उमेरले तीस मज्जैले काटिसकेको काजीलाई बिहे गर्नु थियो, अलि चाँडै नै। ३–४ वर्ष अघिबाट बा-आमा ताते पनि काजीलाई भने बल्ल तातो लागेको छ। अब भने बा-आमाले चाहेजस्तै 'बिँड हैन ताप्केको पीँध तातेको छ।'
'कसैको प्रस्ताव केही भए भन्नु के रे!' काजी बा-आमालाई केही दमित स्वरमा आह्वान गर्छ। कारण आफूमा अग्रगामी सोच हावी रहेको सोच्ने काजी यस अघिसम्म 'प्रेम सम्बन्धलाई विवाहको रूप दिन सक्नु' मा प्रगतिशीलता देख्ने गर्थ्यो। त्यही अभीप्सा पूरा गर्न विगत ३–४ वर्षदेखि लागिपरेको थियो, जसको अधिकतर हिस्सा उसले प्रेममिलाप (डेटिङ) एप्समा खर्चियो।
आधुनिक जमानाको अविवाहित वयस्क भएकाले 'बाबुको लब सब त केही छैन नि' भन्ने प्रश्न बारम्बार तेर्सिन्थे। उक्त प्रश्नको जवाफ ऊ सधैँ हड्बडाएर नै दिने गर्थ्यो। 'छैन', रुग्ण स्वरमा काजी जवाफ दिन्थ्यो।
छैन भन्ने जवाफमा काजीको नैराश्यता लुकेको हुन्थ्यो भने सुन्ने कसैले त्यसमा नामर्दपना पनि देख्छन् की भन्ने चिन्ताले काजीलाई सताइरहन्थ्यो। 'ओहो गर्लफ्रेन्ड नै छैन र?' प्रेमविवाह गरेका दाजुहरूको यो जिज्ञासा होकी हेपाइ, काजीलाई ठम्याउन मुस्किल पर्थ्यो।
'एक जना प्रेमिका छिन्, बिहे उनैसँग गर्ने हो' भन्ने जवाफ दिन काजी निकै लालयित थियो। त्यत्रो लाठे भइसक्दा पनि कुनै केटीलाई मन नपराएको भन्ने थिएन। जुँगाका रेखि बस्नुपूर्वदेखि नै स्कूलमा ऊसँगै पढ्ने तथा आफूभन्दा तल्लो कक्षाका नानीहरूलाई कर्के नजरले हेर्ने गर्थ्यो।
तर 'असल विद्यार्थी प्रेमसम्बन्धको लफडामा पर्नु हुन्न' भन्ने समकालीन बुझाइका कारण आफ्नो मनमा सिर्जित आँधीबेहरी अनि उम्रिएका प्रेमका टुसाको वर्णन खुलेर गर्न सक्दैनथ्यो। यसरी एकतर्फी स्कुले प्रेमका टुसा सधैँजसो त्यसै ओइलाएर गए। क्याम्पस पढ्दा भने अलि खुलेर बोल्ने स्वभावको त भयो तर पनि बक्र शैलीमा पेश गरेका उसका प्रेम सम्बन्धका प्रस्तावले 'ह्या कति जोक गरेको के!' भन्ने टिप्पणी मात्र पाउँथ्यो।
'कृष्ण जीलाई त मान्नै पर्छ बा! मुरली बजाएरै सोह्र सय गोपिनी पट्याए', द्वापरकालीन भगवान श्रीकृष्णलाई सम्मान भावका साथ सम्झन्छ। काजी भने त्यसको आधुनिक शैलीमा खरो उत्रन सकेको थिएन। त्यसैले काजी प्रेममिलाप (डेटिङ) एप्सको शरणमा आइपुग्छ।
छोटो समयमा धेरै जनासँग कुरा गर्न पाइने विशेषताले विवाहसम्मको मार्गचित्र कोर्न ती एप्सको सहायता चाहिएको थियो काजीलाई। काजी ती एप्समा आफ्ना वास्तविक तस्बिर राख्ने गर्थ्यो। कहीँ घुम्न गयो की त सयौँका संख्यामा तस्बिरहरू खिच्थ्यो।
