेला पार्न सकिनँ। कालिकोट मान्मको लागि टिकट बुकिङ काउन्टरमा गएर बुझ्दा एउटा गाडी छुटेको आधा घन्टाभन्दा बढी भैसकेको र अर्को गाडी एक घन्टापछि छुट्ने जानकारी पाएँ। अब मोबाइल फिर्ता हुने आशा समाप्त भयो।

पुनः नेपालगन्ज फर्केर प्रहरी चौकिमा आइएमईआई कोड सहित रिपोर्ट गरेँ।

'दिनहुँ यसरी मोबाइल हराएका रिपोर्ट त कति आउँछ, आउँछ। भेटाउने आश नगरे हुन्छ सर' त्यहाँ कार्यरत एक जना कार्यलय सहयोगीले भन्दै थिए।

नयाँ मोबाइल थियो, अनि केही महत्त्वपूर्ण डकुमेन्टहरु त्यसमा रहेकाले भेटिहालिएला कि भन्ने झिनो अभिलाषाले रिपोर्ट नगरी जान मनले मानेन।

अब मोबाइलमा रहेको नम्बरको नयाँ सिमकार्ड झिक्नु पर्ने भयो। पुष्पलाल चौकको एउटा साइबरमा छिरी आफूले मेल गरेको नागरिकताको सफ्ट कपिलाई प्रिन्ट गरेँ। दुईटा पासपोर्ट साइज फोटो पर्समा आफैसँग थियो। सदर लाइनमा रहेको नेपाल टेलिकमको अफिसमा गई आवश्यक प्रक्रिया पूरा गरेर हराएको नम्बरको नयाँ सिम झिकेँ।

त्यो दिन हराएको मोबाइलको दौडधुपमै बित्यो, पुन: बसपार्क फर्किएँ। रु. १५ सयमा एउटा सामान्य किप्याड वाला मोबाइल किनेर काठमाडौँ अफिसमा फोन गरि आफ्नो अवस्था बारे बताएँ। केही समय भएनि थकानलाई मेटाउन खलंगा जाने बस चढेँ। निदाएछु। निन्द्रा खुल्दा साँझको सवा ६ बजिसकेको रहेछ, गाडी बसपार्कबाट छुट्ने तरखरमा थियो।

म बसेको सिटको साइडमा एक जना दिदी हुनुहुन्थ्यो। सामान्य कुराकानी भयो, उहाँको गन्तव्य पनि खलंगा बजारसम्मको रहेछ। बजारमा किराना पसल रहेको र त्यसको लागि आवश्यक सामानहरु रुपडियाबाट किनेर फर्किनु भएको रहेछ।

आफू जाने गाउँको स्पष्ट रुट थाहा नभएकोले उहाँबाट जानकारी मागेँ।

'भाइ मलाई पनि अर्छानीसम्म पुग्ने बाटो त थाहा छैन, तर सदरमुकामबाट ढिमेसम्म गाडी जान्छ। अनि त्यहाँबाट ४/५ घन्टा जति हिडेपछी तपाईंले भनेको ठाउँ पुगिन्छ। आफु' नगएपनी यतिसम्म जानकारी छ मलाई।'

बाटोमा हिड्दा खानको लागि आफूलाई मन पर्ने एक किलो दशहरी आँप किनेँ। सबै यात्रुहरुले भरिएपछि गाडी बसपार्कबाट छुट्यो। खाना खान छिन्चु बजारमा रोकिएको गाडी बिहान करिब साढे तीन बजेनै खलंगा बसपार्क पुगेको थियो।

केहिबेर त्यहीँ प्रतिक्षालयमा आराम गरेँ। दुई रातको यात्रा र दिनभरीको दौडधुपले शरीर शिथिल थियो। अर्धनिन्द्राबाट बिउँझिदा ५ बजिसकेको रहेछ। बजारका होटलहरु खुल्ने क्रममा थिए।

