तिहारभन्दा त भाइटिका शब्द आफ्नो जस्तो, मिठास र आत्मीय लाग्छ। बुझ्छन् त सबैले तिहार बुझ्छन्। कोही कोही दीपावली पनि भन्दछन् तर दीपावलीले मात्र भाइटिका बुझाउँदैन, अपुरो लाग्छ।
पोखरा छाडेको बाइस वर्षपछि पुनः अहिले २०८२ को भाइटिका यस पटक मोफसलमा मनाइयो। बच्चालाई गाउँ लैजान पनि तीन ठेकी तेल लगाउनु पर्छ। मोबाइल र इन्स्टाको लत अनि होमवर्कको चाप छँदै छ। यस कारण घर छाड्न मान्दैनन्। साथै उता गाउँमा न उनीहरूको कोही साथीभाइ भेटिन्छन्। गाउँघर बिर्सिए, लगाव छैन।
काठमाडौँदेखि २००किमीको दूरीमा रहेको पोखरालाई अहिले पोखरादेखि आँबुखैरेनीसम्म बनेको फराकिलो सडकले केही सहज बनाएको छ। तथापि काठमाडौँ खाल्डोदेखि ११० किमी मुग्लिनसम्मको यात्रा अत्यन्त कठिन छ। यत्रतत्र खाल्डा र भत्केको सडकले यात्रुलाई पीडा छ।
अर्को अचम्म, सिस्नेखोलादेखि बलम्बुसम्मको सुरुङ मार्ग दसैँ-तिहारमा खोल्ने भने पनि खोलिएन जहाँ २ किमी भए पनि आधा घण्टा बढी समय बचत हुन्थ्यो होला सायद यात्रुलाई। हुन त नीतिकर्ता, देश चलाउने वालालाई सडक गर्ने कहाँ फुर्सद हुन्थ्यो होला र! उनीहरू त चिलगाडीमा सरर जान्छन् फर्किन्छन्।
राम्रा, सोफासेट जडित सिट रहेका, सफाचट बसहरू र साना माइक्रो बसहरू अत्यधिक देखिने सडकमा मोटरसाइकलको चाप धेरै थियो। यदाकदा कतैकतै भत्केको बनाउँदै गरेको अपवाद बाहेक मजुवाखैरेनीदेखि पोखरासम्मको सडक कुनै युरोपको सडकभन्दा कम थिएन, ऋण नै लिएर बनाए पनि। तर करिब १० स्थानमा एकतर्फी थियो; कतै ट्रक पल्टेर, कतै बाटो बिग्रेर, कतै अन्य दुर्घटनाले। सायद बसको यात्राको घन्टौँ समयलाई छल्न युवायुवतीहरू दुई पाङ्ग्रेमा सवार गर्दै थिए, धुलो मैलो हिलो सडक छिचोल्दै।
सडकमा यात्रा पार गर्दै टीका लगाउन पुर्खौली घर पुग्दाको मज्जा अत्यधिक थियो। यस कारण पनि विगतको सडकको जाम, कठिनाइ सम्झेर पनि यसपालि तिहारमा नानीबाबुहरू गाउँ जान मानेनन्।
कात्तिकमा दिन छोटा भएर ५ बजे नै अँध्यारो हुने भइसकेको रहेछ। बिहान सबेरै उत्तर फर्कँदा घर सँगैको पहेँलपुरे धानको झुलेको बालासँगै सेता दन्तलहर देखाएर हाँसेजस्तो माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरि हिमाललाई पाउनु अत्यधिक आनन्दमय थियो।
गाउँभर नै आतंक जस्तै थियो कि तिहारभर फुक्नुपर्ने जुवा। सायद महँगो जुवाखाल भएर होला प्रहरीको निसानामा रहेछ। प्रहरीले गाउँमा जुवा खाल-खालमा आउँदै लखेट्दै गरेर चार पाँच पटक हैरानी दिएको बताउँदै थिए गाउँलेहरू। कतै जुवाडेहरू लुकेर साटेबाँसको छहारीझ्याङमा तास खेल्दै थिए।