ऊ गहुँगोरो वर्णको थियो, तर त्यति बिघ्न 'ह्यान्डसम' थिएन। खिचिएका तस्बिरमा भने ऊ वास्तविकताभन्दा निकै नै 'ह्यान्डसम' देखिन्थ्यो। ती खिचिएका तस्बिर मध्येबाट केलाइ केलाइ उसलाई उत्कृष्ट लागेका तस्बिर ती एप्सका आफ्ना प्रोफाइलमा राख्ने गर्थ्यो।
त्यस्ता एप्समा प्रशस्तै यस्ता प्रोफाइल हुन्थे जसमा प्रयोगकलर्ताले नायक नायिका तथा मोडलका तस्बिर राख्ने गर्थे। तर काजी त्यस्तो गर्ने पक्षमा थिएन, आखिर उक्त एप्स प्रयोग गर्नुमा उसका स्वभाविक कारणहरू थिए। काजीलाई लाग्थ्यो उसका तस्बिरमा वाहवाहीको ओहिरो लाग्ने छन् अनि अनगिन्ती वार्तालापका प्रस्तावको पनि।
ऊ यसो केटीका प्रोफाइल हेर्थ्यो अनि राम्रा लागे तुरुन्त 'हेल्लो' भन्ने सन्देश छाड्थ्यो। काजीलाई यसो गर्ने लत नै बसिसकेको थियो। एकदिनमा कैयौँ पटक यसरी ती एप्समा अभिवादन झल्कने सन्देश पठाउँथ्यो। कहिलेकाहीँ त राति अबेरसम्म नै त्यस्ता एप्समा झुम्मीरहन्थ्यो।
तर काजीको दुर्भाग्य भनौँ कि के, करिब सयको संख्यालाई अभिवादन गर्दा काजीले मुस्किलले चार पाँच जनाबाट मात्र 'हेल्लो' को जवाफ पाउँथ्यो। कोही कोहीसँग कुरा भइपनि हाल्थ्यो तर कुरा धेरै अघिसम्म बढ्दैनथ्यो।
कोही-कोही केटीबाट उसलाई 'हेल्लो' आउँदा काजी हतारिँदै अभिवादन फर्काउँथ्यो अनि मन्त्रमुग्ध भएर कुरा पनि गर्थ्यो। तर त्यसरी आउने वार्तालापका प्रस्ताव अधिकांश स्वार्थले प्ररित थिए भन्ने उसले विस्तारै बुझ्दै पनि जान्छ। त्यस्ता प्रस्तावमा आफूसँग कुरा गर्ने केटी नभएर केटीका तस्बिर राखी बनाइएका ठगी नियतका 'फेक' प्रोफाइल हुन् भन्ने उसले पत्तो पाउँछ।
त्यस्ता 'फेक' प्रोफाइलका सहायताले मोबाइलमा प्रशस्तैले रिचार्ज कार्ड कमाए होलान् तर काजी त्यस्ता कुरामा चतुर थियो। प्रेमजालमा फसाइ गरिने ठगी धन्दा 'हनिट्र्यापिङ'को विकार काजीलाई हुनुपरेको थिएन। सुरुमा एउटा एप्समा मात्र भुण्डिएको उसलाई त्यतिले मात्र पर्याप्त नहुने रहेछ भन्ने भयो किनकी सयौँ प्रयासले केबल दुई चार 'भ्यू' मात्र पाउँथ्यो।
अब उसले अरू पनि त्यस्तै एप्स भटाभट डाउनलोड गर्न थाल्छ। सबैमा ऊ आफ्नै इमान्दार शैलीमा प्रोफाइलहरू बनाउन थाल्दछ। डाउनलोड गरिएका एप्सको संख्या बढेसँगै मोबाइलमा उसको व्यस्तता पनि उति गतिमा बढ्न थाल्छ। कतै छुस्स केही आवाज आइहाले कसैको 'मेसेज' आइ पो हाल्यो की भनेर ऊ हतार-हतार मोबाइल निकालेर हेर्न थाल्छ।
प्रत्येक पटक मोबाइल खोल्दा पन्ध्र/बीस जनालाई अभिवादनका सन्देश पठाइहाल्थ्यो। तर अभिवादनको भद्र जवाफ पाउने उसको आशामा सधैँ तुसारापात नै हुने गर्थ्यो। यसरी नै समय बित्दै जान्छ तर पनि उसलाई आशातित सफलता मिलेको हुँदैन।