ढिमे जाने गाडीको स्टप नजिकैको होटलमा गएर चिया पिएँ। बसमा भएकी दिदीले भने जस्तै होटलको मान्छेले ढिमेसम्म मात्र यो बोलेरो जाने र त्यसपछी अर्छानी पुग्न बाटुली हुँदै करिब ५ घन्टाजति हिड्नु पर्ने कुरा बताए।

पैसा तिरेर सिट बुक गरेँ। ७ बजेतिर गाडी हिड्यो।

बर्खा यामको यात्रा जोखिमपूर्ण त छदै थियो, बाटो अफ्ट्यारो थियो। त्यसमाथि ९ जनाको सिट क्षमता भएको गाडिमा १४ जना राखिएको थियो।

बाटोमा साना-साना पहिरोलाई छिचोल्दै भएपनि सुरक्षित तवरले करिब ११ बजेतिर ढिमे पुग्यौँ।

गाडीमा साथै आएका एकै परिवारका दुई दाजुभाइ र एउटा सानो बालकसँग परिचय भयो। खाना पाइने खालका होटलहरु थिएनन्, चाउचाउ र अन्डा बनाउन लगायौँ।

बाटुलीसम्मको यात्राका लागि सहयात्रीहरु पाएँ। बाटुलीबाट उनीहरु जाने गाउँ र म जाने गाउँ छुट्टिने रहेछ।

नदीको किनारामै अवस्थित बाटुली, गाउँको सानो बजार रहेछ। साइटमा खिचिएका फोटोहरुलाई सुरक्षित राख्नको लागि बजारबाट मेमोरी कार्ड किनेँ। 

नयाँ ठाउँ, नौलो परिवेश, झोलुङ्गे पुलबाट नदी तरेर नितान्त एक्लो यात्रा तय गर्दै थिएँ। बाटो सुनसान थियो, ठाँउठाँउमा पहिरो गएको थियो।

देब्रे छेउतर्फ नदी र दाहिनेतर्फ घना-जङ्गलयुक्त भीर थियो। १५/२० मिनेट जति हिडेपछी फाट्टफुट्ट बटुवाहरु भेटिन्थे। कतै आलो पहिरो खसेको ठाउँबाट ढुङ्गा माटो खस्दै हुन्थे। प्रकृतिलाई भोग गर्दै केही जोखिम मोल्दै तय गरेको एक्लो यात्राको मज्जा छुट्टै थियो।

बाटोमा एक्कासी ठूलो झरी पर्यो। छाता ओढेर यात्रालाई निरन्तरता दिईरहेको म खहरेमा बढेको पानीले गर्दा रोकिँएको थिएँ। पानी रोकिएला र अघि बढौँला भनेपनि तत्काल रोक्किने छाँटकाँट थिएन। कोही आउला र उसको सहायताले खोल्सो पार गरुलाँ सोचेर बसिरहेको थिएँ। करिब २० मिनेट कुरेपछि आएका एक जना बटुवाको हात समाउदै लठ्ठी टेकेर ब्यालेन्स मिलाउदै खहरे पार गर्यौँ।

'यहाँ काठको मुढाको तर्ने राखिएको थियो, बगाएछ,' बटुवा दाइको यो कुराले आजको पानी कति विनाशकारी रहेछ भन्ने प्रष्ट हुन्थ्यो।

उनीसँग परिचय र छोटो कुरा भयो।

'लौ त ईन्जिनियर साब! अब म दाहिनेतर्फ लाग्छु, हजुर यो बाटो नछोडी जानुस्, केही बेरमै वस्ती देखिन्छ। धेरै समय लाग्दैन, बाटोमा मान्छेहरु पनि भेटिन्छन, कसैले हजुरलाई सचिव ज्युको घरसम्मै पुर्याउछ। उहाँकै घरमा छ जलविद्युत उपभोक्ता समितिको सम्पर्क अफिस पनि।'

