सधैँजसो जिल्ला प्रहरी कार्यालयमा मान्छेको भिडभाड, कल्याङ्मल्याङ्। ढोकाबाट भित्र छिर्ने बित्तिकै छेउमै सेतो बोर्डमा सबैको नजर परिहाल्छ। बोर्डको सिरानमा कालो मार्करले लेखिएको छ थुनुवाहरूको विवरण। त्यसको लगत्तै क्रम संख्या, नाम, ठेगाना, मुद्दा, हिरासतमा रहेको मिति भनेर लेखिएको छ। मुद्दामा सबैभन्दा बढी सवारी दुर्घटना, त्यसपछि क्रमशः चोरी, जक, ज्यान मार्ने उद्योग, कुटपिट यस्तै यस्तै देखिन्छ। त्यसैमध्ये सातौँ नम्बरमा बिर्खबहादुरको नाम अङ्कित छ।
कउसको ठेगाना नवलपरासी पूर्व लेखिएको छ। मितिले हिसाब गर्दा ऊ त्यहाँ रहेको पनि १५ दिन भइसकेको छ। माथिल्लो तलामा रहेको एसपीको कार्यकक्षतर्फ जाने भर्याङ् चढ्दा जो कोहीका नजर छेउका कोठाहरूमा पर्छन्। हतकडी लगाइएका कैदीहरू कोचाकोच छन्। केही भित्तामा कुहिना टेकाएर त कोही शरीरलाई आड लगाएर, खुट्टा पसारेर बसिरहेका छन्। बीचबीचमा केही पाखुराको सिरानी हालेर लम्पसार सुतिरहेका छन्। त्यसैको नजिकैको सानो कोठामा चारपाँच जना अधबैँसे महिला एकआपसमा खासखुस गर्दै छन्। पुरुष राखिएको कोठा, सजिलै बस्ने हो भने ५-७ जनामा मात्र अट्ने हो। त्यस कोठामा पन्ध्र-सोह्र जना कोचाकोच अटिरहेका छन्।
आउने-जानेहरूको ती कोठातर्फ नजर पर्दा अनुहारमा फरकपन देखिन्छ। केही आगन्तुकले नजरसँगै घृणाले नाक खुम्च्याउँथे। कोठामा बसेका र सुतेर पनि ननिदाएकाहरूको पनि आउने-जानेप्रति नजर त पर्ने नै भयो। नजर जुध्दा कोठामा रहेकाहरूले पनि कटाक्ष गर्दै आँखा तर्दथे। अरूले झैँ कटाक्ष गर्नुको सट्टा बिर्खबहादुर भने शून्य नजरले टोलाइरहन्थ्यो। थुनुवालाई भेट्न पाउने समयमा लबीको छेउको फलामे च्यानल गेटनेर रहेको खाली स्थानमा दैनिक भिडभाड हुन्छ। प्रायःको नाम बोलाइन्छ। एकएक गरी भित्रकाले खाली भाँडा दिने र बाहिरबाट भेट्न आउनेले ल्याएका पोका भाँडा भित्र दिने क्रम चल्छ।
बिर्खबहादुर भनेर बोलाएको कुनै दिन सुनिँदैन। भेटको समयपछि कोठामा रहने कसैको हातमा फलफूल, कसैको हातमा मासु चिउरा, कसैको हातमा सेलरोटी र अचार। बिर्खबहादुरलाई भने भेट्न आउलान् भन्ने प्रतीक्षा पनि छैन, खानाको आश पनि छैन। नजिकमा रहेको कसैले दिएको थोरै खाए पनि, ऊ मौन नै रहन्थ्यो। उसका आँखा भने भित्रै कतै विगतमा हराइरहेका थिए। अरूले जस्तो बाहिरका मान्छेले आँखा गाडेर हेर्दा बिर्खबहादुरले हेर्नेलाई आँखा तरेर पनि हेर्दैन। उसका आँखा आफैँमा उदास छन्।
