कविता
हे घण्टाघर,
भो भो धेरै समय बताउने टन्टा नगर
त्यहा सेकेन्ड सेकेन्डको के सार छ?
जब कि यहाँ दशक दशक नै बेकार छ।
चर्को घाममा आफ्नो कुप्रो शरीर सेकाएर,
चार दिशामा चारथरी समय देखाएर,
तैले समय बताउनुको के सार छ?
जब कि यहाँ दशक दशक नै बेकार छ।
खै को चलेको छ, तैले देखाएको समयमा?
सब जना मस्त छन् आ-आफ्नै लयमा।
अब तै भन् तेरो ट्याङ ट्याङको के सार छ?
जब कि यहाँ दशक दशक नै बेकार छ।
त्यसैले हे घण्टाघर,
भो भो धेरै समय बताउने टन्टा नगर।
कति भयो परिवर्तन, कति फेरिए तन्त्र यहाँ
खै कतै सुनिएन, महत्व समयको मन्त्र यहाँ
राणादेखि गणतन्त्रवादीसम्मलाई भनेर के सार छ?
जब कि यहाँ दशक दशक नै बेकार छ।
पक्ष विपक्ष भएको हाम्रो ठाउँमा, नीति पनि फेर छैन
समय हाम्रो दास भन्दै तेरै सुई भाच्न बेर छैन
अब त आफै बुझ न, तैले अविरल घुम्नुको के सार छ?
जब कि यहाँ दशक दशक नै बेकार छ।
त्यसैले हे घण्टाघर,
भो भो धेरै समय बताउने टन्टा नगर।