सहयोगको लागि कृतज्ञता व्यक्त गरि बिदाइको हात हल्लाउँदै उनीबाट छुट्टिएँ।

अस्ताउने तयारीमा रहेको सूर्यको प्रत्यक्ष किरणले गर्मी बढाएको थियो।

अगाडिदेखिनै बाटोमा एउटा कुरा ख्याल गरिरहेको थिएँ। गोरेटो किनाराका ढुंगाहरुमा विभिन्न कुराहरु कोरिएका थिए। थकान मेटाउन एउटा फराकिलो ढुंगामा बस्दा एक्कासी त्यहाँ खोपिएका शब्दहरुमा आखा पुगे।

'कस्तो रहर, कस्तो माया मनभित्रको तरेलीमा

सिङ्गै तिमीलाई सजाईदिँउ कि यी आखाका परेलीमा'

त्यसको तल लेखिएको थियो- एस प्लस एस।

ओहो! कति मिठो सेर। पक्कै पनि ती दुईटा एसहरुले मायालु जोडीहरुलाई दर्शाएको हुनुपर्छ।

थकान मेटाउदै गर्दा सोही गाउँतर्फ जाँदै गरेका एक व्यक्ति भेटिए। संयोगवश उनी जलविद्युत आयोजना उपभोक्ता समितिको सदस्य पनि रहेछन्।

'अब २०/२५ मिनेटमै पुगिन्छ सर। सचिव ज्यु पनि घरमै हुनुहुन्छ होला। जाउँ सर विस्तारै, एकैछिन त हो।'

एकातर्फ लामो यात्राको गन्तव्य नजिक पुग्दै थिएँ भने अर्कोतर्फ हरेक ढुङ्गाहरुमा लिखित प्रेममय रचनाहरुले बेग्लै उमंग र उर्जा थपेका थिए। मन झनै प्रफुल्लित भयो।

ट्रकको पछाडि लेखिएका मार्मिक ट्रक साहित्य जस्तै बाटोभरी प्रेमिल भावहरु ढुङ्गाहरुमा कोरिएका थिए। हो, सुन्दर प्रकृतिको बीचमा चट्टान साहित्य चित्रित भएको थियो।

ढुङ्गामा लेखिएका सेरहरुको प्रशंसा र त्यसप्रति कौतुहलता व्यक्त गरेँ।

त्यहाँ लेखिएको एउटा एस समीर र अर्को एस सुहाना हुन्। सर, विचराको के कुरा गर्नु? हरेक चट्टानहरुमा मनोभाव व्यक्त गर्दथ्यो। सुहानामा समर्पित कविताहरु कुद्ने गर्थ्यो। यो बाटैभरी देखिने हरेक सेरहरु, हरेक लाइनहरु, हरेक लेखाईहरु सम्पूर्ण सुहानामै समर्पित हुन्। समीरको प्रेमलाई सबैले स्यालुट गरेका छन् सर।

यत्तिकैमा एउटा ढुङ्गामा ध्यान गयो, रातो मसिले लेखिएको थियो-

'हरेक दिन अनि हरेक रात,

किन आउँछ मलाई तिम्रै याद,

सपनीमै भएपनि कति न्यानो तिम्रो साथ।'

हृदयस्पर्शी शब्दहरुले झनै भावुक बनायो।

'मलाई निदाउन मात्रै मन छ प्रिय,

त्यो मीठो सपनीलाई भङ्ग गरेर,

विपनीमा कहिलै अवतरित हुन चाहन्न।

समीरले सुहानालाई अत्यन्तै मन पराउदो रहेछ भन्ने जो-कोहीलाई लाग्थ्यो यी लेखनहरु नियाल्दै गर्दा। तर धोकाले हो या कुनै बाध्यताले सुहाना अब केवल उसको लागि मिठो सपना मात्र भएकी छे झै लाग्दथ्यो।

