बेइजिङ डायरी
भदौ २३ गते काठमाडौंमा भएको जेन–जीको प्रदर्शनमा प्रहरीको गोलीबाट युवाहरूको मृत्यु भएको समाचार साँझसम्म चिनियाँ सञ्चार माध्यमहरूमा छ्यासछ्यास्ती भइसकेका थिए।
भोलिपल्ट काठमाडौं उपत्यकासहित देशभर भएको तोडफोड, आगजनी, लुटपाट र विध्वंशले विश्वलाई नै स्तब्ध बनायो। चिनियाँले पनि दुःख प्रकट गर्दै सान्त्वना प्रकट गर्न थाले।
मेरो मोबाइलको विच्याटमा एकपछि अर्का सन्देश आउन थाले।
प्रायः सबै चिनियाँको साझा चासो थियो — नेपालमा के भइरहेको छ?
उनीहरूका प्रश्न र चासोको जबाफ मसँग थिएन।
म आफैले आफैलाई प्रश्न गरिरहेको थिएँ — साँच्चै नेपालमा के भइरहेको छ?
मैले उनीहरूलाई जबाफ दिन नपाउँदै उनीहरूको चिन्ता र सहानुभूति मिश्रित प्रश्न हुन्थे — तपाईंका परिवार र आफन्तजन त सुरक्षित हुनुहुन्छ नि?
म के जबाफ दिऊँ!
मेरा परिवार र आफन्त सुरक्षित भएर के गर्नु, मेरो देश नै असुरक्षित भएपछि!
देशका महत्त्वपूर्ण संरचना ध्वस्त बनाइएपछि, सम्पदाका रूपमा रहेका ऐतिहासिक भवन सिध्याएपछि, देशको इतिहास बोकेका महत्त्वपूर्ण कागजात र तथ्यांक डढाएपछि कसरी आफ्नो पहिचान जोगाउन सकिएला भन्ने चिन्ता म चिनियाँ साथीलाई कसरी व्यक्त गर्न सक्थेँ!
नेपालमा राजनीतिक अस्थिरता छ भन्ने कुरा सबै चिनियाँले जानेको कुरा हो। वर्षैपिच्छे सरकार परिवर्तन, सरकारपिच्छे नीति परिवर्तन, राजदूत परिवर्तन, नेताका बोली परिवर्तन आदि कुराले चिनियाँहरू दिक्क भएको सुनाउँछन्।
चिनियाँ नेताले नेपाली नेतासँग भन्ने साझा कुरा हो — राजनीतिक स्थिरताबाट मात्र आर्थिक विकास गर्न सकिन्छ।
बेइजिङ बसाइका एक दर्जन वर्षमा चिनियाँले नेपालप्रति यति धेरै चासो राखेको यो दोस्रो पटक हो।
२०७२ सालमा भूकम्प जाँदा धेरै चिनियाँहरूले सान्त्वना दिएका थिए। उनीहरूले त्यति बेला नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चासो राख्थे। अहिले पनि के भएको हो भनेर जिज्ञासा राख्छन्।
प्रहरीको गोलीबाट नागरिकको मृत्यु हुनु आफैमा जघन्य अपराध हो। यस घटनाको छानबिन गरी न्यायिक कारबाही अवश्य हुनुपर्छ।
नयाँ सरकारले ती मृत्युवरण गर्नेहरूलाई आवश्यक क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ। तर कुरा यति मात्र गरेर हुँदैन। आगजनी र तोडफोड गर्नेहरूमाथि कारबाही गरेर दण्डहीनता पनि अन्त्य गर्नुपर्छ।
सबभन्दा ठूलो कुरा सरकारको नेतृत्वमा रहने व्यक्तिको बोली र निर्देशनको अनुसन्धान हुन आवश्यक छ। पूर्ववर्ती सरकारले नागरिकमाथि गरेको जघन्य अपराधमा को को दोषी थिए भनेर अनुसन्धान गरी दोषीलाई दण्ड, सजायको दायरामा ल्याउनुपर्छ।
