रजनी र उसको मागी विवाह नै भएको हो। विवाह अगाडि भेटघाट र कुराकानी पनि राम्रैसँग भएकै हो। ऊ कुनै जिल्लामा सरकारी कार्यालयमा जागिरे थियो भने रजनी स्नातकसम्म पढेकी भए पनि जागिर भने थिएन। यद्यपि केही दिन अघिसम्म एउटा बोर्डिङ स्कुलमा पढाउँथिन् तर स्कुल नचलेपछि जागिर छुटेको थियो।
केटालाई यी सबै कुरा भनिएकै थियो र यी सबै कुरा स्वीकार गरेर नै बिहेको कुरो छिनिएको थियो। बिहेको सबै औपचारिकता पूरा भएका केही दिनपछि उनीहरू उसको जागिर भएका स्थानमा गए। बिहे पछिका सुनौला दिन राम्रैसँग बिते। श्रीमान दैनिक अफिस जाने, रजनी पनि नोकरीका लागि प्रयास गर्दै लोकसेवा लगायत स्थायी नोकरीका लागि तयारी गर्ने। यसरी ६–७ महिनासम्म रमाइलैसँग दाम्पत्य जीवन चल्दै यियो। छिट्टै कुनै जागिर खाएर श्रीमानको आर्थिक बोझ कम गर्ने रजनीमा हुटहुटी थियो।
यद्यपि केही महिनाअघि देखि श्रीमानको व्यवहारमा केही परिवर्तन आएको भने रजनीले महसुस नगरेकी भने होइनन्। कहिले केही बहाना बनाएर कोठामै नआउने, कहिले ढिलो आउने र कहिले मातेर हल्लिँदै आएर घुप्लुक्क सुत्ने। केही बोल्यो वा सोध्यो भने झर्किने गथ्र्यो तर पनि अफिसको कुनै टेन्सन होला भनेर उनी चुप नै थिइन्।
एक दिन ऊ अफिसबाट अलिक ढिलो गरी फर्कियो र ‘म खाना खान्नँ’ भनेर सुत्यो।
बिहान अबेला उठी खाना खाएर अफिस जान तयार भएपछि उसले रजनीतर्फ एउटा कागज तेस्र्याउँदै ‘यसमा सही गरी मलाई सहयोग गर’ भन्यो।
रजनीले ‘के हो ?’ भनिन् तर उसले ‘पढेर गर न’ भन्दै रजनीका हातमा कागज थमायो।
रजनीले पढिन्, कागज उसँग सम्बन्ध विच्छेदको थियो। कागज पढिसकेपछि रजनी छाँगाबाट खसेजस्तो भइन्। केही बोल्नै सकिनन् न त रून नै सकिन्। धेरैबेर मूर्तिवत् उभिएपछि डाको छोडेर रूँदै ‘किन हजुरले यस्तो कुरा गर्नु भएको? मबाट के गल्ती भयो? कुनै गल्ती भएको भए म सुधार्छु, जुनसुकै सजाय दिए स्वीकार्छु तर यो कागजमा सही गर्दिनँ’ भनिन्।
उसले ‘सबै कहानी म भरे भन्छु, भरेसम्म सोचेर यो कागजमा सही चैं तिमीले कुनै हालतमा गर्नैपर्छ’ भनेर ऊ हिँड्यो।
रजनी केही सोच्नै नसकी धेरैबेर रोइन्। रोएर थाकिसकेपछि सम्बन्ध विच्छेद गरिपाऊँ भनी रजनीका तर्फबाट लेखिएको ब्यहोराको त्यो कागज धेरै पटक पढिन्। त्यस कागजमा ‘लोग्नेले आफूलाई खान/लाउन नदिई बराबर कुटपिट गर्ने गरेका कारण आफू यो लोग्नेसँग बस्न नसक्ने हुँदा सम्बन्ध विच्छद गरीपाऊँ' भनी मेरो मञ्जुरीसाथ यो निवेदन गर्दछु’ भन्ने व्यहोरा लेखिएको थियो।
यो व्यहोरा पढेर त अझ उनी छक्कै परिन्। सोच्न थालिन् ‘यस्तो घटना कहिल्यै भएकै छैन। लोग्ने सम्बन्ध विच्छेदकै हदसम्म पुग्नेगरी असन्तुष्ट हुने मैले के चाहिँ गल्ती गरें हुँला र यो बहाना बनाइएको होला?’ कहिलेकाहीँ सामान्य ठाकठुक परेको भए पनि सम्बन्ध विच्छेदकै अवस्थामा पुग्नुपर्ने खालका गल्ती वा यस्ता किसिमका कुनै गम्भीर घटना भएको उनलाई थाहा छैन।
‘यस्तो बहाना बनाई–बनाई सम्बन्ध विच्छेद नै गर्नुपर्ने के चाहिँ कारण होला?’ उनी अनेक तर्कना गरिरहिन्।
जे भए पनि भरे कारण भन्छु भनेकाले कारण थाहा पाउन भरेसम्म पर्खिनुको विकल्प पनि थिएन।
उनी यसको कारण जान्न व्यग्रतापूर्वक ‘भरे’ को प्रतीक्षा गरिरहिन्।
आजको ‘भरे’ आउन उनलाई महिनौं जस्तो लाग्यो। प्रतीक्षाको घडी सकियो, ‘भरे’ रात निकै छिप्पिएपछि ऊ मातेर हल्लिँदै कोठामा आयो, भित्र पसी ड्याम्म ढोका लगायो र लगाएको लुगासँगै डङ्ग्रङ्ग खाटमा पल्टियो।