चलचित्रका दृश्य जस्तै उसको मनमा पटकपटक विगतका घटनाहरू घुमिरहन्छन्। बिर्खबहादुर चार–पाँच वर्षको हुँदा उसका बाबु कृष्णबहादुर ज्यानमारा मुद्दामा जेल परे। किन, कसरी—उसलाई थाहा थिएन। बज्यैले कहिलेकाहीँ भन्थिन्— ‘मेरो छोरा सोझो थियो, उसलाई फसाइयो।’ बाबु जेल परेको एक वर्ष नहुँदै उसकी आमाले दोस्रो विवाह गरिन्। भरभराउँदो युवती कसरी बसून् ज्यान केसमा जेल परेको लोग्नेलाई वर्षौँ पर्खेर? अदालतले तोकेको २० वर्ष उनको लागि त सिङ्गै एक युग थियो। हुन पनि २४ वर्षे उनको जवानीले २० वर्ष पछिसम्म पर्खन सक्दैनथ्यो। उमेरको तिर्खा र भविष्यको डरले ममतालाई जित्यो। बिर्खबहादुर टुहुरो हुन पुग्यो। अब उसको संसार एउटै थियो— उसकी बज्यै। उसको बाबु भने पनि आमा भने पनि उसकी बज्यै। टुहुरोको एक मात्र सहारा बज्यै।
आफू कालो अक्षर भैँसी बराबर भएकी बज्यैले छोरालाई समेत पढाउन नपाएकोमा पश्चाताप थियो। नातिलाई नजिकमा रहेको प्राथमिक विद्यालयमा भर्ना गराइदिइन्। छ वर्षको बिर्खबहादुर टुकुटुकु विद्यालयमा जान सुरु गर्यो। घरमा दाजुभाइ दिदीबहिनी कोही नभएको बिर्खबहादुरलाई विद्यालयमा धेरै साथीहरू हुने, खेल्न पनि पाइने, सर, मेडमहरूसँग पढ्न पनि पाइने, दङ्ग थियो। सर मेडमले भन्ने गर्थे- ‘टुहुरो भए पनि कस्तो फुर्ति, कस्तो चलाख।’
उसको खुसी धेरै दिन टिक्न सकेन। उसको दौतरी त के माथिल्लो कक्षाका दाइदिदीसँग खेल्दा पनि उसले जित्थ्यो। ऊ मिसिएको समान उमेरको टिम पनि सधैँ विजयी। तर जितको खुसीयालीभन्दा पनि उसलाई हार्ने व्यक्तिले प्रयोग गर्ने ‘ज्यानमाराको छोरा’ उपनामले खिन्न बनाउँथ्यो। खेल जित्दा पनि उसैलाई दोष, हार्दा पनि उसैलाई गाली। 'ज्यानमाराको छोरा’ भन्ने शब्दले उसको मनमा गहिरो चोट पार्थ्यो। त्यो शब्द केवल गाली होइन, उसको अस्तित्वमाथि प्रहार थियो।
एक दिन उसँगैको साथीलाई कुहिनोले घच्च लागेछ। उसले साथीलाई घच्याउने चाहनाले त्यसो गरेको पनि थिएन। उसले रोएजस्तो अभिनय गर्दै शिक्षकलाई लगाइहाल्यो सर ज्यानमाराको छोराले हान्यो। शिक्षकहरूले न्याय गर्छन् भन्ने ठान्थ्यो बिर्खबहादुर। त्यस दिन शिक्षकले पनि अगाडि बोलाएर ‘बाबु जस्तो हुने होइन, गल्ती गरे जेलमा परिन्छ भन्ने थाहा छैन’ मात्र भनेनन् अन्तिममा ‘ज्यानमाराको छोरा’ भन्न पनि बाँकी राखेनन्। शिक्षकलाई त्यो सामान्य थियो तर उसको लागि आकाशै खसेजस्तो भयो। शिक्षकले बाबु जस्तो नबन भन्नु उसको लागि संसारकै सबैभन्दा ठूलो गाली र सजायभन्दा ठूलो चोट थियो।
त्यस दिनदेखि उसले विद्यालय मात्र होइन, शिक्षकमाथिको विश्वास पनि गुमायो। त्यस दिन जेनतेन बस्यो र झोला बोकेर घर फर्क्यो। बेलुकी बज्यैले खाना बोलाउँदा पनि ऊ खान मन गरेन। कर लगाएर बज्यैले बनाएको खाना खुवाइन्। भोलिपल्ट खाना खान हतार गर्ने र भोकै भए पनि विद्यालय जान्छु भन्ने बिर्खबहादुरले खाना खान पनि खोजेन र विद्यालय जान हतार पनि गरेन। बज्यैले खाना बोलाउँदा उल्टै खाना पनि खान्न स्कुल पनि जान्न पो भन्न थाल्यो। बज्यैले पढेलेखेर ज्ञानी मान्छे बन्नुपर्छ, स्कुल जानुपर्छ भनेर सम्झाइन् तर उसले मानेन। दिक्क भएर बज्यैले ‘स्कुल नगए पनि नजालास्, खाना त खा’ भनेपछि मात्र थोरै खाना खायो। त्यस दिनदेखि विद्यालयमा गएन। गाउँमा उसका मिल्ने साथीहरूसँग खेल्थ्यो। विद्यालय घरको नजिकै थियो। बिदाको दिन विद्यालयमा जान्थ्यो र विद्यालयको चौरमा खेल्थ्यो। उसको लागि पढाइलेखाइ बिराना भए।
