कविता
तिम्रो र मेरो जिन्दगी उस्तै उस्तै छ
जति ठूला दुखका पहाडहरु तिमीसँग छन्
मेरो देश
मसँग पनि छन्
दुखका लिपुलेकहरु
दुखका सगरमाथाहरु
त्यही सगरमाथामा जमेका
आँसुका हिमशृंखलाहरु
जो पग्लिरहन्छन् वर्षैभरी
र बगिरहन्छन्
चिउडोमा फुलेका
सेता बुकीफूलहरुको
बीच बीचबाट।
तिम्रो र मेरो जिन्दगी उस्तै उस्तै छ
वर्षौदेखि फाटेका
मेरा हत्केलाहरु
वर्षौदेखि फाटेका
मेरा पैतलाहरु
अनि वर्षौदेखि
फाटिरहेका तिम्रा सीमाहरु
उस्तै लाग्छ
तिम्रो र मेरो जिन्दगी उस्तै उस्तै छ
मसँग पनि थिए
तिम्रा जस्तै
केही थान स्याना सपनाहरु
शिरमा राता गुराँस फुलाउने
मुस्कानमा सेता सुनाखरी फुलाउने
मलाई अहिले पनि याद छ
तिम्रो र मेरो उस्तै उस्तै सपना पूरा गर्न
मेरा बा मरेका थिए
त्यसको अर्थ
सहिद भएका थिए।
तिम्रो र मेरो जिन्दगी उस्तै उस्तै छ
तिमी पनि फेरिन सकेनौ
रत्तिभर म जस्तै
जस्तो थियौ हिजो
आज पनि उस्तै छौ
उस्तै छ तिम्रो दरिद्रता
उस्तै छ तिम्रो अभाव
उस्तै छ तिम्रो थोत्रो अनुहार
जस्तो कहिलै पलाउन सकेनन्
मेरो अनुहारमा
मेरा खुसीहरु
एक जोडी चप्पल पाउन नसकेर
मेरा खुट्टाहरु
फाटिरहे वर्षैपिच्छे
च्यातिदै गए
चोक्टाहरु
कालापानी जस्तै
लिपुलेक जस्तै
सुस्ता जस्तै
लक्ष्मणपुर जस्तै।
म म जस्तो भएकोमा होइन
मलाई दुख छ
तिमी म जस्तो भयौ
म त पत्थरको पहाड जस्तो छु
जहाँ फूल उम्रन पाउने माटो छैन
जहाँ फूल बाँच्न सक्ने मुटु छैन्
म त उजाड मरुभूमि जस्तो छु
जहाँ एक धर्सो घाँस उम्रदैन
जहाँ एकसरो खुसी उम्रदैन
तिमी म जस्तो हुनुहुँदैन
मेरो देश
तिमी पनि म जस्तै दुखी भयौ भने
तिम्रै लागि
मरिसकेका मेरा बाहरु
फेरि मर्छन्
मेरो देश
तिमी म जस्तो दुखी हुनु हुँदैन।