उसका मोबाइलका प्रत्येक प्रेममिलाप एप्स अब उसका एकतर्फी सन्देशले भरिएका थिए। जसरी वास्तविक जीवनमा उसको प्रेम स्कुले जीवनदेखि नै एकतर्फी रह्यो, ती एप्समा पनि त्यस्तै क्रमको निरन्तरता देखियो।
समय बित्दै गयो, अझै पनि प्रेमालाप पात्रको खोजिलाई बिट मार्न सकेको थिएन। त्यस बीचमा घरबाट आउने गरेका बिहेका प्रस्ताव उपर पनि उसले ध्यान दिन छाडीसकेको थियो। उसलाई लाग्थ्यो, ऊ उपयुक्त थलोमा छ अनि सफलताको नजिक पनि, तथापि लक्षण त्यति सकारात्मक थिएनन्।
बिहेका लग्नले भरिएका महिनामा सामाजिक संजालमा बिहेका तस्बिरको बाढी नै आउँथे। वषौँ अघिसम्म दाइ सरहका व्यक्तिका बिहेका फोटा आउँदा अविचलित हुने काजीको मनमा पछिल्ला समय भाइसरहका केटाहरूको बिहेका तस्बिर सार्वजनिक हुँदा भने केही चिसो पस्थ्यो। अझ भाइसरहकाले सन्तान प्राप्तिका फोटाहरू ती संजालमा राख्दा उसलाई 'ढिला त भैसकेछ' भन्ने भाव पनि आउने गर्थ्यो।
सधैँ झैँ अफिस गएर फर्कने क्रममा काजी सार्वजनिक बसमा चढ्छ। बसमा चढेपछि ऊ खाली सिट खोज्न थाल्छ। सिट सबै भरिएका हुन्छन् तर एक जना युवतीको छेवैको सिट खाली देख्छ। सकभर ऊ पुरुष नै बसेको सिटमा बस्ने गर्छ, अरू सिट खाली छदाँ महिला बसेको सिटमा बस्न खोज्नु भनेको असभ्यताको पराकाष्ट हो भन्ने चेतना स्वभाविक उसमा पनि थियो।
तर आज उसलाई नबसी हुँदैन। ऊ विस्तारै गएर उक्त सिटमा बस्छ। गाडी आफ्नो गतिमा गन्तव्य तर्फ लम्कदै गर्छ। यात्रा गर्दै गर्दा चाल पाउँछ की गाडीभरी मग-मग बसाएको अत्तर उनैले शरीरमा छरेकी थिइन्। अब ऊ ती केटीलाई नहेरी रहन नसक्ने भइसकेको थियो। बाहिर हेर्ने बहानामा पुलुक्त उनीतिर हेर्छ।
केटी निकै गोरी अनि सुन्दर थिइन्। प्रेममिलाप एप्समा सधैँ उसले 'हाई' का सन्देश पठाउने गरेका केटीभन्दा कम थिइनन् ती सुन्दर युवती। 'पोखरासम्मको सफरमा भेटिनुपर्ने नि' लामो दुरीको यात्रामा सहयात्रा चाहन्थ्यो काजी, उसको मनले कुरा खेलाइरहेथ्यो।
गाडी कालिमाटी हुँदै थापाथली आइपुग्छ अनि चालकले बेजोडसँग ब्रेक लगाउँछन्। 'एक्स्क्यूज् मी अंकल' युवतीले आवाज दिन्छिन्। युवतीको आवाजले काजीको माइलको दूरी तय गरिसकेको मनको गतिमा पनि ब्रेक लाग्छ। बसमा अब अत्तरको बासना हटेर स्वभाविक पसिनाका गन्धले स्थान पाउँछ।
छेवैमा बसेकी ती युवतीलाई उसले निस्कन बाटो छाडिदिएको उसलाई होसै हुँदैन। युवतीको चेहरा उसको मस्तिष्कको हाइपोथालामसमा बसीसकेको थियो। 'तर ‘अंकल’ कसरी म ती युवतीको काका सरहको भएँ, मेरो बिहे त भ’को छैन, म कसरी अंकल !' काजी ‘अंकल’ शब्दमा घोत्लिन थाल्छ।
