विमानस्थलहरू प्रायः यात्रा र सम्पर्कका ढोकाहरू मानिन्छन्। तर सन् २०२५ सेप्टेम्बरमा ग्वाङ्जाउ विमानस्थल मेरो लागि भयको पिँजडा बन्यो। म केवल उडानबिच अड्किएको थिइनँ। म त दुई संसारबिच अड्किएको थिएँ जहाँ एकतर्फ चम्किला तथा अत्याधुनिक संरचना र मधुर आवाजले भरिएको विमानस्थलको सूचना थियो भने अर्कोतर्फ आगो, गोली र जेन-जीले गरेको आन्दोलनको भुमरीमा जलेको मेरो मातृभूमि नेपाल।
मैले बेइजिङमा ‘दिगो विकास लक्ष्यका लागी ठुला तथ्याङ्क’ सम्बन्धी विश्व सम्मेलन सकेर फर्केको थिएँ जहाँ सहनशीलता, सुशासन, अल्प-विकसित र विकसित राष्ट्रहरूले अबका दिनमा उपलब्ध तथ्याङ्क कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल चलेको थियो। अपसोच ९ सेप्टेम्बरको बिहान ट्याक्सीमा बेइजिङबाट विमानस्थलतर्फ जाँदा मेरो देश आन्दोलनको भुमरीमा पर्दै थियो।
काठमाडौँमा ‘जेनेरेसन–जेड’ को आन्दोलन भड्किएको थियो। उन्नाइस युवाहरू प्रहरीको गोलीबाट मारिएका थिए। सिंहदरबार र राज्यसत्ता कलिला लक्का नौजवान हरूको छातीमा गोली दाग्दै थियो। अनिश्चित भिपिएनमार्फत समाचार हेर्ने प्रत्येक प्रयासले मेरो पेट झन् गाँठो पार्थ्यो। बेइजिङका सहकर्मीहरू साथीहरू जलवायु र अर्थतन्त्रबारे कुरा गर्थे, म भने नेपाल बारे सोचिरहेँ। घरबाट श्रीमतीले बेला बेलामा नेपालमा भइरहेको आन्दोलनको बारेमा समाचार दिन्थिन जसले झन् पीडा गराउँथ्यो।
पीडादायी विमानस्थलका संवाद
साँझसम्म पीडादायी यात्रा सुरु भइसकेको थियो। ग्वाङ्जाउबाट काठमाडौँ जाने हाम्रो उडान रद्द गरियो। इमिग्रेसन लाइन, एयरलाइन डेस्क र चेक-इनहरू निराशामा बदलिए। विमानस्थलदेखि क्रिस्टल होटेलसम्मको यात्रामा विभिन्न साथीहरू काम र जीवनबारे कुरा गर्न खोज्थे म भने आततायीहरूको कठोर मन र बन्दुकको गोली मात्र सम्झेको थियो किनकि नेपाल जलिरहेको थियो।
भोलिपल्ट बिहान होटेलको रेस्टुरेन्ट अनिश्चितताले बाँधिएका अपरिचितहरूको भेट्ने स्थल बनेको थियो। कोरियाबाट आएको युवाले आफ्नो ब्याकप्याक समाउँदै सास फेर्यो र भन्यो, ‘मैले आमा बुवालाई नभनीकन आएको हो, अब यदि आमाबाबुले समाचार सुने भने मलाई आउन नै नदेलान् भन्ने डर लागेको छ।’
उनको छेउमा सिड्नीबाट फर्कँदै गरेका नेपालीले चियाको चम्चा बिस्तारै चलाउँदै भने, ‘मैले पञ्चायतको पतन देखेको छु, राजा जाँदा देखेको छु र अनि अब यो…।’ यो कुनै चीजको अन्त्य हो जस्तो लाग्छ भन्दा भन्दै उनको स्वर टुट्यो।
कोठाको कुनामा जापानबाट यात्रा गरिरहेकी चालिस वर्षीय महिलाले बिस्तारै थपिन्, ‘मेरो बच्चाहरू काठमाडौँमै छन्। म तिनीहरूलाई केवल अँगाल्न चाहन्छु। मलाई घर पुग्नु छ।’ उनका शब्दहरूले माहौल नै मौन बनाइदियो।
मैले सुरेशजी तर्फ हेरेँ र फुसफुसाएँ, ‘के हामी भग्नावशेषमा फर्किने हौ?’ उनले आँखा झुकाए किनकि हामीसँग जवाफ थिएन।
प्रतीक्षाको पीडा
प्रतीक्षाको घडी आफैँमा एक किसिमको यातना हो। होटेलको नास्ता, घण्टौँसम्म समाचारको हेराइ, उडान कर्मचारीसँगको निराशाजनक संवाद अनि अस्पष्ट आश्वासनले पीडामाथि पीडा थपेको थियो। प्रत्येक हेडलाइनले मनको घाउ गहिरो पार्दै गयो जहाँ सेनाको परिचालन, राज्यको पतन र प्रजातन्त्रले अन्तिम सास फेरे जस्तो आभास हुन थाल्यो।
मलाई फेरी एकाएक ११ सेप्टेम्बर तनाव भयो किनकि जापान, कोरिया र अस्ट्रेलियाबाट आएका यात्रुहरूलाई पहिले नै उडान फेरि बुक गरिएको रहेछ। हामी चीनबाट आएको हुनाले पछि व्यवस्था गर्छु भनेर भने पछि सुरेश र मैले काउन्टरका कर्मचारीलाई निरन्तर बिन्ती गर्यौँ। अन्ततः सायद दयावश उनीहरूले हाम्रो नाम स्ट्यान्डबाइ सूचीमा लेखे। यो वाचा थिएन तर केही आशा चाहिँ पक्कै थियो।
छोराछोरी भेट्न आतुर अभिभावक, पटक पटक आन्दोलन देखेर थाकेका बुढापाका अनि अधैर्य लक्का नौजवानहरू राती सुत्ने बेलामा पटक पटक मेरा सम्झनामा आइरहे।
घाइते मातृभूमितर्फको फर्काइ
१२ सेप्टेम्बरको बिहान मेरो घडीको अलार्मले बेचैन निद्राबाट उठायो। पहिले नै प्याक गरिएका ब्यागहरू र थाकेका स्नायु लिएर म र सुरेश विमानस्थलको काउन्टरको अगाडि क्षमा दानको प्रतीक्षा गरिरहेका कैदीझैँ उभियौँ। घण्टौँसम्म जवाफ आयो- ‘सीट छैन।’ आसा सबै मरिसकेको थियो। तैपनि मैले सुरेशजी लाई अब अन्तिम पटक सोधौँ भनेँ। धन्य भगवान् उनीहरूले जम्मा दुई सिट छ भनेर भनेपछि ठुलो राहत मिल्यो।
बोर्डिङ पास समात्दा मेरो हात काँपिरहेको थियो। विमान नेपाली अनुहारले भरिएको थियो। उदास, थाकेको अनि विचलित भएको म ग्वाङ्जाउको आकाशबाट विमान उचालिँदा एक लामो श्वास फेरेँ। त्रिभुवन विमानस्थलको माथि आइपुग्दा कोटेश्वरको जलेको भाटभटेनी देख्दा मुटु नै भक्कानो पर्यो।
विमानस्थलबाट प्रि-पेड ट्याक्सी लिएर घर गएँ जहाँ बुबा, आमा, श्रीमती अनि छोरा मेरो व्यग्र प्रतीक्षा गरिरहेका थिए। उनीहरूको मुस्कानले मेरो अधैर्य मन केही हदसम्म शान्त भयो। म घरमा त आइपुगेको थिएँ तर त्यो मैले १० दिन अगाडि छोडेको नेपाल थिएन। म त आगो र भययुक्त नेपाल जहाँ प्रजातान्त्रिक व्यवस्था ध्वस्त भई अधिनायकवादी व्यवस्थातर्फ लम्कन्छ कि भन्ने ठुलो भय थियो।