‘यो रेडियो नेपाल हो... सधैँ झैँ, आज पनि तपाईंहरूका हृदयका गहिरा भावनाका साथमा म पुनम, कार्यक्रम ‘भावनाका लहर’ लिएर उपस्थित भएकी छु।’ 
मुखिया बाको पुरानो रेडियो अझै उही आवाजमा बोलिरहेको थियो। गोठमा गाईको लामो दाम्लो मिल्काउँदै म बाको आँगनमा पुगेँ।
मुखिया बाले मुस्कुराउँदै भन्नुभयो — ‘ए चन्द्रे, तँ आइपुगिस्? होइन तँ मोरालाई यो केटीको गन्धले तान्छ कि क्या हो हँ?’
म लाजले रातो भएँ। टाउको कन्याउँदै निहुरिएँ। छेउमा रहेको परालको पिरा तानेर पिँढीमा बसेँ। मेरा कान भने रेडियोमै टाँसिएका थिए।
त्यसै बेला त्यो स्वर फेरि गुन्जियो— कोमल, रसिलो, मन छुने पुनमको आवाज।
त्यो आवाजसँगै म पनि बग्न थालेँ— घरबारी, गाउँ, काम सबै बिर्सेँ। मात्र बाँकी रह्यो त्यो स्वर र मेरो धड्कन।
‘ए चन्द्रे, चन्द्रे!’ आमाको आवाजले झसङ्ग भएँ।
कार्यक्रम सकिसकेको रहेछ। रेडियो चुप थियो तर मेरो मन अझै बजिरहेको। घडी हेरे आमालाई पनि हेरेँ अनि केही नबोली जुरुक्क उठेर बाटो लागेँ।
छ दिनसम्म काममै डुब्थेँ तर सातौँ दिन दिउँसो तीन बज्दा मनमा त्यो मिठो उत्तेजना उम्लिन्थ्यो।
त्यो बेला पुनम बोल्थी— म भने बाँच्ने कारण पाउँथेँ।
सोच्थेँ— कस्ती होली पुनम?
कल्पना गर्थेँ लालीगुराँसको मुस्कान, इन्द्रेणीको उज्यालो र नागबेलीको जुल्फी लिएर जन्मेकी हाली। उसको सुन्दरता शरीरमा भन्दा पनि आत्मामा होला— शिष्ट, सभ्य, मृदु र उज्यालो।
उसको स्वरले मेरो मनको माटोमा प्रेमको बीज बनेर उम्रिएको थियो। म त्यो आवाजमा बाँच्थेँ, साँझ बिहान उसैलाई सम्झन्थेँ।
कहिलेकाहीँ लाग्थ्यो— ऊ छैन भने म पनि छैन।
उसैमा हराउनु उसलाई पाउने चाहाना राख्नु मेरो सन्तुष्टि भए पनि जीवनको यथार्थ अरू नै थियो। आमाले घर समाल्नको लागि विवाहको कुरा गर्न गरिरहनु हुन्थ्यो। म पुनमकै स्वप्नमा बाँधिएको मान्छे, कसरी अरूलाई सम्झिन सक्थेँ?
एक दिन मुखिया बासँग सोधेँ— ‘बा, यो पुनम कहाँकी हो?’
बा हाँस्नुभयो— ‘भेट्न जान लागिस् कि?’
बाको त्यो शब्दले एकाएक मन प्रफुल्लित बन्यो। ठुलै आँट गरेर बालाई जवाफ दिएँ, ‘हो बा, म भेट्न जान्छु।’
‘नेपाल टाढा छ मोरा, पाँच–छ दिन हिँड्नुपर्छ अनि बल्ल मोटर पाइन्छ।’
तर मैले निर्णय गरिसकेको थिएँ— पुनमलाई भेट्नेछु।
अब आमालाई सम्झाउनु थियो। आमालाई भनेँ— ‘आमा, तपाईं थाक्नुभएको छ, बिरामी पनि हुनुहुन्छ। म नेपाल गएर काम खोज्छु, तपाईंलाई पनि लगेर राख्छु। फर्किएपछि जससँग भन्नुहुन्छ, त्यसैसँग बिहे गर्छु।’
बुढेसकालको सहाराले छाडेर जान लाग्दा अनि एक मुठी छोराको खुसीलाई नकार्न नसक्दा आमाको आवाजभन्दा पहिले आँखाबाट आँसु बग्यो। उनी मुटु गाँठो पारेर बिदाइ गर्न राजी भइन्।
केही दिनपछि। 
मेरो हृदयमा पुनमको स्वर अझै बजिरहेको थियो। त्यो स्वरले मलाई अघि बढायो— गाउँ छोडेँ, बाटो समातेँ। हजारौँ सपना काँधमा बोकेर लागेँ— पुनम भेट्ने यात्रामा।
थाकेको शरीर तर उमङ्गले भरिएको मन।
अत्तालिएका नजर अनि उकुसमुकुस हुँदै आउने फिलिङ्गस। 
‘नेपाल आइपुग्यौँ, नेपाल, ल सबै झर्नुस् त’— सहचालकको आवाजमा हृदय उफ्रियो।
सहरको भीड, हल्ला, बत्ती, भिडभाड— जता हेरे पनि एकै लाग्ने भवनहरू। एक क्षण त आत्तिएँ। तर म त केवल एक नाम खोज्दै थिएँ, पुनम।
छेउमै रहेको दोकान नजिकै उभिएँ। दोकानेले व्यापार बढ्ने भो सोचेर हरिया दाँत देखाउँदै सोध्यो— ‘दाइ के राखिदिऊँ?’
उसको उत्तरको साटो उल्टै आफूले प्रश्न तेर्स्याएँ— ‘यहाँ पुनमको घर कहाँ होला भाइ?’
‘को पुनम? बोनीको बेला अनेक थरी नमुना आउँछन्।’
 ऊ झर्किँदै उता फर्कियो। 
साधिखोजी गर्दै, गाली खाँदै, भौँतारिइरहेँ। तीन दिनपछि कसैले भनिदियो— ‘रेडियो नेपाल, सिंहदरबार जानुहोस्।’
सिंहदरबारको विशाल गेट अगाडि पुगेँ अनि आफैँ अन्योलमा परेँ— मेरी पुनम यत्रो ठुलो घरमा बस्ने रहिछिन्। उसको मन पनि यति नै विशाल होला।
अब भेट्ने दूरी एकदमै नजिकिएको कारणले होला सबै भित्री अंगहरू बाहिरिएलान् जस्तो भयो। लामो लामो श्वास लिँदै छोड्दै गरा।
यताउता गरिरहेर होला गेटपाले सोध्यो— ‘ओ भाइ, के खोज्दै हँ?’
‘म पुनमलाई भेट्न आएको।’
‘को पुनम? धेरै पुनम छन् यहाँ।’
‘रेडियोमा बोल्ने पुनम।’
‘ए पुनम म्याम, तिमीसँग पास छ?’
के हो पास भनेको बुझिनँ अनि झोलामा भएको सोधेको होला भन्ने सोचेर— ‘छैन दाइ, गाउँबाट आएको, दुई जोर कपडा र मकै।’
चिम्सा चिम्सा आँखा बनाउँदै बोल्यो— ‘पास बिना छिर्न पाइँदैन।’
कति अनुरोध गरेँ, कति बिन्ती गरे तर उसको कठोर आवाजले मेरो डराएको ढुकढुकी मात्र सुन्न सक्थेँ। चार दिनसम्म म त्यहीँ पुगेँ तर उसले कहिल्यै अनुमति दिएन। अन्ततः भन्यो— ‘भोलि म्यामको टुँडिखेलमा कार्यक्रम छ, त्यहीँ गएर भेट।’
भोलिपल्ट, टुँडिखेलमा भीडको समुद्र थियो। म एक कुनामा उभिएको थिएँ। मनमा केवल एउटै धड्कन— पुनम
‘नमस्ते! म हजुरहरूकै पुनम’ त्यो आवाज कानमा पर्ना साथ नजर दौडाएँ, आँखा रसाएँ। शरीर काँप्न थाल्यो।
पर स्टेजमाथि देखेँ— मेरो कल्पनाभन्दा पनि अझै सुन्दर। पहेँलो सारी, उज्यालो अनुहार, स्वतन्त्र केश, मुस्कान जसले हृदय पगाल्यो। वर्षौँको तपस्या पूरा हुँदै थियो। म भिड चिर्दै अघि बढेँ— उर्लिरहेका मेरा भावना कति बेला उनी सामु पोखौँ भयो।
अनि चिच्याएँ— ‘पुनम!’
उसले फर्केर हेरिन्, क्षणभरका लागि नजर जुध्यो। म दौडेर स्टेजमा उक्लिएँ, अँगालो हाल्न खोजेँ।
पुनम चकित भइन्। उनको मुटुको धड्कन तेज भयो, आँखामा रिस देखियो। उनले एक कदम अघि बढाइन्। शरीर सिधा गरिन् र हात उठाइन्।
‘यो मेरो व्यक्तिगत स्थान हो,’ उनको आवाज स्टेजमा प्रतिध्वनि भयो। भिड चुपचाप भयो। धेरैले दर्शक भएर चकित हुँदै हेरे।
तर पुनमले आफ्नो हात अझै माथि उठाएर शान्त तर शक्तिशाली तरिकाले संकेत गरिन् कि उनी आफ्नो सीमामा अडिग छिन्। मलाई कसैले घिच्च्याउँदै त्यहाँबाट निकाल्यो र बाहिर धकेलिदियो। स्टेजमा हल्का हाँसो र सराहना मिसिएको ताली गुन्जियो।
भाषण फेरि सुरु भयो तर हलमा सबैको नजर पुनमको दृढता र रिसलाई नियन्त्रण गर्ने क्षमतामा अडियो। त्यो क्षण म लगायत धेरै दर्शकहरूको मनमा अमिट रह्यो— एकदमै साहस र आत्मसम्मानको प्रतीक।
उनीप्रति झनै इज्जत बढेर आयो। मैले आफैँलाई धिक्कारेँ। आफ्नो गल्तीलाई स्विकार्दै उसको सामु फेरि पर्ने साहस रहेन। 
वर्षौँ बिते। जीवनले मलाई मान, प्रतिष्ठा, सम्पन्न सबै दियो। तर म भित्र खाली थिएँ किनभने त्यो सबैको जरो पुनमको स्वरमै थियो। जब अन्ततः म उसलाई भेट्न गएँ—  उनको हात समाएर सानी नानी हिँडिरहेकी थिइन्। तर पुनमको सिउँदामा सिन्दूर थिएन। 
मैले सुनेको थिएँ, उसको आफ्नो सन्तान छैन रे। तर उनलाई नै आमा भन्छिन् रे। 
ऊ मेरो सामु उभिएकी थिइन् तर समयको पर्खाल बिचमा थियो। म बोल्न सकिनँ, शब्द गलेर आँखामा अड्किए। प्रत्येक शब्द र भेटमा म झन् उनलाई माया बढाउँदै लगेँ तर जाहेर गरिनँ। अझै पनि म त्यो आवाजमा बाँचिरहेको छु।
‘पुनम, तिमीले मेरो एकोहोरो माया नचिन्नु तिम्रो गल्ती होइन तर तिम्रो हरेक कुराले मलाई फेरि मानिस बनेर जिउने हिम्मत दियो।’
मेरो कथा मैले ‘भावनाका लहर’मा पठाएँ— त्यो स्वर जसले मलाई प्रेम सिकाएको थियो।
‘त्यसरी नै वाचन गरिदेऊ है। त्यो शब्द उसै गरी वाचन गरिदेऊ है’— कानमा बारम्बार बजिरहेथे। 
रेडियो नेपालको स्टुडियोभित्र पुनम मौन थिइन्। आँखा रसिला, ओठ थरथराइरहेका। अनि उनले माइकतिर हेरेर बिस्तारै भनिन्— ‘चन्द्रे, तिम्रो यो चिठी कथा होइन, आत्मा हो। म रेडियोकी पुनम थिएँ तर तिमीले सम्झाइदियौ— आवाज पनि कसैको सास बन्न सक्छ। आज थाहा भयो— प्रेम आवाजको पारिबाट पनि बाँच्दो रहेछ।’
बाहिर बिजुली चम्कियो, बर्खाको सुइँ-सुइँ। रेडियोको बत्ती निभ्यो तर मनभित्र ‘भावनाका लहर’ अझै गुन्जिरहेको थियो।