अब उसलाई सधैँजसो चिया खान जाने पसलमा पनि त्यहाँकी एक किशोरीले सोही शब्दले पुकार्ने गरेको याद आउँछ। साँघुरा गल्लीमा छेउबाट 'एक्स्क्यूज् मी अंकल' भन्दै हिँडेका क्याम्पसे किशोर–किशोरीको झुण्डले पनि साँच्चै नै 'बुढो' नै सोचेका रहेछन् भन्ने उसलाई पर्न थाल्छ।
प्रेममिलाप एप्समा पनि उसले ‘अंकल’ शब्दको अभिवादन नखाएको हैन तर जिस्काएका होलान्, ठट्टा मात्र गरेका होलान् भन्ने उसलाई लाग्थ्यो। अब उसलाई त्यो बसको घटना बारम्बार आँखा अगाडि आउन थाल्यो। जसरी बसबाट ती युवती ‘अंकल’ भन्दै झरिन्, उसका प्रेममिलाप एप्सका अनेकौँ सन्देश अनुत्तरित रहनु उसको ‘अंकल’को पदवि पाउने उमेरकै कारणले पनि त हैन भन्ने उसलाई पर्न थाल्यो।
वषौँको प्रयासको बालीमा फल नलागेपछि काजीलाई उसको उमेर अनि उद्देश्य सुहाउँदो वर्ग त्यस्ता एप्समा भेट्न नसकिने नै जस्तो लाग्न थाल्यो। अब उसले 'भर्चुअल डेटिङ' संजालमा 'टाइम पासर' (छोटो समयको संगतका निम्ति मात्र लालयिल) को झुण्ड मात्र देख्न थाल्यो।
ऊ भने जीवनभरकी सङ्गिनीको खोजिमा त्यस्ता एप्समा भौँतारीरहेको थियो। त्यस्ता एप्समा कोही काजीकै जस्तै इमान्दार नियतले पसेका भए पनि उनीहरूलाई पनि तिनै 'टाइम पासर' का दृष्टिले हेरिन्थ्यो। तसर्थ त्यस्ता एप्समा काजीले गरेका प्रेमप्रस्तावजन्य कुरालाई पनि सबैले खिल्ली मात्र उडाए। जसले काजीलाई पनि अवाक् बनायो।
प्रेम सम्बन्धमा एकअर्कालाई स्वतन्त्र भइ पर्याप्त समय लिएर बुझ्न पाइने भन्ने कुराले त आकर्षित गरेको थियो भने त्यसलाई प्रतिष्ठाको पनि विषय बनाएको थियो। उसलाई आफ्नो बुवाले बेलाबेला भन्नुहुन्थ्यो 'तेरी आमालाई मैले ‘हेर्न’ जाँदाकै दिन डोली चढाएर ल्याएको।'
उसले कहिल्यै बा-आमाबीचको असामञ्जस्य देखेको छैन। अन्ततः उप्रान्त घरमा आएका प्रस्तावलाई 'सिरियस' भइ सोच्ने मनमनै निर्णयमा काजी पुगेको हो। मागी विवाह या प्रेमविवाह त सम्बन्ध जोडिनलाई फगत माध्यम मात्र हुन्, जीवनको लामो अंशमा सहयात्रा दुवैको प्रेम, सम्मान अनि सम्झौता कै जगमा चल्ने हो भन्ने पनि काजीलाई हेक्का हुन थालेको थियो।
सूचना प्रविधिको विकासले कठिनतम कामलाई अविश्वसनीय ढंगले सरल बनाए जस्तै हाम्रा कतिपय सामजिक मूल्यमान्यताको अभ्यासलाई ती प्रविधिको प्रयोगले सरल त बनाउलान् तर प्रतिस्थापित नै गर्ने भन्ने यो शताब्दीको बहस नहोला।
इतिश्री!
(लेखक फर्मासिष्ट हुन्।)