बाटोमा भएका चट्टानहरुमा कुदिँएका हरेक साहित्यिक टुक्राहरुलाई क्यामेरामा कैद गर्न मन भएपनि त्यस्तो मोबाइल साथमा थिएन। समीरद्वारा लिखित उसको भावना अझ भनौँ चट्टान साहित्यलाई राम्रोसँग पढेर हृदयमा कैद गर्दै थिएँ।

'सुहानालाई यति धेरै माया गर्ने समीर कहाँ छन त? अनि सुहाना कहाँ छिन?' मलाई कौतुहलता जाग्यो।

'सर! खै के भन्नु? लैला मजनु जस्तै... मुदा मदन जस्तै... अनि रोमियो जुलियट जस्तै... इतिहासमा फेरि अर्को एउटा प्रेमकथा थपिएको रहेछ भनेर बुझ्नुस् समीर र सुहानाको कथा...।

हो सर, निश्चल प्रेमको कथा, वियोगको कथा, बिछोडको कथा, एउटा दुखान्त कथा।

सम्पूर्ण कुराहरु थाहा पाउने उत्सुकता बढेर आयो।

'सर! सुहाना र समीरबीचको प्रेम कञ्चन थियो, निस्वार्थ थियो। एक आपसमा समर्पित उनीहरु जिवनभरसँगै यसैगरी एकअर्काको साहारा बन्न चाहन्थे, तर सम्भावना भने जिर्ण थियो। हुनत प्रेममा मात्र प्रेम हुन्छ भन्छन्, धेरै कुराहरु नमिल्ने भएनि मन भने एकदमै मिलेको थियो।

सुहाना सम्पन्न परिवारकी केटी थिई। उनको बुबा जाजरकोटकै एक प्रतिष्ठित नेता थिए। शैलेन्द्र सिंह ठकुरीलाई नचिन्ने कोही छैनन यहाँ। पहिला ठेक्कापट्टा गर्थे, यो लघु जलविद्युतको सामान ठुवानीको ठेक्का पनि उनकै थियो। पछि दोस्रो संविधान सभाको निर्वाचनमा टिकट पाएर सांसद पदमा बिजयी पनि भए। 

तर समीर एक सामान्य गरिब किसानको छोरो थियो। उसको बुवा श्रम गर्न भारत जान्थे भने आमा घरमै खेती किसानी गर्थिन। उनीहरुको जात पनि मिल्दैनथ्यो, सुहाना ठकुरी परिवारकी एक्ली छोरी अनि समीर, मगरको छोरो।

१० कक्षासम्म उनीहरु गाउँकै स्कुलमा सँगै पढे। सुहानाको घर खलंगामा पनि थियो तर एसएलसी पूर्ख्यौली घरमै बसेर दिइन्। सानैदेखि एउटै स्कुलमा पढेकाले एकदमै मिल्थे।

किशोरावस्था सुरु भएसँगै उनीहरुको सामिप्यताले प्रेमी प्रेमिकाको रुप लिदै थियो। १० कक्षामा पढ्दैगर्दा गाउँभरी उनीहरुकै चर्चा चल्न थाल्यो। धेरैले कुरा काट्थे, अनि निकै थोरैले मात्र उनीहरुको फुल्दै गरेको मायाको तारिफ गर्थे।

गाउँभरी नराम्रो हल्ला फैलिन थालेपछी शैलेन्द्र आफ्नो सम्पूर्ण परिवार सहित खलंगाको घरमा बस्न थालेका थिए। बेलाबेलामा पार्टीको कुनै काममा अथवा आफ्नो अन्य काम पर्दा एक्लै गाउँ आउने गर्थे।

गाउँबाट बसाई सरेपछी सुहाना र समीरको सम्पर्क धेरै पातलिएको थियो। कहिलेकाहीँ बल्लतल्ल समय मिलाएर उ सदरमुकाम गई लुकिछिपी सुहानालाई भेट्ने गर्थ्यो।'

'अनि त्यसपछी के भयो त?'

सुहानाले प्लस टु साइन्स लिएर खलंगाको स्कुलबाट गरी। आर्थिक अवस्थाको कारणले समीर गाउँकै स्कुलमा एजुकेशन लिएर पढ्यो। सुहाना अहिले काठमाडौमा एमबिबिएस पढ्दैछिन् भन्ने सुन्या हो, अरु उनीबारे केही था छैन।

'अनि समीर नि? के गर्दैछन्?'

'समीर यो सन्सारमा छैन सर, बिदा भैसक्यो, कहिलै नफर्किने गरि।'

मन खिन्न भयो।

उनी भन्दै थिए,

'मानिसहरुको आफ्नो आफ्नो विश्लेषण छ सर, कसैले भन्छन जाबो एउटी केटीको लागि मर्यो, कसैले भन्छन\ सन्सारनै उसैको प्रेममा समर्पित गरेर मर्यो, आफ्नो प्रेमको बलिदानी दियो, प्रेमका खातिर मर्यो।'

सुहाना काठमाडौँ पढ्न गएपछि उनीहरुबीचको दुरी झन् टाढा भयो। समीर जतिबेलै उसलाई सम्झेर टोलाउने गर्थ्यो। पहिले यिनै ढुङ्गाहरुमा मिलनका भावनाहरु कोर्ने उ त्यसपछि बिछोड र वियोगका वेदनाहरु भर्ने गर्दथ्यो। साँच्चै उ साहित्य  सृजनामा प्रखर थियो। शब्दहरुका संयोजनबाट घतलाग्दो भावना प्रस्तुत गर्दथ्यो।

यो भीरको अलि मास्तिरपट्टि एउटा सानो समथर फाँटमा एउटा टोल छ। समीरको र जलविद्युतका सचीव लोकेन्द्र ज्युको घर त्यही टोलमा पर्दछ। यो डरलाग्दो भीरलाई आजकल सबैले समीरे भीर भन्छन्। यहि भीरबाट हामफाली समीरले आफ्नो देह त्याग गरेको थियो सर।

समीर बिदा भएको पनि एक वर्ष पुग्नै लाग्यो। यो भीरमा एक्लै जान डराउँछन मान्छेहरु, समीरको आत्मा यहीँ भड्किरहेछ, तर्साउछ भन्छन सबै।

सचिब लोकेन्द्रको घरमा पुग्दा साँझको ६ बजेको थियो। कोठाबाट गाजाको धुवाँको गन्ध आईरहेको थियो। धुवाँ तान्नमा व्यस्त लोकेन्द्र सहित ४ जना मानिसहरु मेरो उपस्थितिले तर्सिए जस्ता देखिन्थे।

लोकेन्द्रले अप्ठ्यारो मान्दै भने,

'सर हामी त व्यस्त छौँ शिव अत्तर तान्नमा। हजुर एक्कासी आउनु भयो, साह्रै लज्जा बोध भयो।' 

सबैसँग घुलमिल हुन सक्ने सहज बानी थियो, आफूलाई पनि थकान मेटाउने औषधि पाए जस्तो भयो। उनीहरु निकै हर्षित थिए जब म स्वयम् अत्तर तान्ने काममा सहभागी भएँ।

'ईन्जिनियर साहेब आउनुभएको छ। स्वागत छ हजुरलाई यो गाउँमा। वर्षौदेखि थन्किएको काम सुचारु हुने भो। आशावादी छौँ हाम्रो गाउँमा अब चै बिजुली पक्कै आउँछ', सचिव खुशी प्रकट गर्दै थिए।

अत्तरको धुवाँले थकाई त मेट्दै थियो तर समीरको कथाले मनलाई निराश बनाएको थियो।

'खास के कारणले समीरले त्यस्तो गर्यो होला? उसले किन जीउने हिम्मत हारेको होला?' प्रश्नहरु मनमा खेलिरहेका थिए।

आज साँझ परिसकेकोले भोलिपल्ट बिहानै हाइड्रोपावरको साइट र उपलब्ध सामानहरु अनुगमन गर्ने कुरा भयो।

'सर! हजुर त साह्रै मिजासिलो मान्छे। सबैसँग जता पनि फिट हुन सक्ने।'

टिमुर मिसाएर बनाइएको लोकल भालेको मासुसँगै सिग्नेचरको चुस्की लिदै लोकेन्द्रले मेरो सत्कारमा प्रगाढता थपेका थिए।

'बेलाबेलामा गाउँमा प्राविधिकहरु आँउदा काम लाग्छ भनेर सदरमुकामबाट सिग्नेचर किनेर राख्ने गर्छु सर। हामीले जस्तो हजुरहरुलाई यहाँको लोकल ठर्रा खान गाह्रो हुन्छ नि त।'

सोमरसको नशा चढ्दो थियो।

समीरले किन त्यस्तो गर्यो होला? भित्रैबाट मलाई जान्न मन भएकोले समीरको प्रेमको प्रसङ्ग निकालेँ।

'ह्या सर! छोड्दिनुस त्यस्ता नामर्दको कुरा। एउटा केटीको लागि मरेर प्रेत बनी तर्साईरहेछ सबैलाई। केटीको नाममा आफ्ना बाबुआमालाई धोका दियो। एक्लो छोरो, सम्पूर्ण आशा भरोसा मारेर गयो। बल्लबल्ल पाएको जुनि छोडेर गयो।'

बेलुकी खाना खाईसकेर विस्तारामा पल्टिए पनि त्यही कुराको छट्पटीले निदाउन सकेको थिइनँ।

'ईन्जिनियर सर! कसैले मलाई जाबो एउटी केटीको लागि यतिसम्म गर्यो भन्छन् होला, कसैले प्रेमको वियोगलाई सहन सकेन भन्छन् होला। कसैले केटीनै धोखेबाज रैछे, विचराले धोकालाई आत्मसात गर्न सकेन भन्छन् होला। जसले जे भनुन्, तर वास्तविकता मैले आत्महत्या गरेको होइन। मेरो भाग्यमै त्यति मात्र जिउन लेखेको रहेछ। 

१० कक्षा पढ्दासम्म हामी कति खुशी थियौं। त्यसपछी उनी खलंगामा बसेर उतै पढ्न थालेपनी हाम्रो कलिलो प्रेमको मुना बढ्नबाट रोकिएको थिएन। पहिला जस्तो सम्पर्क हुदैन थियो। तर हाम्रो प्रेम त्यति कमजोर पनि थिएन कि भौतिक दुरीले मेटाउन सकोस। कति रात रुदै फोन गर्थी उ। उनको र मेरो न त पारिवारिक हैसियत नै मिल्थ्यो न त जात नै। तर प्रेम भनेको विशुद्ध प्रेम नै हो, न त यहाँ कुनै स्वार्थ हेरिन्छ न त कुनै बराबरी हैसियत।

उनलाई म कविता कोरेर सुनाउथेँ, उ खुशी हुन्थी। उनकै सम्झनामा, उनकै मायामा कति हो कति भावनाहरु कोरेको छु हजुरले पनि देख्नु भयो होला। जे-जस्तो परिस्थिति आएपनी हाम्रो प्रेमलाई  जिवनभरीको लागि सार्थक बनाएरै छाड्छु भन्ने हिम्मत थियो ममा।

काठमाडौं गएर एमबिबिएस इन्ट्रान्सको तयारी गर्दै थिई उ। उनको पनि आफ्नै लक्ष्य थियो डाक्टर बन्ने, अनि त्यो लक्ष्य प्राप्तिको लागि उत्तिकै व्यस्तता पनि। तर गरिब भएर जन्मिनु पनि अभिसाप रहेछ, मेरो जिवनको लक्ष्य गरिबीको जेलमा आजिवन कैदी भएको थियो, कहिलै छुट्कारा नपाउने गरि।

