ठुल्दाजै,
तिमीले फोरेका भदौरे बाँझो
र असारे रोपाइँले पनि
फेर्न नसकेको शिरको टोपी
देखेर हो म
मुगलान पसेको
ठुल्दाजै,
मौसमी असरले
पटपटी फुटेका खेतका फाँट जस्तै
फुटेका तिम्रा कुर्कुच्चा देखेर हो
म मुगलान पसेको
घामका किरण तिम्रै
आङलाई स्पर्श गर्दा
बर्खाको पानी र तिम्रो पसिनाको
ककटेल गन्धले आत्तिएर हो
म मुगलान पसेको
वर्षाको भलले
बगाइरहँदा
खोलाको कुलो
आत्तिएर दौडिरहँदा
भनेको म सम्झिरहेछु
मातिएको मान्छे र
बडेको खहरेसँग
जुध्न सकिँदैन बाबै
दाजै त्यति महान् बाढी
कसरी सिक्यौ
चार पर्खालको
खाडलमा बसेर
कसरी सिक्यौ जीवन दर्शन संसार डुलेर पनि
बुझ्न सकिनँ जीवन
चिन्न सकिनँ मान्छे
दाजै
तिमीलाई सम्झेर टोलाइरहेछु
हेयको नजरले हेर्ने म
पछुताइरहेछु।
बिझेको शिरको टोपी
उल्टो पार्दै
एकछिन ओतमा बसेर
छिटो छिटो
खाजा खानै लाग्दा
पारी डहरे पहिरो हेर्दै
टोलाए थ्यौ तिमी
भनेथ्यौ-
‘साँझ पर्न थालो
छायाले डहरेलाई उछिन्न थालेछ
त्यस्तै कालले पनि
मलाई उछिन्न थालेछ कि के हो?
थकाइ पो लाग्न थाल्यो
यहीँ खोलाको छेउमा छ
बाको चिहान
मेरो पनि आउने बेला भए जस्तै छ’
अनि मुस्कुराए थ्यौ तिमी
म सम्झिरहेछु
त्यो
मुस्कान पछाडिको
पीडा अनि छटपटी
भन्थ्यौ,
‘मान्छे पनि त्यही छाया जस्तै हो
डुब्छ घाम सकिन्छ छाया
पुग्छ उमेर सकिन्छ मान्छे’
कयौँ दर्शनको ठेली पढेर
नबुझेको जीवन
तिमीलाई सम्झेर बुझ्दै गएछु ठुल्दाजै
मुस्कुराउनु नै
संसार जित्नु रहेछ
आफ्नै माटोमा मिल्नु नै भाग्यमानी हुनु रहेछ
तिमी भाग्यमानी छौ
तिमी साँच्चिकै महान् छौ ठुल्दाजै।