कर्मकल्चर
जेन–जी आन्दोलनले देशमा रातारात आकाश–जमिन फर्काइदिएझैं परिस्थिति बदलिएसँगै हाम्रो गाउँमा एउटा सानो छलफल चल्दै थियो।
एउटा निर्माण कार्यका लागि समिति बनाउँदा को–कोलाई राख्ने भन्नेबारे सल्लाह हुन थाल्यो।
सुरूमा त देशभरका पुराना पार्टी र नेताहरूको के–कस्तो बिजोग भयो भन्ने एकले अर्कोलाई आ–आफ्नो मोबाइलमा देखेका अपत्यारिला कुराहरू सुनाउने बसिबियाँलो चलिरहेको थियो।
एक जनाले सबैको ध्यान तान्दै भने, 'अरू सबै ठीक छ, तर समितिमा अब जेन–जीको पनि प्रतिनिधित्व चाहियो!'
'अरू सबै ठीक छ' भन्ने उनको भनाइमा त्यहाँ टिपिएका नामहरू महिला, जनजाति र दलित परे, नपरेको सम्झिँदै गरिएको टिप्पणी थियो।
'जेन–जीका त उनी छन् नि,' भनेर कसैले कसैलाई देखाएको थियो।
तर उनले भने, 'उनी त पूर्वजेन–जी हुन्।'
जेन–जी जनआन्दोलनले जम्मा दुई दिन सहरी विद्रोह गरेर देशलाई यस्तो हल्लायो, जसले हाम्रो राज्यका सबै रोगहरू, आन्तरिक संकटहरू, लोकतन्त्रका प्रश्नहरू र सरकारी संयन्त्रका सीमाहरूलाई विश्वभरि छरपस्ट गरिदियो। यसका असरहरू भविष्यमा विभिन्न तह र तर्कमा पर्दै जानेछन्।
सबभन्दा ठूलो प्रभाव के देखियो भने, नयाँ पुस्ताले ठूलो परिवर्तन सम्भव छ भन्ने कुरा स्थापित गर्यो। मनोवैज्ञानिक रूपमा देशमा आज जेन–जीको अस्तित्व स्वीकारिएको छ।
जेन–जीले आफै सरकार बनाउन खोजेन। उसले अनुभवी तर सफा अनुहारहरू खोज्यो। तुरून्तै सरकार बनाउने वा फेरबदल गर्ने तयारी पनि थिएन। उसले त सुशासनको सुसेली हाल्न खोजेको मात्र थियो, तर जब युवाहरूको जोसले प्रहरी अवरोध तोड्यो, तातो गोली टाउको र छातीमा लाग्यो।
परिणामतः हुने, नहुने सबै किसिमका उपद्रव र बिस्फोट भए। सरकारको राजीनामाले मात्र पुगेन, प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको व्यवस्था गर्नुपर्यो।
अन्तरिम सरकारले चुनाव गराउने कार्यभार त पायो, तर संक्रमणकालको बेडा पार गर्नुपर्नेछ।
नवयुवा सहिदहरूको आलो रगत र राज्य सम्पत्तिको विनाशको रासमथि राष्ट्रिय एकता कायम गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण तयार गर्नुपर्नेछ।
यो सजिलो काम होइन। यसको मुख्य प्रश्न नयाँ राजनीतिलाई धान्ने शक्ति कुन हो र त्यसले कस्तो स्वरूप लिन्छ भन्ने हो।
नयाँ राजनीति भनेको सुशासन सुनिश्चित गर्ने गरी युवा पंक्तिको सशक्त भूमिका हो। त्यो पंक्तिले अन्तरिम सरकारलाई आत्मबल दिने, साथ दिने र दबाब दिने काम गर्नुपर्नेछ।
यो युवा पंक्ति 'हामी नेपाल' भन्ने समूह मात्र होइन, न त डिस्कर्डमा सक्रिय असंख्य युवा मात्र न उनीहरूले रूचाएको देखिएका मेयर बालेन्द्र शाह नै।
भलै उनीहरूले नयाँ राजनीतिक पार्टी खोलेर राष्ट्रिय शक्ति आर्जन गर्न सक्छन्!
तर यहाँ म तर्क गरिरहेको छु —सामान्य युवाको बारेमा।
राष्ट्रपति रामचन्द्र पौडेलले 'बडो जुक्तिसाथ' संविधान जोगाएर जुन दिशामा देशको राजनीतिक अभिभावकत्व लिए, त्यसलाई सफल बनाउने अहम भूमिका आज देशभर असंगठित रूपमा रहेका युवाहरूको हो।
उनीहरूको समझदारी र खबरदारीबाट मात्र लोकतान्त्रिक राजनीतिको स्थायित्व सम्भव छ।
राष्ट्रपति पौडेलले 'युवा पुस्ताको आकांक्षा अनुसार' भनेर जुन सहमतिलाई औपचारिकता दिएका छन्, त्यो युवा पुस्तामाथिको आह्वान पनि हो।
युवाको बलियो हस्तक्षेप हुन सक्ने वातावरण राजनीतिक पार्टीहरूमा थिएन। पार्टीहरू निजामती सेवाजस्तै भइसकेका थिए — तर त्यहाँ अवकाशको व्यवस्थै छैन।
त्यही भएर 'देशभन्दा पार्टी, पार्टीभन्दा नेता ठूला' भनेर सुमना श्रेष्ठले पोखेको दुखेसो ठीकै हो।
अघिल्लो जनआन्दोलनले राजनीतिक प्रणालीलाई समावेशी बनायो। त्यसैले आज देशमा मन्त्रिपरिषददेखि वडा, टोलसम्मका संरचना बनाउँदा समावेशिता अपरिहार्य बनेको छ।
त्यो अघिल्लो जनआन्दोलनको मुख्य योगदान हो।
यो आन्दोलनको त्यस्तै योगदान हुनेछ — युवा प्रतिनिधित्व। हुनैपर्छ।
तर उनीहरूको समावेशिता भएन भने जसले पनि युवाको डर पालिरहनेछ। गर्तमा बिस्फोटक पदार्थ जम्मा भइरहने अवस्था हुन्छ। त्यो सधैं खतराको सूचक बन्नेछ।
हाम्रो टोलको छलफलमा जेन–जी थिएनन्। समितिमा राख्ने नाम फेला पार्न पनि गाह्रो पर्यो। किनभने गाउँघरमा जेन–जी अड्याउन कहाँ सजिलो छ र?
देशमै त अड्याउन गाह्रो छ।
अब गाउँघर के, देशमै युवा कसरी अड्याउने भन्ने छलफल समेत कम्तीमा जेन–जी नै राखेर गर्नुपर्ने भयो!
होइन त?
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle