कञ्चनपुरको दैजीबाट सुरु भएको मेरो यात्रा सामान्य यात्रुका पाइला थिएनन्। त्यो कुनै बाटो काट्ने अभ्यास मात्र होइन, आफ्नै जन्मभूमिको गर्भभित्र लुकेको अज्ञात रत्न भेट्ने पवित्र खोज थियो। फागुनको तातो घामले तराईको जंगल रन्किरहेको थियो। पसिनाले भिजेको शरीर, सुक्खा जिब्रो तर मन भने असामान्य उत्साहले भरिएको— सुनेको तर कहिल्यै नपुगेको अनुपम दृश्यको प्रतीक्षामा।
जंगल पसेपछिका सुरुवाती क्षणहरू रमाइला थिए। चराहरूको चिरबिर स्वरले बाटो हलुका बनाइदिएको थियो। तर बिस्तारै घाम चर्किँदै जाँदा पसिनाले सर्ट टाँसिन थाल्यो भने धुलोले अनुहार ढाकिन थाल्यो। कहिले अग्ला सालका रुखले शीतल छाया दिन्थे त कहिले खुला भागमा सूर्यले निर्दय भएर पोल्थ्यो।
यात्रा बिस्तारै कठिन हुँदै जाँदा पनि प्रकृतिले चमत्कारी उपहार दिन छाडिनन्। हावाले हल्लिएका पातहरू, झाडीमा सर्ने आवाज, चराहरूको स्वर र हावामा मिसिएको प्रकृतिको सुगन्धले बाटोलाई जीवित बनाइरहेको थियो। हरेक पाइला एउटा यस्तो कथा, एउटा यस्तो अनुभूति बन्दै थियो— जहाँ थकान र आनन्द एउटै धागोमा गाँसिएका थिए।
अन्ततः तीन घण्टाको पैदलपश्चात् खुल्यो— वेदकोट। जंगलको गर्भ फोडेर अचानक प्रकट भएको त्यो दृश्य शब्दमा अटाउनै कठिन थियो। हरियो वनले अँगालेको, नीलो–हरियो तालमा आकाश र रुखहरूको प्रतिबिम्ब नाचिरहेको। पानीको सतह यति शान्त थियो— मानौँ हजारौँ वर्षदेखि मौन ध्यानमा बसेको ऋषिको आत्मा हो।
सबैभन्दा मोहक दृश्य थियो तालभित्र खेलिरहेका माछाहरूको। कहिले सतहमा उफ्रिँदै, कहिले समूहमा पौडिँदै पानीमा सानोतिनो तरंग सिर्जना गरिरहेका थिए। उनीहरूको चञ्चलता देख्दा यात्राको सम्पूर्ण थकाइ पलभरमै हरायो। लाग्यो प्रकृति अझै जीवन्त छ र चञ्चल पनि।
यो तालको सीमितता प्राकृतिक सौन्दर्यमा मात्रै कहाँ हो र यसले बोकेको धार्मिक आस्था अझ गहिरो छ। स्थानीयहरूले यसलाई हाम्रो पौराणिक सनातन सँग जोड्छन्। उनीहरूको विश्वासमा, देवताको कृपा बस्ने स्थल यहीँ हो। त्यसैले यसको नाम ‘वेदकोट’— वेदहरूको पवित्र थलो रहन गयो।
यति अनुपम सम्पदा प्रकृतिले खुलेर दिएको छ तर विडम्बना, मानिसहरूले भने बिर्सिएका छन्। देशभरि विकासका नाराहरू, ठुला–ठुला परियोजनाका हल्ला तर आफ्नै आस्था र धरोहरको संरक्षणप्रति मौनता। अझ दुःख लाग्ने कुरा, सुदूरपश्चिमकै बासिन्दाले समेत यसलाई पर्याप्त सम्मान दिएका छैनन्। लाग्छ— ऊ खुलेको वेदकोट तर ऊ भुलेको वेदकोट।
तालको किनारमा उभिँदा मभित्र एक पीडा उम्लन्थ्यो— यदि यो ताल युरोपमा हुन्थ्यो भने सम्भवतः हजारौँ पर्यटकले घेरिरहेका हुन्थे, वरिपरि सिँगारिएको हुन्थ्यो र यसको नाम संसारभर गुन्जिरहेको हुन्थ्यो। तर हाम्रो बेवास्ताले गर्दा यो धरोहर अझै मौन छायामा लुकेको छ।
मलाई लाग्छ— यो केवल एउटा ताल बिर्सनु मात्र होइन, आफ्नै आत्मा बिर्सनु हो। वेदकोट हाम्रो संस्कृति, हाम्रो इतिहास र हाम्रो पहिचान हो। यसलाई संरक्षण नगर्ने हाम्रो लापरबाही भविष्यसँगको बेइमानी हो।
त्यसैले मेरो यात्रा केवल तीन घण्टाको पैदल यात्रा मात्र होइन, आत्माको यात्रा पनि बन्यो। मैले देखेको वेदकोट खुलेको थियो— सुन्दर, जीवन्त र अनुपम। तर मैले महसुस गरेको वेदकोट भुलेको थियो— देशको स्मृतिबाट र समाजको चासोबाट।
अब प्रश्न हाम्रो पुस्तासामु छ— के हामी यसलाई निरन्तर भुलिरहनेछौँ?
यदि भुल्यौँ भने हामीले केवल एउटा ताल मात्र गुमाउँदैनौँ, आफ्नै पहिचान गुमाउँछौँ।
वेदकोट हाम्रो आस्थाको ऐना हो।
वेदकोट हाम्रो संस्कृति बोल्ने सजीव इतिहास हो।
वेदकोट सभ्यताको जिउँदो ठेली हो र भविष्य प्रति उन्मुख हुने सन्देश पनि।
ऊ खुलेको वेदकोट, ऊ भुलेको वेदकोट— अब यो विरोधाभास तोड्ने जिम्मा हाम्रो हातमा छ। किनकि धरोहर केवल हेर्ने वस्तु होइन, जीवनसँग गाँसिएको आत्मा हो। र आफ्नै आत्मा भुल्ने अधिकार कसैलाई पनि हुँदैन।