आफू जुवा नखेल्ने भएर होला खासै मतलब थिएन तर अरूलाई हेर्दा/देख्दा तिहार त भेटघाट भ्रातृत्व तथा प्रेम सद्भाव नभएर जुवा खेल्ने, छाडा हुने चाड जस्तो लाग्थ्यो। गाउँ समृद्ध भएर होला आजकल यहाँ पाला, दियो र केराको सुप्लामा बत्ती बाल्ने चलन हराएर मालाबत्तीको युगमा प्रवेश गरेछ। साथै पटका पनि भित्रिएछ। न त रातो माटोको लिपपोत आवश्यक! सबै कंक्रिट जंगल बनेको छ गाउँ, पुरानो मान्यता रहेन।
गाउँ पहिलाभन्दा अलिक समृद्ध बनेको छ। त्यस अर्थमा कि गाउँबाट युवा छोराछोरीहरू विदेश गएर कमाउन थालेका छन्। सायद गाउँभरका भाइबैनाहरू जापान, अस्ट्रेलिया, अमेरिका, बेलायत, अरब भएर होला सबैतिर सुनसान थियो नै। माथिल्लो पुस्ता मात्र भेटिन्थे गाउँमा।
गाउँमा आजकल बाटो चिल्लो कालोपत्रे सडकसँगै पानीको सुविधा पनि भित्रिएको छ। यस कारण गाउँलेहरू फुर्सदमा छन्। घरमा ग्यास, पानी, बिजुली भएपछि र फाँट खेतमा घडेरी फलेपछि उनीहरू साह्रै फुर्सदिला भएका छन् र मोबाइलमा टिकटक तथा युट्युबको व्यवसाय फस्टाएको छ।
पँधेरोमा बिहान सबेरैदेखि गाग्री ठोकाठोक, हात हालाहाल र बाजाबाज गर्ने महिला आमा दिदीबहिनीहरूलाई अहिले सहरी विकासको धाराले सहज बनाएको छ।
गाउँमा बस्तु छैनन्, हाते ट्याक्टरले गोरु विस्थापित छ। यदाकदा गाईबस्तु देखिन्छन्। सायद गाई पूजा गर्न गाई समेत नभेटिने अवस्था छ, कहाँको गोवर्द्धन पूजा गर्नु!
गाउँतिर पहिला जस्तो फूल पनि भेटिएन किनकि सबै बाहिरिएपछि हुने त भयो नै गाउँ उजाड। रोटी पोल्नु, कटुस खोज्नु पनि अब हराइसक्यो। नयाँ पुस्ता रोटी पोल्न जान्दैनन् न त पुरानो पुस्ताले संस्कार सिकाउन आवश्यक सम्झे। फेरि चिल्लो; ग्यास्ट्रिक, युरिक एसिड, सुगर, कोलेस्ट्रोलको भूत छँदै छ। बरु कुरकुरे, लेज, चटपटे, चाउचाउ, साँधेको आदिलाई अँगाल्छन् अहिलेका पुस्ताले। केवल चिकेनमा भुलेको छ, सबै चाडमा मासु अनिवार्य बनेको छ।
पहिलाको समयमा रमाइलो हुने चाडपर्व गाउँमा पनि फिक्का बन्दै छ। एकातिर महँगाइ, अर्कोतर्फ घरपरिवार बिछोड, तितरबितर आदिले हाम्रो संस्कार, परम्परा, रिवाज, धर्म, संस्कृति, खानपान लवाइखवाइ, हाम्रो जीवनशैलीबाट बाहिरिँदै छ।
कम्तीमा पनि सालमा एक पटक गाउँघर फर्कौँ, सन्ततिलाई पनि गाउँ लैजाऊँ, सभ्यता संस्कार बुझाऊँ, लामो बिदाको उपयोग गरौँ। विद्यालयले बिदा मात्र होइन, पर्व चाड संस्कार गाउँघर बुझाऊँ।