ऊ बज्यैको एक मात्र सहारा थियो। उसको पनि एक मात्र आमा भने पनि, बाबु भने पनि, अभिभावक भने पनि, माया गर्ने मान्छे जे भने पनि बज्यै नै थिइन्। बज्यैलाई छोरा जेल परेको, बुहारी घर छाडेर गएको सबै दुःख बिर्साउने त्यही बिर्खबहादुर थियो। त्यसैको मुख हेरेर त्यसैको सहाराको लागि उनी बाँच्ने निहुँ थियो।
पढाइ लेखाइ रोकिए पनि समय त रोकिने भएन। उसकी बज्यै झनै बुढी हुँदै गइन्। जीवनका ठूला-ठूला बज्रपात सहने बानी परेको उनको शरीर पनि कुप्रिइसकेको, मासुले छाडेर हाड र छालामात्रको फुकिढल भइसकेको थियो। एक दिन निकै बिरामी परिन्। खडाइले बारेको र खरले छाएको तिनीहरूको घरमा बिरामी हुँदा अस्पताल लैजाने पैसा थिएन। झुप्रोमा त थोत्रा, झुत्रा-झुत्रा परेका एक जोर ओढ्ने ओछ्याउने र नाति बज्यैका टालटुल पारेर बनाएका लगाउने कपडा, दुई जनालाई खाना पकाउने ताउली, भजालो र खाना खाने थाल र बटुका मात्र। सम्पत्ति भने पनि त्यही थियो जायजेथा भने पनि त्यही झुप्रो। अस्पताल जान गाडी भाडा तिर्ने, अस्पतालको शुल्क तिर्ने पैसा उनीसँग कसरी होस्। बिर्खबहादुर कमाउन सक्ने भएको थिएन। फुकिढल बुढी मान्छे ज्याला मजदुरी गर्न सक्ने कुरै भएन। तीन, चार दिन कामज्वरो आयो पाँचौँ दिनको दिन बज्यैले अन्तिम सास फेरिन्।
बिर्खबहादुरको सहाराको अन्तिम त्यान्द्रो पनि चुँडियो। बिर्खबहादुरको एकै पटक बाबु ढले, आमा ढलिन्, सहारा ढल्यो, सबै ढल्यो। नजिकका छिमेकी मिलेर उसकी हजुरआमाको अन्त्येष्टि गरिदिए। दुई/चार दिन घरमा मान्छे आए अनि घर सुनसान भयो। नजिकका छिमेकीले मायाले दिए खान पाउने, अन्यथा भोकै बस्नेमा बिर्खबहादुर पुग्यो।
बिर्खबहादुर एक्लो भयो। उसको लागि संसार आफन्तविहीन र शून्य। ऊ जता खाना पाइन्छ त्यतै हिँड्ने, भौतारिने गर्न थाल्यो। कहिले बजारतिर भौतारियो। कहिले गाउँ चाहार्यो। गर्दैगर्दा लफडा केटाहरूसँग सङ्गत भयो। खानको लागि कहिले प्लास्टिक बटुलेर बेच्यो, कहिले खाली सिसी। कहिले पसल र होटलका मान्छेले गराएको सानो तिनो काम गर्यो, त्यसको ज्याला स्वरूप एक पेट खाना खान पायो। एउटा होटलमा भाँडा माझ्ने काम गरे खाना पनि दिन्छु, पकेट खर्च पनि दिन्छु भन्दा उसले मान्यो। त्यस होटलमा काम गर्दा उसका हातहरू फाटे, घाउ घाउले भरिए, हातका छाला उक्किए, हातका काप काप कुहेजस्ता भए। उसलाई सबैले हेयको भावले हेरेँ। यस होटलको काम र पाएको थोरै ज्यालाले उसको विश्वास भने जगायो। आफ्नो कमाइमा बाँच्न सकिने रहेछ भन्ने महसुस गर्यो। होटलमा खाना खान आउने धेरै मान्छेलाई उसले देख्यो। कसैकसैले उसलाई निकै मायाको भावले पनि हेरेँ त्यसले उसलाई यो संसारमा दयालु मान्छे पनि रहेछन् भन्ने पनि भयो।
होटलको कामले खाना त चलेको थियो। उसलाई होटलका साहु साहुनी र धेरै मान्छेले गर्ने अवहेलनाले भने उसलाई मुटुमै घोच्थ्यो। साहुले कामको पारिश्रमिक भनेर दिएको दुई/चार सय पनि उसको खल्तिमा हुन थालेको थियो। उसले आफ्नो कमाइ दिनुपर्ने कोही थिएन। साहुले दिएको सबै उसैको खल्तिमा हुन्थ्यो। हुन त उसलाई पनि नयाँ नयाँ कपडा लगाउन, अरू मान्छेजस्तै होटलको टेबल कुर्सीमा बसेर मनपर्ने मिठा मिठा परिकार मगाएर खान मन लाग्थ्यो। साथीहरूले साइकल चढेको देखेर पनि ऊ लोभिन थालेको थियो। उसका साथीहरू लुकीछिपी रक्सी खाने पनि गर्न थालेका थिए। उसलाई भने रक्सी मन पर्दैनथ्यो। रक्सीको कुरा निकाल्दा उसकी बज्यैले उसको बाबु सोझो मान्छे रक्सी पिउनाले गर्दा उसलाई फसाए भनेर पटकपटक भनेको स्मरण हुन्थ्यो। बजारका केही केटा साथीहरू लागुपदार्थ दुर्व्यसनमा पक्रिए। बिर्खबहादुरलाई भने लागूपदार्थ सेवन गर्ने पनि मन गरेन।
एक दिनको कुरा हो एउटा घरका सबै मान्छेहरू घुम्न गएर चार/पाँच दिनको लागि केटा मात्र एक्लै घरमा बस्नुपर्ने भएको रहेछ। उसको घरमा ठूलो टिभी थियो। त्यसमा नेट जोडेर युट्युब र विभिन्न भिडियोहरू हेर्न मिल्ने थियो। घरमा एक्लो भएको केटाले उसका साथीहरूलाई ‘म एक्लै छु, बेलुकी हाम्रो घरमा भिडियो हेर्न आउनु’ भनेको रहेछ। चिनेको एकजनाले बिर्खबहादुरलाई पनि फिल्म हेर्न जाऔँ भन्यो। फिल्मका हिरो हिरोइनका तस्बिरहरू उसले पनि देखेको थियो। ती हिरो-हिरोइनलाई देखाउने फिल्म कस्तो हुने रहेछ उसलाई पनि हेर्ने मन भयो। जाऔँ भन्ने साथीसँगै बिर्खबहादुर पनि उसको घरमा गयो। सबै भएर फिल्म हेरेँ।
फिल्मको कथामा हिरोले दुःख, कष्ट सहेर, मेहनत गरेर राम्रो मान्छे भएको र उसको जित भएको देखाइएको थियो। उसलाई त्यो कथाले मन मात्र छोएन सपना पनि देखायो। अर्को दिन पनि साथीहरूले फिल्म हेर्न जाऔँ भने। त्यस समूहमा उसको उमेरका भन्दा अलि ठूला १५–२० वर्षका केटाहरू पनि रहेछन्। एक पटक फिल्म लगाए पनि, फिल्म सुरु के भएको थियो, एक अलि ठूलो केटाले ‘यस्ता फिल्म मात्र के हेर्नु ब्लु फिल्म हेरौँ’ भन्यो। त्यस दिन त्यहाँ जम्मा ८-१० जना मात्र केटाहरू थिए। फिल्म त थाहा थियो तर ब्लु फिल्म भन्ने कुरा उसको लागि नौलो लाग्यो, उत्सुकता जाग्यो। पछि हेर्दा त नाङ्गा मान्छे पो देखिन थाले। उसलाई पहिला हेरेको फिल्मको कथा, हिरो हिरोइन मन परेका थिए। यस पटक त्यस्ता हिरो हिरोइन थिएनन्। फिल्ममा कथा थिएनन्। केवल नाङ्गा केटा केटी र यौनसम्पर्कका कुरा मात्र देखाइएको रहेछ।
ऊ एक्लै निस्केर जाने कुरा भएन ढोका पनि बन्द गरिएको थियो। करिब एक घण्टामा भिडियो सकियो। सबै केटाहरू निस्के। बाटो सुनसान भइसकेको थियो। मान्छेको आवतजावत अलि कम थियो। त्यो घरबाट बाहिर निस्केर हिँड्दै थिए, त्यसै क्रममा हिँड्दै गरेका दुईजना १५-१६ वर्षका केटीहरू बाटोमा विपरीततर्फबाट आउँदै गरेका देखिए। बिर्खबहादुर पनि उनीहरूसँगै थियो— न बुझेको, न सोचेको। केवल भीडसँग बगेको।
उसको समूहमा रहेका अलि ठूला केटाहरूले ती केटीहरूलाई बाटो छेके र गिज्याउन थाले। केटीहरू अक्कनबक्क भए, बोल्दै नबोल्ने भए। ती केटाहरूमध्येको एक केटाले एउटी केटीको हात समात्यो र अर्को केटीलाई पनि अरूले समाते त्यही ब्लु फिल्म हेरेको घरतर्फ लगे। केटीहरूलाई सबै मिलेर घरभित्र लतारे। बिर्खबहादुर पनि रमाइलो मान्दै तिनै केटाको पछि पछि लागेको थियो। उसको घरको कोठामा पुर्याएर केही छिन पहिला हेरेको भिडियो फेरि लगाए। अनि केटीहरूको शरीर नङ्ग्याउन थाले। केटीहरू वल्लोपल्लो घरका छिमेकीले सुन्ने गरेर जोरजोरले रुन र कराउन थाले। ऊ ती केटाहरूको समूहमा सबैभन्दा सानो थियो। ती केटीहरूको रुवाइले उसलाई पनि नरामाइलो लाग्यो। उसको मनले भन्यो— तिनीहरूलाई छाडिदिए हुन्थ्यो।
ऊ त केवल 'भीडको पछि लागेको' न थियो। ऊ बोल्न सकेन। केवल मौन दर्शक भयो। एकैछिन पछि त्यहाँ त स्थानीय मान्छे र प्रहरी पुगेँ। त्यहाँ भएका सबै केटाहरूलाई प्रहरीले पक्रे र प्रहरी थानामा लिएर गए। भोलिपल्ट ती सबै केटाहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगियो। सबै केटाहरूलाई जक (जबरजस्ती करणी) मुद्दा लगाइयो। न्यायालयले मुद्दाको किनारा लगाउँदै उनीहरूलाई जक अपराध अनुसार सजाय सुनायो।
बिर्खबहादुरको भोगाइ धेरै थियो तर उसको उमेर भने जम्मा १२ वर्षमा टेकेको थियो। १८ वर्ष नपुगेको भनेर उसको बाल सुधार गृहमा पठाइयो। बाल सुधार गृहमा ऊ जस्तै धेरै साथीहरू थिए। कोही चोरी, कोही पकेटमारा, कोही ज्यान मार्ने उद्योग, जस्ता मुद्दामा पुगेका थिए। एक दिनको कुरा हो त्यहाँ जिल्लाको शिक्षाको ठूलो मान्छे आउँछन् रे भन्ने खबर भयो। बालगृहका व्यवस्थापकले ती आउने मान्छेलाई हामीलाई पढ्ने व्यवस्था गरिदिनुहोस् भनेर सम्झाए। बिर्खबहादुर उसका साथीहरूलाई समेत भेट्न आएका ती जिल्ला शिक्षा अधिकारीलाई हामीले पढ्न चाहन्छौँ शिक्षक पठाइदिनुस् भनेर सामूहिक रूपमा अनुरोध गरेँ। ती मान्छेले ‘हुन्छ, म पठाइदिन्छु। तिमीहरू परिस्थितिले यहाँ परेका छौ, तिमीहरूले लेखपढ गर्नु पर्छ। संसारमा जेलमा परेका मान्छेहरूले जेलमै पढेर विद्वान, लेखक र ठूला नेता बनेका छन्। तिमीहरूले पनि पुस्तक पढ्ने बानी गर’ भनेर सम्झाए।