सुहानाका हरेक खुशीमा आफ्नो खुशी देख्थेँ म। उनको परिवारले मलाई जे भनुन बश उनीले मलाई माया गर्दिए पुग्थ्यो। फोन मार्फत हाम्रो सम्पर्क कायमै थियो। उ सकेसम्म फुर्सद मिलाएर फोन गर्ने गर्थी, म उसकै फोनको प्रतीक्षामा हुन्थे।

एक दिन अचानक उसले नयाँ नम्बरबाट रुदै फोन गरि,

'समीर! तिमीसँग म फोनमा बोल्छु भन्ने कुरा बाबाले थाहा पाउनु भयो। मलाई एकदमै नराम्रोँसग गाली गर्नु भयो। फोन खोसेर राखिदिनु भएको छ। डाक्टर बन्न मन छ भने आइन्दादेखि त्यसलाई कुनै पनि तरिकाले सम्पर्क नगर, होइन भने पढाइसढाई सबै छोडेर तै नाठोसँग जा भन्नुभयो।

तिमीनै भन अब म के गरुँ? मैले केही सोच्नै सकिरा छैन, के गर्ने के नगर्ने।'

उनको कुराले म निशब्द भएँ, केही बोल्नै सकिनँ। उसले मेरो जवाफ खोजेकी थिई... म केही बोलिन। फोन राखिसकेपछी त्यही नम्बरबाट  म्यासेज आयो,

'मलाई माफ गरिदेउ समीर।'

हाम्रो प्रेमको अन्तिम निशानी यहि म्यासेज छोडेकी थिई। त्यसपछिका दिनहरु कसरी बिते म सम्झन चाहन्न। मलाई सबैले एकोहोरिएको छस् भन्थे। उनलाई मैले सम्पर्क गर्ने लाखौं कोशिस गरेँ, फेसबुक एकाउन्ट खोलेर खोजे भेटिनँ। न त उसले मलाई सम्पर्क गर्न आवश्यक नै ठानी।

गाईवस्तु हेर्न जाँदा, मेलापात गर्न जाँदा उसकै यादमा टोलाउथेँ। २०७२ साल भदौ २१ गते...

भीरको छेउमा रहेको ढुङ्गामा बसेर सुहानाकै यादमा टोलाई रहेको थिएँ। त्यो कहालीलाग्दो भीरबाट अकस्मात् लड्न पुगेँ। होसमा आउदा म भगवानको प्रिय भैसकेको थिएँ।

एउटा ठूलो ढुङ्गामा बजारिएको रक्ताम्य लाशलाई आफैले नियाली रहेको थिएँ। मेरो परिवार र गाउँलेहरुको शोकाकुल भीड त्यही लाशको वरिपरि थियो।

म त्यति कायर पनि होइन, प्रेमको बिछोडलाई सहन नसकेर आफैलाई तिलान्जली दिने। मलाई अझै बाच्ने मन थियो, अझै उसैगरी सुहानालाई प्रेम गर्ने मन थियो। तर त्यतिसम्मै बाच्न लेखेको रहेछ।

सबैले मेरा प्रताडित दिनचर्यालाई नियालेका थिए, सुहानासँगको वियोगमा बिताएका पलहरुलाई देखेका थिए, त्यसैले विधाताको विधिलाई पनि आत्महत्याको संज्ञा दिए। 

मिलन मात्रै होइन बिछोड पनि रहेछ प्रेम। प्रतीक्षाको फल मीठो हुन्छ भन्छन्। यो जुनिको बिछोड अर्को जुनिमा मिलनको फल बनेर अवश्य फल्ने छ। त्यसैले प्रेमको वास्तविक मिठास त बिछोडमै रहेछ सर।

सक्नुहुन्छ भने सुहानालाई चट्टानमा कुदिएका कुराहरु समीरको कोशेली स्वरुप पुर्याईदिनु होला। हवस् त सर, म जान्छु अब।'

म तर्सिएँ।

संसार छोडिसकेको समीर मेरो छट्पटी मेटाउन सपनीमा आएको थियो। मध्यरातको साढे १२ बजेको रहेछ। मदिराको नशा ज्यादा भएकोले होला पिसाबले एकदमै च्यापेको थियो, डराई-डराई पिसाब फेर्न निस्किँए। जुनेली रात... आँगनबाट स्पष्टै देखिएको थियो नजिकैको समीरे भीर।

बिहान उठेर आफूले पूरा गर्नुपर्ने सम्पुर्ण प्राविधिक कामहरु सकेँ। लोकेन्द्रको मोबाइलबाट खिचिएका साइटका आवश्यक तस्बिरहरु र समीरका चट्टान साहित्यलाई आफूसँग भएको मेमोरी कार्डमा कपि गरेँ।

सबैसँग बिदाई मागी फर्कने क्रममा समीरे भीरको फेदैमा आईपुग्दा राति देखेको सपनीको झझल्को आयो। त्यहाँ रहेको ठूलो ढुङ्गामा सुहानाको सुन्दर तस्बिर सहित समीरको भावना कुदिँएको थियो,

'स्मृतिमा आउँछौ तिमी हृदयको नशा बनी

मेटाउन गाह्रो भाछ लाको माया अझै पनि।'

यो त्यही ढुङ्गा थियो, जहाँ भीरबाट खसेर रक्ताम्य भएको समीरको शरीरले अन्तिम साँस छोडेको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १५:५०
सिफारिस
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
'चाहेर पनि कर्जा तिर्न नसकेका ऋणीलाई बैंकले जोगाउनुपर्छ'
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
हिमालको कथा सुनाउने २४ वर्षीया टासी ल्हाजोम
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
कोरोनाको संकटबीच आइएमईले सुरू गरेका दुइटा उद्योग, दुवैले सुरू गरे उत्पादन
कोरोनाको संकटबीच आइएमईले सुरू गरेका दुइटा उद्योग, दुवैले सुरू गरे उत्पादन
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म के चाहन्छु?
'मानस'बाट मानसी बनेको यात्रा!
उसले निर्माण गरेका ती सुन्दर सहरहरू...
स्मृतिले बिहे गरिछे यार!
अभिषाको पुनर्जन्म!
म त बुद्दु रहेछु!

विचार

विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल
तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह
गोकर्णप्रसाद उपाध्याय
जब छोराका तीखा शब्दवाण बुबाको मुटुमा गाडिन्छन्! गोकर्णप्रसाद उपाध्याय
डा. मुकेशराज काफ्ले
१३ वर्षको रस्साकस्सीपछि यसरी सम्भव भएको थियो 'सिन्धु जल सम्झौता' डा. मुकेशराज काफ्ले

ब्लग

क्षितिज पोखरेल
के तपाईं अब नेपाल नफर्किने? क्षितिज पोखरेल
डा. विकास पौडेल
एसएलसीमा फेल भएको म कसरी डाक्टर भएँ? डा. विकास पौडेल
खेम गैह्रे
आफ्नो छोरो दुष्ट, ज्वाइँ भने देवता! खेम गैह्रे
आमोद खतिवडा
असार १५ देखि मङ्सिर १५ सम्म अनि खेतदेखि डस्टबिनसम्म! आमोद खतिवडा

साहित्यपाटी

युवराज आचार्य
म के चाहन्छु? युवराज आचार्य
सरिष्मा रिमाल
'मानस'बाट मानसी बनेको यात्रा! सरिष्मा रिमाल
ध्रुव गौतम
उसले निर्माण गरेका ती सुन्दर सहरहरू... ध्रुव गौतम
चन्द्र भण्डारी
स्मृतिले बिहे गरिछे यार! चन्द्र भण्डारी

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP