'रमन जी, राजदूतको अन्तर्वार्ताको समय आइतबार ११ बजेलाई फिक्स्ड भो, प्रश्नहरू पहिले नै मागेको छ, तयार गरेर मलाई मेल गर्नुस् न है।'
रमनले 'हुन्छ' भनी नसक्दै हातमा हेलमेट बोकेर सम्पादक भर्याङ ओर्लिन भ्याइसकेका थिए।
किसानको जस्तै पत्रकारको पनि काम कहिल्यै सकिँदैन। एक बाली लगायो, भित्र्यायो, अर्को बाली लगाउने बेला भइसक्छ। यता टेलिभिजनमा एउटा कार्यक्रम सक्यो, अर्कोको तयार गर्ने समय आइसक्छ। झन् यस हप्ता सार्वजनिक बिदा समेत परेकाले सेड्युल ढिलो भइसकेको थियो।
आइतबार साँझ प्रसारण गर्नुपर्ने अन्तर्वार्ताको समय धेरै जोडबलपछि बल्ल बल्ल सोही दिन समय मिलेको थियो। लास्ट आवरमा काम गर्ने, काम बन्ने वा काम टर्ने जे भनौं, पत्रकार/पत्रकारिताको साझा विशेषता जस्तै हो। यसै पनि हतारको साहित्य भनिएकै छ। यो क्रम दोहोरिनु अनौठो केही थिएन।
दुई देशको द्वन्द्वसँग कुनै सम्बद्ध नभएको नेपाल र अध्ययनका लागि गएका निर्दोष, निहत्था विद्यार्थी, जो हमासको नियन्त्रणमा परेको पनि ९ महिना भइसकेको छ। अहिलेसम्म कुनै खोजखबर, अत्तोपत्तो छैन। उनको अवस्था पत्ता लगाई सकुशल भए रिहाइको पहल लगायत कूटनीतिक, आर्थिक, व्यापारिक सन्दर्भका एक चाङ प्रश्न तयार पारेर सम्पादकलाई मेल गर्दा कम्प्युटरको घडीले ५ः१५ देखाइरहेको थियो।
सबै निस्किसकेकाले रमन सम्पादककै जसरी हेलमेट च्यापेर हतार हतार ढोका बन्द गरेर निस्कियो।
ला...बाइकको साँचो नै छुटेछ!
हतारकै बेला हो चाहिने चिज नै छुट्ने, त्यही भयो। तीन तला माथिको अफिसको ढोका खोलेर साँचो लिएर तल झर्दा अर्को ५ मिनेट बितिसकेको थियो।
कमल पोखरीबाट पुतलीसडक हुँदै अघि बढ्दा सिंहदरबार अगाडि दैनिक ट्राफिक जाममा पर्नु सामान्य थियो। तर आज धेरै लामो जाम थियो। रमनलाई त्यस्तो लागेको हो वा साँच्चै हो, शुक्रबार अलि बढी नै जाम हुन्छ। मनसुन सिजन, लगातार पानी परेर रोकिएको धेरै बेर भएको थिएन। दक्षिणमा छ्वाङ्ङ खुलेका ललितपुरका महाभारत पर्वतदेखि काठमाडौंका चम्पादेवी, चन्द्रागिरीसम्मका पहाड सफा देखिन्थे। हरिया पहाडको माथि सेता बादल छरिएका बनेका आकृति क्यानभासमा पोतिएका अब्स्ट्राक्ट पेन्टिङ जस्ता लाग्थे। रमन प्रकृतिले ओछ्याएको त्यही सौन्दर्य नियाल्दै, घरीघरी ट्राफिक लाइटमा आँखा लगाउँदै जाम खुल्ने समय कुर्दै थियो।
भद्रकालीतर्फबाट आएका गाडी रोकेर पुतलीसडकतर्फका आएकालाई जाऊ भन्ने ट्राफिक लाइट र प्रहरीको संकेत नआउँदै जेब्राको लाइन नै ढाकेर रोकिएका केही थान बाइक रकेट झैं बत्तिइसकेका थिए। बाइकहरूलाई जामपछिको हतारो यस्तै हुन्छ। रमनले पनि आफ्नो बाइकको एक्सिलेटर तेजले बटार्यो।
तर केही मिटर पर पुग्नेबित्तिकै उसका आँखा तिर्मिराए। ६० को गतिमा हान्निए पनि सर्वोच्चको गेट कटिसकेको थिएन। बाइकको गति घट्यो। ठप्पै भयो।
व्यस्त सडकको फुटपाथमा मानिसको बाक्लै ओहोरदोहोर हुन्छ। मानिसको चहलपहल सहरी सौन्दर्य पनि हो। तर यसले सधैं मानिसलाई तान्दैन। आकर्षणका लागि केही विशेष हुनुपर्छ, जो सधैं हुँदैन। भिडमा मानिसका अनुहार देखिन्छन्। तर सबै अनुहारले कहाँ खिच्छ र? यादसम्म पनि हुँदैन। देखिनु एउटा कुरा, याद आउनु न आउनु अर्कै कुरा हो। तर आज त्यो नियमितता टुट्यो। एउटा दृश्यले रमन चुम्बकमा फलामझैं तानियो। खिचियो।
***    
'रमन, ए रमन। कहाँ हो?'
घरको छतमा घाम तापेर अर्धनिद्रामा जस्तो लठ्ठ भएर बसिरहेको ऊ डेरामा सँगै बस्ने साथीले बोलाउँदा झसंग भयो।
'अघिदेखि फोन आएको आयै छ,' साथीले भन्यो।
'उठाएको भए हुन्थ्यो त, कसको हो ?' साथीको हातबाट मोबाइल लिँदै रमनले भन्यो।
'उठाउँथे नि, नयाँ नम्बरबाट आएको छ, को हो, आफै उठाऊ।'
फोन उठाउनेबित्तिकै उताबाट सोधियो, 'रमन ⁄ के छ, कहाँ छौ?'
एक साता अघिसम्म दैनिकजसो सुनिरहेको स्वर नयाँ लाग्ने कुरै भएन। विशाखा रहिछ, चिनिहाल्यो। यस बीचमा उसलाई पटकपटक फोन गर्न खोज्दा घण्टी नजाँदै टेलिकमले 'स्वीच अफ' भन्ने अटो रेस्पोन्स गथ्र्यो। विशाखाले फेसबुक चलाउन छाडेको पनि एक महिनाजति भइसकेको थियो।
'यहीँ छु। जहाँ हुनुपर्ने हो, त्यहीँ,' रमनले भन्यो, 'कहाँबाट सम्झियौ आज फेरि, फोन नै अफ गरेर हराएका थियौ त।'
'रमन, छाड यो कुरा, एउटा खबर सुनाउन फोन गरेको....अँ...म..।'
विशाखाले केही भन्न अन्कनाउँदै गर्दा रमनले बीचमै सोध्यो, 'के हो, भनिहाल। सुनिहालुँ न त, बिहेको खबर होला, होइन ?'
केही दिन फोन सम्पर्क नहुँदा रमन विशाखालाई यसैगरी जिस्क्याउँथ्यो। जिस्किएरै उसले पनि 'अँ हो' भनिदिन्थी। तर रमनलाई साँच्चै हो कि जस्तो लाग्थ्यो र भन्थ्यो, 'हो, साँच्चै हो र ?' त्यसपछि शंका मेटिन्थ्यो र अनि मात्र विषय मोडिन्थ्यो।
'हो, सही भन्यौ, मेरो बिहे भयो र यो साँचो हो,' विशाखाले भनी, 'हुन त मैले नभने पनि तिमीले थाहा पाई नै हाल्थ्यौ। तर मैले यो भन्नैपर्छ। तिमीलाई ढाँट्न सक्दिनँ।'
एक हप्तादेखि सम्पर्कविहीन हुँदा रमनले गरेको सबैभन्दा बलियो शंका यही थियो, जुन विशाखाले नै पुष्टि गरिदिई।
रमनलाई एकैपटक हजार भोल्टको करेन्ट लागे जस्तो भयो। आँखा धमिला भए। ओठमुख सुके। केही शब्द निस्किएन। आँखा अगाडिका सब चिज घुमिरहे जस्तो, छत नै भासिए जस्तो भयो। चक्कर नै लाग्ला जस्तो भएपछि कपडा सुकाउन ठड्याइएको फलामे डन्डी समातेर उभियो।
जीवनमा आइपरेका दुःख, पीडा, चोटहरूमा मान्छे रून्छ, कतिले लुकाउलान्। आँसु त लुक्दैन। तर यो कस्तो चोट थियो। जहाँ ऊ रून पनि सकेन, हाँस्न त यो कुनै खुसीको, उमंगको खबर थिएन।
अझै पनि बोल्ने शब्द केही पाएन। तर अघिदेखि छाएको सन्नाटा चिरिनु थियो। हिम्मत गरेर भन्यो–
'तिम्रो बिहे भयो या तिमीले बिहे गर्यौ?'
'जसरी बुझ, तर म भन्दिनँ कि मैले बिहे गरेँ। अहिलेलाई यति भन्छु, 'म तिम्रो भइनँ, हुन सकिनँ, हुनु रैनछ वा लेखेको रैनछ।'
जातमा केही छ, थियो वा थिएन। उनीहरूको सम्बन्धमा यो कुरा कहिल्यै आएन। शंका अवश्य थियो, तर अहिलेको घटनाको कारण यही हो भन्ने यकिन पनि थिएन। ३ वर्षको सम्बन्ध सपना जसरी यति सजिलै टुट्ला भनेर रमनले कल्पनासम्म गरेको थिएन। यति विश्वास थियो– विशाखालाई बिहेको कुरा आएमा आफूलाई एकपटक अवश्य सोध्ने छे, परिवारलाई मनाउने छे, नभए पनि साथ छाड्ने छैन। धोका विश्वासमै हुने हो भन्ने उसलाई थाहा भएन।
त्यसपछि उसलाई विशाखाको फोन/मेसेज कहिल्यै आएन। न त फेसबुकमा रिक्वेस्ट नै आयो। बरू बिर्सन खोज्दाखोज्दै पनि कहिलेकाहीँ ऊ आफै विशाखाको पुरानो फेसबुक अकाउन्टका तस्बिर हेरेर भावुक हुन्थ्यो। कल्पनामा डुब्थ्यो, अतीतमा हराउँथ्यो। त्यहाँ पोस्ट गरिएका विशाखाका अधिकांश तस्बिर विभिन्न समयमा उसैले खिचिदिएको थियो।
***    
कुनै युवकसँग जोडिएर गफिँदै, हाँस्दै, चुलबुलिँदै रामशाहपथ हुँदै माइतीघरतिर जाँदै गरेकी विशाखालाई चिन्न रमनलाई बेर लागेन। सम्बन्धमा छँदा उनीहरूले घुम्न बाँकी उपत्यकाका ठाउँ शायदै छुटेका थिए। काठमाडौं वरपरका डाँडाका हाइक र अन्नपूर्ण ट्रेकको समेत हिसाब गर्ने हो भने सयौं माइल सँगै पार गरेका थिए। जहाँ देखिएका थिए होलान् सँगै जिउने सपना। तर सबै सपना कहाँ, कसको पो पूरा भएको छ र?
त्यो बाटुलो अनुहार, जसलाई रमनले आज ६ वर्षपछि देखेको थियो। केही फरक पाएन। उस्तै थियो अनुहारको आभा, उत्साह र हाँसो। उस्तै थिए लामा काला केश र उस्तै थियो लस्किएर हिँड्ने बानी।
आफूले देखेको युवती विशाखा नै हो भन्ने ठम्याइपछि रमनले आफ्नो बाइक मात्र होइन, मन, धड्कन र श्वास एकसाथ रोकिएको महसुस गर्यो। कुपण्डोलमा रहेको बेलुकाको अफिस धान्न पुग्नुपर्ने हतारो अकस्मात् गायब भयो। आफू विशाखाभन्दा केही पर पुगिसकेकाले सडक छेउमा अडियो। उसलाई मनभरि नहेरी जान सकेन। बाइकको लुकिङ ग्लास थोरै बंग्यायो, ताकि विशाखालाई राम्ररी देखियोस्। ऊ चाहँदैनथ्यो विशाखाले उसलाई देखोस्। आफूलाई देख्ला कि भन्ने डर र अन्य बटुवाले विशाखालाई छेकिदेला कि भन्ने चिन्ताका बीच हतपत्त हेलमेटको भाइजर लगायो। विशाखा र ऊसँगै हिँडेको युवक आफू नजिकको फुटपाथबाट अघि गएपछि पनि उसको आँखा उनीहरूतिरै थियो। एकनास टोलाएर हेरिरह्यो।
माइतीघरबाट बबरमहलतर्फ जान लागेको बोर्डिङ स्कुलको बसले साइड नपुगेर हर्न बजाएपछि रमन झस्कियो र बाइक अघि बढायो।
अफिस जाँदै गर्दा बाटोभरि मनमा अनेक कुरा आयो। शंका र द्विविधामा पर्यो। किनकि विशाखाले बिहे गरेको भनेको तीन महिनापछि उसको साथीलाई भेट्दा रमनलाई भनेकी थिई–
'विशाखा त श्रीमानसँग न्युजिल्याण्ड गइसकी नि। श्रीमान उतैको पिआर हो रे। अब उतै बस्ने कुरा छ।' विशाखाबारे उसले थाहा पाएको यो नै अन्तिम जानकारी थियो।
शुक्रबार बेलुका कतिबेला काम सकियो, थाहै भएन। राति घर फर्किंंदै गर्दा पनि ऊ यही द्विविधामा थियो, 'होइन, मैले अरूलाई विशाखा देखेँ कि क्या हो' अर्को मन विश्वस्त भएर भन्थ्यो, 'होइन होइन, तिमी भ्रममा छैनौ। ऊ साँच्चै विशाखा नै थिई।'
त्यसो भए विशाखासँग हिँड्ने केटो चाहिँ को थियो त? उसको शंका अब त्यो युवकतिर सर्यो।
'आ... जो भए नि मलाई के नै फरक पर्छ र अब?'
मन बुझाउन खोज्यो। तर मन न हो, सजिलै किन मान्थ्यो र? मानेन।
घरको गेट पुगिसक्दा पनि मनमा त्यही प्रश्नले लखेटिरह्यो– होइन, आखिर त्यो केटा को थियो?
के ऊ विशाखाको श्रीमान् थियो?
श्रीमतीले 'आज खाना यता ल्याउन भुलेछु, माथि किचेनमै गएर खानुस् है' भन्दा 'आज अलि सञ्चो छैन, खान मन छैन' भनेर लुसुक्क बिस्तारामा पल्टिएको उसको मनमा अब झन् अर्को शंका उठ्यो–
'होइन, साँच्चै विशाखाको बिहे भएको थियो?'