उसले आफ्नो छेउमा बसेको साथीलाई हेर्यो, जो भोक मेटाउन एउटा पाउरोटी चोर्दा समातिएको थियो। अर्कोतिर एउटा यस्तो केटो थियो, जो साथीहरूको उक्साहटमा परेर नशाको दलदलमा फसेको थियो। ऊ र उसका साथीहरूलाई उनले भनेको कुरा मन पर्यो। दुई/चार दिनपछि एक जना दाइजस्तो व्यक्ति हामीलाई पढाउन आए। त्यहाँको व्यवस्था मिलाउने र उनीहरूलाई सम्झाउनेले भन्दै थिए। यी त उनै जिल्ला शिक्षा अधिकारीका छोरा हुन्। उनीहरूलाई ती शिक्षक निकै मन परेका थिए। तिनको न्यानो बोली, मायालु व्यवहार। उनले सबैलाई आफ्नै भाइबहिनी जस्तो गर्थे, सम्झाइ बुझाइ पढाउँथे र साथीजस्तो गर्थे, ठट्टा गर्थे, उनीहरूसँगै रमाउँथे। उनले अपराधीजस्तो व्यवहार गरेनन्। उनले पनि भन्ने गर्थे- ‘तिमीहरू खराब होइनौ, परिस्थिति खराब हो, तिमीहरूले अब मेहनत गरेर पढाइमा राम्रो गर्नु पर्छ।’
हुन पनि कस्तो राम्रो पढेका; एकै जनाले गणित, विज्ञान, अंग्रेजी सबै राम्ररी पढाउन जानेका र बुझाउन सक्ने। ती शिक्षकको बोली र व्यवहारले बिर्खबहादुरको मनमा आशाको सानो दियो बल्यो। विडम्बना उनी धेरै दिन बसेनन्। उनको त्यहाँ बस्ने अवधि सकियो रे भन्ने सुनियो। पछि अलि पाका शिक्षकहरू आए। उनीहरूले पनि अर्थी त दिन्थे तर उनीहरू कहिले आउने, कहिले नआउने, झारा टारे जस्तो गर्थे। नजानेको कुरा सोध्दा उल्टै हप्काउँथे। जे भए पनि बिर्खबहादुर र उसका साथीहरूको पढाइ हुँदै थियो, कक्षा पनि चढ्दै थिए।
फेरि अर्को घटना घट्यो। एक दिन एकाएक त्यहाँ भएका ठूला दाइहरूले हल्ला गर्न थाले। ‘खाना राम्रो छैन, हाम्रो सुविधा अरू कसैले खाइदियो, हामीलाई सुविधा दिइएन’। हल्ला गर्दैगर्दा त्यहाँ भएका एक जनाले नजिकको भित्तामा एक लात्ता हाने। अरूले पनि थपे। एकसल इँटा भएको त्यो भित्री पर्खाल भत्कियो। इँटाहरूको थुप्रो नै लाग्यो। अनि कोही इँटा लिएर भान्सातर्फ लागे कोही इँटा पर्खाल बाहिर फ्याँक्न थाले। बिर्खबहादुर बसिरहेको त्यो घर र उसको पाठशाला एकैछिनमा रणभूमिमा बदलियो। आगो लाग्यो। गेटका पुलिसहरूको भागाभाग भयो। त्यहाँबाट सबै बाहिर निस्के, कसैले भन्दै थिए ‘हामी नभागौँ’। ठूला दाइहरूले भाग भाग भनेर उक्साउँदै भागाभाग गरे।
बिर्खबहादुर र उसका केही साथीहरू के गरौँ? कसो गरौँ? भनी अलमलमा पर्दै थिए। त्यति बेलै दमकलहरू आए र हतियारसहितका प्रहरीका भ्यानहरू पनि आए। ठूलो समूहमा आएको टोलीले गेटको नजिकै बिर्खबहादुर र उसका अलमलमा परेका केटाहरूलाई सबैभन्दा पहिला समायो। भाग्ने भागिहाले बिर्खबहादुरसहितका अलमलमा पर्नेलाई प्रहरीले सबैभन्दा पहिला समातेर हतकडी लगायो। अनि त्यहाँ जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा ल्याएर राखे।
बिर्खबहादुर पनि विभिन्न मुद्दा लागेर हिरासतमा रहेका मध्ये एकजना भएको छ। उसको अनुहारमा न अपराधको बोध छ, न त उसको अनुहारमा तिनीहरूतर्फ हेर्नेप्रति आक्रोश छ। उसका आँखा शान्त छन्, तर त्यो शान्तिभित्र गहिरो आँधी लुकेको छ। न त उसलाई भेट्न आउने मान्छे छन् न त अरूलाई जस्तो मिठा-मिठा परिकार आउने गर्छन्। ऊ सोचिरहेको छ— मेरो अपराध के हो? मैले के गल्ती गरेँ?