मेरी उनी भन्न सायद मैले हक गुमाइसकेको थिएँ। त्यतिबेलाको घटना अझै मेरो मानसपटलबाट लुप्त हुन सकेको छैन। आजकल सम्झदा पनि एकादेशको कथा झैँ लाग्न थालेको छ।
त्यतिखेरको मेरो एक सानो भुलले हाम्रो राधाकृष्णको झैँ जोडी जम्न सकेन। एकदिनको कुरा हो, म कक्षा ७ मा पढ्दै थिएँ। दोश्रो घण्टीपछिको पढाइ सकिएको थियो। म दाहिने साइडको दोस्रो बेन्चको छेउमा बसेको थिएँ।
यसो पछाडि फर्केर हेरेको, देब्रे साइडको तेस्रो बेन्चको कुनाबाट कसैले एकोहोरो मलाई नै हेरिरहेको झैँ लाग्यो। मलाई हल्का लाज लाग्यो। एकछिनपछि यसो चेक गरेको, अटुट मलाई नै हेरिरहेकी थिइ। मैले उक्त घटनालाई हल्का रुपमा लिएँ।
मलाई रमाइलो लाग्न थाल्यो। के गरौँ कसो गरौँ झैँ भयो। अनि पछाडि फर्केर देब्रे आँखा झिमक्याइ दिएँ र मुस्कुराउदै उसैलाई हेरिदिएँ। त्यसपछि मेरी बासै! ऊ त आफू अगाडिको टेबलमा घोप्टो परेर डाको छोडेरै रुन थाली। सबै साथीहरु के भो भन्दै साउती गर्न थाले। म त एकछिन अत्तालिएँ।
वास्तविकता के हो, म र ऊ बाहेक अरुलाई केही थाहा थिएन। कस्तो नमज्जा लाग्यो। मैले फोकटमा त्यसो गरेछु झैँ लाग्यो। केही बेरपछि सर आउनु भयो। सरले के भयो भनेर सोध्नु भयो। उसले बेसरी पेट दुःखेको भनेर जवाफ दिइ। अब भने म ढुक्क भएँ।
म कति स्वार्थी रहेछु। बचपनदेखि सँगै एउटै कक्षामा सँगै रहेर पढेको संगीको मन दुखाएँ। मेरो मन कुढियो। मैले ठुलै गल्ती गरे झैँ लाग्यो। उनको नजरमा म अपराधी हो झैँ लाग्न थाल्यो। त्यसपछि म कहिल्यै उसको नजिक पर्ने हिम्मत पनि गर्न सकिनँ। उनले पनि मलाई देखेर पनि नदेखे झैँ गर्न थाली।
धेरै वर्षपछिको कुरा हो। एकदिन नारायणघाटमा रहेको भाटभटेनी सुपरमार्केटमा सामान किन्न गएको थिएँ। भित्र ट्रलीमा सामान राखेर अगाडि बढिरहेको थिएँ। पर कुनाबाट एक लेडीले हात हल्लाउदै मलाई नै इशारा गरेको पाएँ।
को रैछ त! मैले चिन्न सकिनँ। नजिकै गएँ। त्यही उनी रहिछन्। कस्तो परिवर्तन भएकी। पुक्क मोटी उनी अहिले कस्तो स्लिम भएकी। कपाल ब्वाइजकट काटेकी। अनुहार हल्का पहिलेभन्दा कालो भएर होला सायद अलि बढी नै पाउडर लगाएकी। हाँस्दै उनले हात अगाडि बढाउदै सोधिन्।
'सञ्चै हुनुहुन्छ, मलाई चिन्नु भयो?'
मैले हल्का नाक खुमचाउदै 'तिमी प्रेमा हैन? कस्तो परिवर्तन भएकी' भनेँ र हात मिलाएँ।
उनी मुसुमुसु हाँसी रहिन्। उनले थोरै समयमा मलाई धेरै कुराहरु सोधिन्। आफ्नो बारेमा पनि धेरै कुरा बताइन्। मेरो मनमा उनीमा केही अभाव, केही अपूर्ण, के नमिलेको जस्तो लागि रहेको थियो तर दिमागले ठ्याक्कै यही हो भनेर पत्ता लगाउन सकिरहेको थिएन।
कताकता मन खिन्न भै रहेको थियो। यसरी धेरै समयपछि पुरानो साथी एक्कासी भेट्दा अनौठो पनि लागि रहेको थियो। एकछिनको भलाकुसारीपछि हामी बिदा भयौँ।
एकदिनको कुरा थियो। एकाबिहानै मोबाइलको फेसबुकमा मेरा औँलाहरु डुलिरहेका थिए। फेसबुकमा भएको एउटा फोटोले मेरो मुटुमा नमज्जाले चिमट्यो। पीडाले मेरो आँखाबाट अश्रुधारा बहन थाले। औँलाहरु रोकिए। एकोहोरो उनीलाई नै मोबाइलमा घोरिएर हेरि रहेँ।
अनि मोबाइल टेबलमा हुर्याउँदै नजिकैको पलङमा गएर बर्लङ्ग पल्टिएँ र आँखा बन्द गरी उनलाई सम्झिरहेँ। आखिर यो इहलोक छोडेर जाने खासै उमेर पनि त भएको छैन। के भएको हो जान्ने इच्छा लाग्यो र अनि त्यतीबेलाका क्लासमेटहरुलाई फोन लगाउन थालेँ।
नेपालमा प्रेमिल जोडीले माया-प्रेम गर्ने तरिका राणाकालीन बेलाको थाहा भएन। गणतन्त्र कालीनको भन्नै परेन। बहुदलीय कालीनको हाम्रो बेला परेन। सायद हाम्रो मायाको टुसा पंचायतकालीन बेलाको थियो। त्यतिबेलाको मायाप्रेमको साटासाट अलि फरक तरिकाबाट नै हुन्थ्यो।
इशारामा धेरै कुराहरु हुन्थे। सायद त्यही इशारामा उसले मलाई आफ्नो माया जताउन चाहन्थिन्। म धेरै उत्ताउलो भएर हाम्रो मायाप्रेमको टुसा झाँगीन नपाइ भाचियो।
उसले मलाई औधि माया गर्दि रहिछ। पछि सबै कुरा बिग्रेपछि थाहा पाउदा साह्रै नराम्रो लाग्यो। यो मन त त्यतिखेर झन् छिया-छिया पर्यो जतिबेला उसले कसैसँग बिहे नै नगरी बसेकी थिइ भन्ने तथ्य थाहा पाएँ।