सरकारमा जो बस्छ ऊ जिम्मेवार हुनैपर्छ।
अहिले सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बनेकाले सुशासन, न्याय, अधिकार, नागरिक सर्वोच्चताका लागि धेरैको अपेक्षा पनि छ। तर प्रधानमन्त्री कार्कीको बोली पनि जिम्मेवार हुनुपर्छ।
समाचारहरू अनुसार उहाँले आगजनी भएका प्रहरी कार्यालय अवलोकन गर्दै प्रहरीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो।
आन्दोलनका घाइते भेट्न अस्पताल पनि पुग्नुभयो। प्रहरीद्वारा कुटिएका घाइतेलाई सान्त्वना दिने क्रममा उहाँले जे भनेको सुनियो, त्यसले कुराहरू परस्पर बाझिएका छन्।
प्रधानमन्त्री भनेको सबै जनताको हो। प्रदर्शनकारी, प्रहरी र आम नागरिक सबैको प्रधानमन्त्री हुनुपर्छ सुशीला कार्की। जिम्मेवारीमा रहँदा आवेगमा आउने, कसैलाई खुसी बनाउने, कसैलाई फकाउने जस्ता काम गरे पदको गरिमा गिर्न सक्छ।
नेपालमा यस अगाडि पनि थुप्रै आन्दोलन भएका छन्। मानवीय र भौतिक क्षतिका हिसाबले यस पटकको आन्दोलन सबभन्दा पीडादायी रहेको कुरा इतिहासले पनि पुष्टि गर्नेछ।
छिमेकी मुलुक चीनको राजधानी बेइजिङमा बसेर आन्दोलन नियाल्दा असीमित पीडा बोध भयो।
आफ्नो कार्यस्थल र मातृभूमिका बीच स्वच्छ र शीतल हिमाल ठडिएका छन्। मातृभूमि जलिरहँदा ती हिमालले शीतलता दिन सकेनन्। बरू मनभित्रको ज्वाला पग्लिएर आँशुरूपी लाभा बाहिर निस्किरहेका छन्।
नेपालमा हुने आन्दोलनहरू सरकार परिवर्तन गर्न अथवा आफ्ना माग पूरा गर्न हुन्थे।
यस पटकको आन्दोलनका मुख्य दुइटा माग बाहिर आएका थिए — सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार नियन्त्रण।
आन्दोलनपछि नतिजा फरक देखिएको छ।
सरकार मात्र परिवर्तन भएको छैन, प्रतिनिधि विघटन गरिएको छ। अब ६ महिनापछि निर्वाचन भएर संविधानलाई सही ठाउँमा ल्याउनुपर्नेछ।
सार्वजनिक सम्पत्तिमाथिको यो खालको आक्रमण र विध्वंश सिरिया, अफगानिस्तान र प्यालेस्टाइनमाथि देखिएको थियो। त्यहाँ भयंकर गृहयुद्ध भएको थियो। विदेशी सेना आएर बम बर्साएर निमिट्यान्न बनाएर फर्किए।
नेपालमा त्यो अवस्था थिएन, न गृहयुद्ध भएको थियो न विदेशी सेना आएका थिए।
सरकार नभएको शून्य समयमा देश ज्वालामा दन्किरहेको थियो। त्यस्तो बेला नेपाली सेना मुकदर्शक बन्नु हुन्थ्यो कि हुँदैन थियो भन्ने प्रश्नको जबाफ आम नागरिकले मागिरहेका छन्। सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संसद भवन, विभिन्न मन्त्रालयका भवनहरू, निजी क्षेत्रका होटल र व्यावसायिक केन्द्र, सञ्चार गृहमा आगो झोसिँदै गर्दा र आगो दन्किरहँदा सेनाले रोक्न तदारूकता नदेखाको भान भयो।
सबै सम्पत्ति स्वाहा भएपछि मात्र सेना परिचालित भएर नियन्त्रण गर्न अगाडि सर्यो। सेना परिचालन पनि कुनै संवैधानिक निकायबाट आदेश पाएर भएको देखिँदैन। सेनाले आफ्नै विवेक प्रयोग गरेको हो भन्ने बुझिन्छ। त्यस्तो विवेक आगजनी सुरू हुँदा नै किन भएन भन्ने पनि नेपाली सेनाले प्रष्ट्याउन आवश्यक छ। अहिले नभए पनि कुनै पनि समयमा नेपाली सेनाले यी प्रश्नको जबाफ दिनुपर्छ।
यो लेख लेख्दै गर्दा मेरा मित्र पत्रकार सीताराम बरालले फेसबुकमा लेखेको देखेँ।
उनले लेखेका छन् — जलेर ध्वस्त भएको हिल्टन होटलले हामी पत्रकारहरूलाई भनिरहेको छ — राजनीतिक पार्टी र नेतृत्व मात्र होइन, सच्चिनुपर्ने आवश्यकता पत्रकारितामा अझ धेरै छ। प्रकाशन र प्रसारण गर्नुअघि के प्रकाशन–प्रसारण गर्ने, नगर्ने, दीर्घकालीन परिणाम हेरेर मात्र निर्णय गर्नु ल!
केही समय अगाडि हिल्टन होटलमा एक नेताको छोराको लगानी रहेको चर्चा थियो। एक पत्रकार र केही युट्युब च्यानलहरूले पनि यसबारे बोलेका थिए। मानिसहरूले त्यही कुरा पत्याए।
आन्दोलनमा उत्तेजित भिडको आक्रोशको आगोमा यस्ता अप्रमाणित कुराले तेल थप्छ। त्यस्तै भ्रामक, अफवाह, अपराध गर्न उक्साउने जस्ता सामग्री पनि यसपालि सिर्जना गरिएका छन्। कतै ८० किलो सुन भएको भनिएको छ, कतै जेल तोडेर कैदबन्दी भगाउन उक्साइएको छ। आगजनी, आक्रमण, विध्वंश मच्चाउन उक्साउने उद्देश्यले झुट सामग्रीहरू बनाइएको छ।
यही कुरा संकेत गर्दै पत्रकार बरालले हामी पत्रकारहरू पनि जिम्मेवार हुनुपर्ने र हाम्रा सामग्रीले समाज र राष्ट्रलाई क्षति पुग्नु नहुनेमा सचेत गराएका हुन्।
राजनीतिक नेतृत्वमा बसेका व्यक्तिले अवश्य गल्ती गरेका थिए। उनीहरूलाई युवा पुस्ताले सजाय दिन आवश्यक पनि थियो। देशमा मौलाएको भ्रष्टाचार, बढ्दो बेरोजगारी, युवा पलायन, जनताका नजरमा बदनाम कर्मचारीतन्त्र, नातावाद आदि कुचलनले सबैलाई दिक्क बनाएको थियो। यसको विकल्प खोज्न आवश्यक थियो।
तर यत्रो ठूलो विध्वंश र आगजनीले देशलाई धेरै पछाडि पारेको छ।
यही क्षतिका कारण आउने पुस्ताले अझै धेरै पीडा सहनुपर्ने बाध्यता छ। भीड कसैको नियन्त्रणमा हुँदैन। भीडभित्र विवेक हराउँछ। परिणाम के हुन्छ भन्ने अनुमान गर्न सकिँदैन। एकैछिनको हाहा र होहोमा लागेर मान्छेले गरेको कार्यले देशलाई दीर्घकालीन असर पुर्याउँछ।
दुलोभित्र लुकेको मुसा मार्न पूरै खेतबारीमा आगो लगाएझैं भएको छ। खरको छानोमा बारूलाको गोलो हटाउन झुम्रो बालेर झोस्दा घरै जलेर नस्ट भएझैं भएको छ।
तब त पत्रकार बसन्त बस्नेत लेख्छन् — पलहरूले गल्ती गरेका थिए, शताब्दीले सजाय पायो।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)