नवराज विश्वकर्मा
म दलित
म गरिब
मालिक
मलाई नमार्नुस्
म मेरी सखाको फोक्सोमा सास भर्न आको हुँ
म मेरी सखाको धड्कनमा धड्कन मिसाउन आको हुँ
म मेरी सखाको अनुहारलाई घुम्टोमा सजाउन आको हुँ
मालिक
मलाई कात्रोमा नराख्नुस् ।
ऐंया ! मालिक
मलाई यसरी हँसियाले नहान्नुहोस्
मेरो शरीरमा यति बिघ्न ढुंगा नबर्साउनुहोस्
मलाई यो बाटोमा किन यसरी घिसारी रहनु हुन्छ ?
मालिक म यहाँ मर्न आएको होइन
म त मेरी सखाले बोलाएर आको हुँ ।
प्रिय सखा !
जब मैले तिम्रो सिउँदो भर्ने दिन आयो
ठीक त्यति नै बेला तिम्रा आफन्तीले मेरो शिरमा चिर्पट बजारे
जुन दिन मैले तिमीलाई तिम्रो घाँटीमा तिलहरी झुन्ड्याउनु थियो
त्यही दिन तिम्रा आफन्तीले मेरो घाँटीको सास झुन्ड्याइदिए
जुन दिन तिम्रा आफन्तीले तिम्रा पाउ पानीमा डुबाउनु पर्थ्यो
त्यही दिन तिम्रा आफन्तीले मलाई भेरीमा डुबाइदिए
म सदाको लागि ज्यूँदो भएको छु
तिमी सदाको लागि नमर ल !
प्रिय सखा !
आजभोलि चोक चौतारीमा मेरै कुरा गर्छन् होला
बहस चल्दो हो, हत्या कस्को भयो?
भन्छन् होला
कसैले प्रेमको भयो
कसैले दलितको भयो
त्यति नै बेला तिमीले भन्नू
यहाँ हत्या मान्छे र मानवताको पनि भयो
नत्र फेरि मलाई यो समाजले मान्छे नै भन्दैन
झन् मानवता कहाँ देख्ला
म मान्छे नभए पनि
अरुलाई मान्छे बनाऊ ल !
अनि
सोध्नू ती सबै सबै गाउँलेलाई
भेरीले के बगायो?
प्रेम
जात
लास
मानव
मानवता
सपना
समाज
राजनीति
कि सबै बगायो?
तर, अब
न्याय नबगाओस् !
अब फेरि अरु नवराजहरू
अनाहकमै नमारिऊन् ।