‘यो कुलो किन फर्काएको? भोलि मेरो रोपाइँ छ भन्ने थाहा छैन?’ चन्द्रविक्रम जङ्गिँदै आयो र इमानसिंहलाई कुममा ठेलेर धकेल्यो।
‘तपाईँको खेत भरिएको छ त। मेरो खेतमा त एक घण्टा पानी पटाउँदा पुगिहाल्छ। मसँग तपाईँको जस्तो खेत नै कहाँ छ र?’ इमानसिंहले सानो स्वरमा कुरा राख्यो।
चन्द्रविक्रम र इमानसिंह एउटै गाउँका छिमेकी हुन्। एउटा पढेलेखेको र भूमिपति परिवारको अर्को गरिब र दलित परिवारको। चन्द्रविक्रम आफूसँग अरूले कुरा गर्दा बाबुसाहेब वा राजासाहेब भनिदियोस् भन्ने चाहन्थ्यो। इमानसिंह कामको चपेटामा परेर कहिलेकाहीँ त्यसरी सम्बोधन गर्न बिर्सन्थ्यो। सम्बोधन नगरी बोलेकैमा पनि यिनको झगडा पर्थ्यो। आजको विषय त खेतमा पानी लगाउने थियो। इमानसिंह सहेरै बस्यो।
जसोतसो खेत रोपियो। भदौको पहिलो साता गाउँमा महामारी फैलियो। इमानसिंहको परिवारलाई महामारीले सतायो। गाउँका धेरै आएर सहयोग गरे। चन्द्रविक्रम चाहिँ हेर्न पनि गएन। घर-आँगन फोहोर पारेर महामारी फैलियो भनेर उसले इमानसिंहलाई नै दोष लगायो।
एक महिनापछि इमानसिंह बल्लतल्ल निको भयो र काममा लाग्यो। घर चलाउन उसलाई निकै गारो थियो। खाने अन्न पनि थिएन।
एक दिन इमानसिंहले ठुलै आँट गरेर चन्द्रविक्रमसँग भन्यो, ‘राजासाहेब! केटाकेटीका मुखमा तीन दिनदेखि पानीबाहेक केही परेको छैन। अलिअलि सामल पाऊँ न। पछि मङ्सिरमा पैँचो तिर्छु। पैसा दिऊँ भने आफूसँग केही छैन।’
यो सुन्नासाथ चन्द्रविक्रम पड्कियो, ‘मैले तिमेर्का लागि भनेर अन्न फलाएर राखेको छु। खान दिन नसक्नेले किन ग्यालग्याल्ती सन्तान पाउनुपर्यो? बेलुका मैयाँ साहेबको बर्थडेको पुरो होला, लगेर त्यही दे तेरा डाम्नालाई। आफूलाई अफिस जान बित्या छ, बडो अन्न माग्न आउँछ! मेराँ अन्नको भण्डार छ?’
इमान सिंह केही बोल्न सकेन। नलैजाऊँ केटाकेटीलाई दिने केही थिएन, लैजाऊँ अर्काको पुरो। इमानसिंह बिलखबन्दमा पर्यो। यसो पुरोतिर फर्केर हेर्यो, अनेकौँ थरी खाना त्यसै फालिएका थिए। उसले यसो सोच्यो, दुःख त गरिबलाई मात्र आउँछ, धनीका त साथमै ईश्वर हुन्छन्। पेट भर्नुभन्दा मानिसलाई अरू आवश्यकता छैन। पशुले जुठो चोखो जान्दैन। मानिसले त हो यो नियम बनाएको। बाले पनि अन्न फाल्नु हुँदैन भन्नुहुन्थ्यो। यो फालिने खाना केटाकेटीलाई दिँदा र आफूले खाँदा केही नहोला। लानुपर्यो!
उसले अलिक चोखो र सफा जस्तो लागेको खाना पानीकागजको झोलामा हाल्यो र लिएर हिँड्यो। चन्द्रविक्रम उसैलाई हेरेर ‘आच्चे च्वई’ भन्दै हाँस्न थाल्यो।
सायद चन्द्रविक्रम कुनै ठुलै अड्डामा काम गर्थ्यो। मानिसहरू उसलाई जाली फटाहाको राजा भन्थे। उसको सास्ती नपाएका मानिस गाउँमा कमै थिए। इमानसिंह त बच्ने कुरै भएन। उसले कुनै न कुनै बहानामा गाउँका मानिसलाई फसाएकै थियो। गरिब र सोझासाझाको हुर्मत लिनु उसको दैनिकी नै थियो।
नौरथा सुरु भयो। इमानसिंह अब चाडबाड कसरी मनाउने भन्ने बारेमा सोचिरहेको थियो। दुई जना प्रहरी आए र सोधे, ‘तपाईँ इमानसिंह होइन? तपाईँको नाममा सीमा मिचेको उजुरी छ। चौकीमा हिँड्नुहोस्।’
अरू कुनै कुरा नसोची प्रहरीले इमानसिंहलाई लिएर हिँडे। घरमा रुवाबासी सुरु भयो। उसका आँखाबाट पनि बर्र आँसु झरे तर यहाँ आँसुको मोल बुझ्ने को छ र? उसले मूल्यहीन आँसु चुहाइरह्यो।
उजुरी चन्द्रविक्रमले दिएको रहेछ। असारको पानीको निहुँको बदला लिन उसले बिनसित्तिमा सीमा मिच्यो भनेर उजुरी गरेछ। उजुरी नै लिनुपर्ने ठाउँ नहुँदा पनि चन्द्रविक्रमको शक्तिका अघि केही नलागेर उजुरी गरेको रहेछ। तीन दिन चौकीमा राखेर समाजमा दाग लगाई प्रहरीले इमानसिंहलाई घर फर्काइदियो।
यसरी नै गाउँका धेरै निर्दोषलाई चन्द्रविक्रमले फसाइरह्यो, अरू त्रसित बनिरहे। उसले न त पछि फर्केर हेर्यो न त कसैलाई निर्दोष प्रमाणित गर्ने अवसर नै दियो।
मङ्सिर महिना थियो, चन्द्रविक्रम एक्कासि बिरामी पर्यो। उसलाई भेट्न उसका घरमा उसैका हैसियतका मानिस मात्र आउँथे। गरिब गुरुबाले चन्द्रविक्रमको आँगन टेक्नु भनेको आँगनको मात्र नभई उसको अपमान ठानिन्थ्यो। उसका घरमा प्रजातन्त्र आएकै थिएन। त्यसैले बिरामी पर्दा पनि गाउँले उसको घरमा जान सक्दैनथे। गाउँलेका लागि उसका घरका कुरा थाहा पाउनु भनेको एउटा ठुलै युद्ध जित्नु जस्तो थियो।
एक दिन पानी भर्न धारमा जाँदा जमुनीले कागुनीलाई सुनाई- ‘राजा साहेब त धेरै पो बिरामी हुनुहुन्छ रे त। निको नहुने रोग लागेको रे। अपरेसन कि कुन्नि के गर्नुपर्ने रे। हिजो ठुलाबडाले कुरा गरेको सुनेका यी कानले।’
कुरा सुनेर कागुनीले जिब्रो टोकी, केही बोल्न सकिन।
नभन्दै चन्द्रविक्रमका घरमा मानिस आउने क्रम घट्दै गयो। उसका हैसियतका मानिसलाई पनि सायद उसले चिढ्याएको हुनुपर्छ, त्यसैले बिरामी परे पनि त्यति वास्ता नगरेका होलान्। गाउँलेको त आउने कुरै भएन। केही दिनपछि घरका बाहेक अरू मानिस देखिनै छाडे।
शनिवारको दिन थियो। बेलुका १२ बज्नै लागेको रहेछ। इमानसिंह दिनभर काम गरेर थाकेको थियो। उसले सपनाको तन्द्रामा केसैले बोलाएको सुन्यो, ‘इमानसिंह काका! काका! उठ्नु न। बाबा हजुरलाई धेरै गाह्रो भयो। आउनु न। काका!’ ऊ भक्कानिएर रुन थाली।
इमानसिंहले पहिले त यस्ता अपराधीका परिवारको कुरा के सुन्नु भनेर वास्ता गरेन। अर्को कोल्टो फेरेर धुसाले मुख छोप्यो। बाहिर एक अबोध झैँ नानी रोइरही। एकछिनमा उसको मनले भन्यो, ‘यो मैयाँको के दोष छ र! उसको बाबुले गर्ने कर्तुत यसलाई थाहा पनि छैन। के भएछ बुझ्नुपर्यो। छिमेकीको धर्म त बिर्सनुहुँदैन।’
ऊ धुसा फालेर उठ्यो, दैलो उघार्यो र मैयाँसँगै चन्द्रविक्रमका घरमा पुग्यो। चन्द्रविक्रमको चेत थिएन। उसकी पत्नी रोइरहेकी थिई।
‘आज बाबुसाहेबलाई कालले उजुरी गरेछ कि क्या हो?’
उसले हतार हतार नाडी छाम्यो अनि केही नभनी उसलाई बुई बोकेर सकेसम्म चाँडो दौडियो।
एक घण्टामा इमानसिंहले चन्द्रविक्रमलाई अस्पताल पुर्यायो। राति भएकाले अस्पतालमा धेरै मानिस थिएनन्। उसले कुर्सीमा चन्द्रविक्रमलाई राख्दै स्वाँस्वाँ गर्दै भन्यो, ‘डाक्टर मान्छे मर्न लाग्यो। बचाउनुहोस्।’
उसले कसलाई डाक्टर भन्यो त्यो चाहिँ उसैले थाहा पाएन। एकैछिनमा डाक्टर आए। चेक जाँच गरे अनि कुन्नि कता लिएर गए।
एउटी नर्सले सोधिन्, ‘बिरामीको नाम के हो दाइ? तपाईँको को?’
‘बिरामीको नाम राजासाहेब अनि मलाई उजुरी गर्ने छिमेकी।’
‘ठट्टा नगर्नुहोस्। यो प्रेस्क्रिप्सन लिएर यसमा लेखिएको औषधी र दुई पिन्ट ओ पोजेटिभ रगत तुरुन्त ल्याउनुहोस्,’ नर्सले फेरि भनिन्।
‘मसँग औषधी किन्ने पैसा छैन। रानी साहिबा नै आउनुहोला। रगत चाहिए नसा काटेर लगे हुन्छ,’ उसले टोपीले पसिना पुछ्दै भन्यो।
बिरामीलाई तुरुन्त अपरेसन गर्नुपर्ने भयो। बिरामी ल्याउनेले राजासाहेब भनेको सुनेर हो कि धेरै कुरा नगरी काम सुरु भयो। एकैछिनमा नर्सले इमानसिंहलाई बोलाएर अलिकति रगत लिइन्। त्यसको केहीपछि उसैलाई बोलाएर दुई माना जति रगत झिकेर भित्र पसिन्।
इमानसिंहले सोच्यो, ‘यिनले मेरो रगत त लगे, अब अरू केही चाहियो भने शरीर काट्छन् होला। यहाँ बस्नु अब ठिक छैन। फेरि पक्रेर जेल हाले भने बरबाद हुन्छ।’
ऊ नर्सको आँखा छलेर भाग्यो। रानीसाहिबा पुग्दा अपरेसन सकिएको थियो। उनलाई चिन्नासाथ डाक्टरले भने, ‘धन्न रगत मिल्यो र बचाउन सकियो। तपाईँको बिरामी अहिले ठिक हुनुहुन्छ।’
दुई सातापछि चन्द्रविक्रम घर फर्कियो। यस पूर्व नै गाउँमा हल्ला फिँजिएको थियो, इमानसिंहले काँधमा बोकेर चन्द्रविक्रमलाई अस्पताल लग्यो रे। अस्पतालमा कसैले दुई माना रगत दिएर चन्द्रविक्रमलाई बचायो रे।
अस्पताल लाने मानिस त चिनियो तर रगत दिने इमानी कहिल्यै चिनिएन।