जुनसुकै कुरा नहुन्जेलसम्म भइदिए हुन्थ्यो जस्तो हुन्छ। भइसक्यो भने नभए पनि हुन्थ्यो अथवा नभई नहुने के थियो अथवा झन् नभएको भए त कति वेश हुन्थ्यो लाग्छ। यो भएर घाँडो भयो समेत हुन सक्छ। यो मान्छेको असन्तुष्ट मनबाट उत्पत्ति हुने अनेक विचारको संगालो हो। त्यस्तै भएको छ आइतबारको बिदा पनि।
नभई नहुने के थियो! खासै चाहिएकै थिएन, यो उपयोगमा आएकै छैन भन्ने भान पर्न गएको छ बिचरा कर्मचारीहरूलाई। पहिला पहिला जाबो एक दिनको शनिवारको बिदा। यता गरूँ कि उता गरूँ। धोऊँ कि पखालूँ। सुकाऊँ कि पकाऊँ। बच्चाहरूलाई घुम्न पठाऊँ कि फकाऊँ। यस्तै भन्ने मान्छे दुई दिन लगातार बिदा हुँदा यिनीहरूको किचकिच, मिठो मिठो खाऊँ। घुम्नलाई जाऊँ, अलि खर्च पाउँ, रमाइलो मनाऊँ, भन्ने सुन्न र ‘हल्ला नगर मेरो टाउको नखाऊ’ भन्न कम्ता गाह्रो नहुने रहेछ भन्ने भैसकेका छन्।
शनिवार यसै कट्यो। आइतबार पनि एवं रितले धकेलियो। पढ्ने र केही गर्ने जोस जाँगर भएकालाई त केको आइतबार चाहियो र। उनी जस्ता गृहिणीका अतिरिक्त जब होल्डर महिलाका लागि पढ्नलाई किताब छुनु र हिन्दु धर्ममा जेठाजु छुनु उस्तै मान्यता भएको छ। त्यसैले यो आइतबारको बिदा खासै उपयोगी छैन भन्न भ्याइसकेको छिन् उनले।
अब सोमबारको कुरो आयो। बिहान नेम भवन पुग्ने छोरो, कक्षा एघारको जाँच दिने छोरी, उठ न ए कति सुत्छौ! जाने तयारी गर। म खाजा बनाउँछु भनेर सुरु हुने नव बिहानी। चिया, चिउरा, सातु, मकै जे-जे छ उहीँको जोहो गर्नु छ। साढे सात बजे तिर उठ्ने अर्को जेन अल्फा। ऊ झन् कम्तीको छ। उठ्ने बित्तिकै के कति पकाउनु भयो, मलाई ढिला हुन्छ, टिफिन के छ? मेरो बोतल रेडी गर्नु भयो कि नाइँ जस्ता प्रश्नमा इन्टरभ्यु समेत बनाउँछ।
दिउसो उसको खाने, आफ्नो खाने, उनीहरूको खाने टिफिन रेडी गर्नु छ। उफ्! यो टिफिन नचाहिने भए पनि आधा बोझ हट्ने थियो नि। उनी लामा सुस्केरा मार्छिन्। जसोतसो आठ बजेसम्म खाइ, चपाइ, निलेर त सकियो। हातमुख धोइ भाँडा पखाली अल्फाको ड्रेस लगाउनु छ उनले अब।
‘तपाईंलाई बेल्ट लाउन पनि आउँदैन। स्कुलको लोगो उल्टो बनाइदिनु हुन्छ।’ अल्फा निहुँ खोजी खोजी दोष लगाउँछ।
‘मैले कहिल्यै बेल्ट लाए पो।’ उनी मौन उत्तर दिन्छिन्। किनकि मौन उत्तर दिनु जत्तिको आनन्द केही लाग्दैन उनलाई अचेल।
आफ्नो सेतो सर्ट र निलो बेली पेन्ट्स त लाउँछिन्। तर जुहारी कोट कतै भेटिएन। कता हरायो होला हत्तेरी।
आज त्यस जुहारी कोटले समयसँग जुहारी नै बनाइदियो बिचरीलाई।
कपडा राखेको प्लास्टिकको डोको चार पाँच पटक उधिन्दा पनि भेटिएन। कतै छोराका ह्याङ्गरमा मिसियो कि अहँ। धोएर छतमा सुकाउँदा केटाकेटीले छुटाए कि। नभेटिएकोमा दुई वटा चिन्ता थपिन्छन्। के लगाएर जाऊँ एक। अहिले जे लगाएर गए पनि गोटा तीन हजार खर्च गरेर सिलाएको घर भरिको महँगो कपडा त्यत्ति थियो। सुहाउने पनि त्यही थियो। भेटिएन। अब त्यो पातलो ज्याकेटको खोजी भयो। छैन त्यो पनि। अनि के लाएर जाऊँ त?
ज्याकेट त तीन सयको हो, जुहारी त तीन हजारको हो कम पछुतो हो। यसै जान्छु भैगो भनौँ भने पनि अलि छोटा लुगा लाउने बानी छैन। बिचरा सर्ट-पेन्ट्स त पोहोर साल भ्याली छिरेको ६ महिनापछि लाउन सुरु गरेकी थिइन्। केही सीप नलागेपछि अर्को पुरानो सेतो टि-सर्ट लगाइन् उनले। भला चाउरिएको भए पनि थोरै लामो त छ भनेर।
अल्फालाई मोजा र जुत्ता त लाइदिइन् तर आफ्ना दाँत माझ्न बाँकी नै रहिछ। छि कस्तो हतारो हो! अफिसमा मुस्कान सहितको सेवा दिन नपरेको भए त दश छाक दाँत नमाझे पनि केही हुने थिएन। त्यही मुस्कान सहितको सेवा बाहेक अन्त उनको मुस्कान विरलै देख्न पाइन्थ्यो। किनकि मुस्कान छोड्नलाई त मन पनि त फुरुङ्ग हुन पर्यो। जम्मा पैँतिस सेकेन्ड जति ब्रस र दाँतको जमघट गराएर उनी कुल्ला गर्दै थिएन। अल्फाले उनलाई सातो जाने गरी तपाईं जहिले ढिला गर्ने मान्छे हो। मेरो स्कुल ढिला जान मिल्दैन अब के गर्ने होला भनेर चिच्याइरहेको थियो।
उनले स्कुटर स्टार्ट गर्दा आठ बजेर एकचालिस मिनेट गएको थियो स्कुटरको घडीमा। हुन त स्कुटरको, हातको र मोबाइलको घडीमा समयको एकरूपता थिएन। बाटो सुस्त काट्नु, आउने जाने मान्छेलाई सहज रूपमा जान दिनु, ठुला गाडीलाई ओभरटेक नगर्नु जस्ता सवारी अनुशासनका कामहरू आज उनीबाट भएनन्। छिटो कुदाउनु मलाई ढिला हुन्छ भन्ने अल्फाको आदेश पनि सुन्नु कुनै नौलो थिएन। ओक्खो अगाडि त गाडी र मोटरसाइकलको जात्तु पो छ त। यो हेरौँ भने उनका गाउँमा लाग्ने कोटाथलाको जात्तु त केही होइन। यत्रो जाम पहिलो पटक नै देखिन् भन्दा पनि हुन्छ। देखिन् के भन्नु भेटिन्। भेटिन् के भन्नु भोगिन् बिचरा। स्कुटरको घडीमा नौ बजेर एकाउन्न मिनेट देखाउँदा हातको घडीको सुईले पनि वायव्य दिशा पार गरिसक्न आँटेको थियो।
सही काम गर्न मौका चाहिँदैन। नियमित आफै हुन्छ। गल्ती गर्न मौका चाहिन्छ। यही मौकाको फाइदा उठाएर उनले बाटोमा एक/दुई वटा गल्ती गर्ने अवसर जुटाइन्। चक्कर त चौबाटो आएपछि पो लाग्छ उनलाई। ट्राफिक प्रहरीले रोक्ने लाख कोसिस गर्दा पनि अटसमटस गरेर कोचिएर निसासिँदै गाडीहरू घिसारिन्छन् जब। तब सबै गए मै किन रोक्नु भन्दै आफ्नो एक्सिलेटर बटारेर अघि बढ्छिन्। बल्लतल्ल स्कुलको गेटमा त पुग्यो। मोडिनु कम छ। एउटा अलि लामो, सेतो र सेतै प्लेट भएको गाडी उनलाई हातले रोक्ने चेष्टा गर्दै थियो। प्रवाह नगरी त्यतिखेर पनि घिसारिन् आफ्नो स्कुटर। किनकि यतिखेर ज्यानको भन्दा बढी प्रवाह इलेक्ट्रिक हाजिरीको थियो।
अरूलाई ठग्नु जस्तो सजिलो आफूलाई ठग्नु कहाँ हुन्छ र! जस्तै हतारो भए पनि बाटो अलि खाली हुन्थ्यो। नौ बजेर पचास मिनेटभन्दा पछाडि कहिल्यै हाजिर गर्नु परेको थिएन। हिजो अस्ति अरू सबै ढिला आउँदा रहेछन् मै रहेछु छिटो आउने भन्ने मान्छे आज सबै टाइमै पुग्छन् मै किन यसरी ढिला हुन परेको होला भन्न भ्याइसकेकी थिइन्। मोडमा पुग्दा एक सय चौबिस सेकेन्डको लागि रातो बत्ती झिम्किँदै थियो। उफ् एक सय चौबिस सेकेन्ड भन्नु थोरै हो र उनका लागि। समयमा सेकेन्डको पनि महत्त्व हुन्छ भनेको बल्ल बुझिन् उनले।
कारबाही पनि कसको भोग्नु। सडकमा ट्राफिकको कि अफिसमा छड्केको? उनले कारबाहीको लिस्ट बिच मनमनै तुलना गरिन्। यति खेरसम्म त फाँटमा पुगिसकेको हिजो अस्ति। एक मिनेट ढिलो पुगे पनि स्पष्टीकरण सोध्छ रे। के स्पष्टीकरण दिने होला? के बहाना बनाउने होला? त्यही थाङ्ने जुहारीकोट भेटिएन भन्नु त भएन। झुटो बोल्नु पनि के बोल्नु! जाम थियो भन्नु त बनावटी मात्र हुनेछ। स्कुटरको घडी अलि फास्ट छ र ठिक भयो नत्र नौ बजेर एक मिनेट भइसकेको थियो त्यो घडीमा।
बायाँ मोड्नु जस्तो सजिलो छैन दायाँबाट बाटो काट्नु। पारि पुग्नको लागि लाइन बस्नु पर्छ। करिब छयानब्बे सेकेन्डमा रातो बत्तीले झिमझिम पार गरेपछि केही नदेखी नसुनी हुइँकिइन् उनी एक सुरले। अफिसको प्राङ्गणमा रोकी हेलमेटै नखोली भित्र पस्दा इलेक्ट्रिक हाजिरीसँग मुलाकात भयो बल्ल। नौ बजेर सत्र सेकेन्डमा। उनले यहाँ पनि दुई जना सरलाई उछिनेर लिगलिगे दौड नै जितिन्। एकजना सरले किन आत्तिनुहुन्छ म्याडम भनेपछि मात्र नमस्कार सर भन्ने मेसो पाइन्। त्यसपछि उनले समयभित्र इलेक्ट्रिक हाजिरी गर्नको लागि गरेका संघर्ष, झमेला, चुनौती र सबै किसिमका व्याकुलताहरू त्यो दिनका लागि समाप्त भए।