रजनी गएर छेउमा उभिएर ‘के भयो हजुरलाई र सम्बन्धनै विच्छद नै गर्नुपर्ने सम्मको अवस्था आयो? मैले के गल्ती गरेँ? विवाह गरेको ६–७ महिनामै सम्बन्ध विच्छेद गर्नुपर्ने भए किन मलाई विवाह गर्नुभयो?’ लगायतका रूँदै यस्तै अनेकौं प्रश्नको वर्षा गरिन् रजनीले।
प्रश्न गरूञ्जेल ऊ चुपचाप सुनिरह्यो। रजनीको प्रश्नको वर्षा सकिएर हुँक्क–हुँक्क रून लागेपछि उसले भन्यो ‘रजनी! तिम्रो कुनै गल्ती छैन। गल्ती मेरै भयो, ठूलो गल्ती! तिमीसँग बिहे गर्नुअघि म कार्यालयकै उउटी केटीसँग प्रेममा थिएँ। ऊसँग बिहे गर्न घरमा प्रस्ताव पनि राखेँ तर जात नमिलेकाले घरमा सहमति भएन।
यो कुरा उसलाई पनि सुनाएर घरमा सहमति नभए पनि म उसलाई बिहे गर्न तयार रहेको कुरा भनेको थिएँ र म घरमा विद्रोह गरेरै भए पनि बिहे गर्ने मनस्थितिमै थिएँ। तर त्यसपछि ऊ मसँग बिस्तारै टाढिन थाली र बुझ्दा उसले अर्के केटासँग प्रेम गर्न थालेकी रहिछे। एकदिन उसलाई ‘तिमी किन आजकल मबाट टाढा हुँदैछौ, जसरी पनि म तिमीसँग बिहे गर्छु त भनेकै छु त।’ भन्दा ‘अब हाम्रो कुनै सम्बन्ध छैन, तिमी आफ्नो सुर गर म आफ्नो सुर गर्छु’ भनी यसरी हाम्रो सम्बन्ध सिद्धियो। त्यसपछि मैले उपयुक्त केटी पाए बिहे गर्ने भन्ने खबर घरतिर पठाएपछि तिम्रो र मेरो बिहे जुरेको हो। त्यसपछि तिमी र म यहाँ आएपछि सब ठिकठाकै थियो। ३ महिनाअघि देखि त्यो केटी फेरि मसँग नजिकिने प्रयास गर्न लागि। त्यसको केटाले उसलाई छोडिसकेको रहेछ। म पर पर हुन खोजे पनि ऊ नजिकिने प्रयास गर्थी म वास्तै गर्दिन थिएँ। एक दिन अफिस कोठामा म एक्लै भएको मौका पारी ‘मैले तिमीले भनेको नमानेर ठूलो गल्ती गरेँ, तिम्रो बिहे पनि भइसक्यो।
म तिम्रो वैवाहिक जीवनमा कुनै दख्खल दिन्नँ तर तिमीले यसरी मलाई वास्ता नगर्दा म ज्यादै मर्माहत भएकी छु। प्लिज! यसरी बेवास्ता नगर, हामी एउटा असल साथीका रूपमा रहौं, मेरो गल्तीलाई क्षमा गर।’ भन्दै दुबै कान समातेर उठ बस पो गर्न लागि। त्यसपछि म पनि ऊप्रति सकारात्मक भएछु र उसँग मेरो एउटा साथीको जस्तो व्यवहार हुन लाग्यो। यस क्रममा घुमघाममा पनि गइयो र घुमघामकै क्रममा हामी धेरै नजिक भएछौं। मबाट ठूलो गल्ती भयो, अहिले बुझ्दा ऊ नजिकिनुको उद्देश्य मबाट यही गल्ती गराउनु रहेछ भन्ने लाग्छ।’
यति भनि सकेर उसले लामो सास फेर्यो, केहीबेर रोकियो। यस बीचमा रजनी पनि चुपचाप रहिन्।
केहीबेरपछि फेरि उसले भन्न थाल्यो ‘उसको गर्भ रहेछ, सुरूमा उसले भनिन्। अब अहिले आएर ‘तिम्री श्रीमतीसँग सम्बन्ध विच्छेद गरी मलाई बिहे गर्छौ भने गर नत्र तिमीले मलाई बलात्कार गरेर गर्भ बोकाएको भनी सार्वजनिक गर्छु र आवश्यक परे प्रहरीमा जाहेरी दिन्छु’ भन्न थाली।
‘अब म के गरौं, तिमी नै भन। कि बलात्कारको सजाय भोग्न तयार हुनुपर्यो, यसो भयो भने जागिर पनि जान्छ। नत्र भने त्यसलाई श्रीमती बनाउनु पर्यो। तिमीसँग सम्बन्ध विच्छेद नगरिकन उसलाई श्रीमती बनायो भने बहुविवाहमा मेरो जागिर जान्छ नै। फेरि उसको सर्त नै पहिले तिमीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने भन्ने छ। त्यसैले सम्बन्ध विच्छेद गरेर तिमीले मलाई सहयोग गर्नुपर्यो, बरू सम्बन्ध विच्छेद पछि पनि म दुबै जनालाई मिलाएर राख्न प्रयास गर्नेछु। यस कुरामा म उसलाई सहमत गराउँछु। त्यो केटीका कुरामा विश्वास गरी पुनः नजिकिनु मेरो ठूलो गल्ती भयो, मलाई माफ गर रजनी !’
यति भनेर ऊ चुप भयो।
मूर्तिवत् भई यी सबै कुरा सुनिरहेकी रजनी यति सुनिसकेपछि दिमाग शून्य भइन्, संसार फनफनी घुमेजस्तो र आफू कहाँ छु र के सुनिरहेकी छु भन्ने कुराको समेत हेक्का नभए जस्तो भयो। केहीबेर त्यसरी नै मूर्तिवत् उभिएपछि रिंगटा चलेर होस हराउला जस्तो भएर आयो र शून्य भएर त्यहीँ थुचुक्क बसिन्। त्यसरी कतिबेर बसिन् उनी आफैलाई थाहा भएन। यस बेलासम्म ऊ पनि ओछ्यानमा नै पल्टिरहेको थियो। केही होस आएजस्तो भएपछि उनी उठिन् र अघि उसले दिएको सम्बन्ध विच्छेदको कागजमा सही गरी सुतेकै ठाउँमा उसका हातमा सो कागज राखिदिई बेडरूमबाट निस्की भान्सा कोठामा रहेको लो वेडमा गएर सुतिन् तर रातभर निन्द्रा परेन।
बिहानपख झपक्क भइछन्, उठ्दा ऊ कतिबेला उठेर गइसकेछ। उनी उठिन्, केहीबेर शून्यमा टोलाइरहिन्। खाना बनाउने र खाने कुनै जाँगर थिएन। एक कप रातो चिया पकाएर खाइन् र सोचिन् गल्ती कसको हो त? उनको लोग्ने वास्तवमा चेपुवामा परेकै हो त? के उसको गल्ती नै छैन? फेरि सोचिन् ‘उसको गल्ती त छ नि! भर्खर बिहे गरेकी श्रीमती घरमा छँदाछँदै अर्की महिलासँग यौन सम्बन्ध राख्नु गल्ती होइन र? तर यो गल्ती त उसले स्वीकार गरेको पनि त छ! लोग्ने मान्छेको जात कुनै महिलाले सम्बन्ध राख्न चाहेमा रोकिनै नसक्ने! कसैले फसाउन चाहे सजिलै फस्छन्।’
आफ्नो लोग्नेलाई पनि त्यो केटीले फसाएकै हो भन्ने कुरामा उनी एक मनले सहमत भइन् तर लोग्नेको गल्तीले आफ्नो जीवन अन्धकार भएको विषयमा भने उनी निकै दुखित भइन्। लोग्नेले राखेको ‘बरू सम्बन्ध विच्छेद पछि पनि म दुबै जनालाई मिलाएर राख्ने प्रयास गर्नेछु। यस कुरामा म उसलाई सहमत गराउँछु,’ भनेको सम्झिइन्।
‘के यो सम्भव छ?’ उनले आफैलाई सोधिन् र आफैले जबाफ दिइन्, ‘अँ हँ! सम्भव छैन। म बिहे गरेर आएकी मान्छे लोग्नेसँग सम्बन्ध विच्छेद गरेकी दोस्रो दर्जाकी श्रीमती भएर सौतासँग बस्न कुनै हालतमा सम्भव छैन।’ आफैले जबाफ दिइन्।
‘अब कहाँ जाने, के गर्ने त, के माइत जाने?’ फेरि आफैले आफैलाई सोधिन् र फेरि जबाफ दिइन् ‘माइतीलाई पीर पार्न र पछि बोझ बन्न माइत पनि नजाने। समय र परिस्थितिले जे गराउँछ, जहाँ पुर्याउँछ त्यहीँ जाने, त्यही गर्ने। आखिरमा उमेर छ पढेकी पनि छु, केही न केही गरेर, केही बनेर देखाउँछु, म पनि कुनै लोग्ने मान्छे खोज्न पनि त सक्छु।’
हुन त लोग्नेसँग सम्बन्ध विच्छेद गरेर जाँदा लोग्नेको आधा अंश पाउने कानुनी व्यवस्थाका बारेमा उनी जानकार नभएकी भने होइनन् तर छोड्ने लोग्नेसँग अंश माग्ने सोच नै गलत हो भन्ने उनको ठम्याई रह्यो। यी सबै कुरामा सोविचार गरी अब लोगेको घर आजै छोड्ने निष्कर्षमा पुगिसकेपछि उनले लोग्नेका नाममा एउटा चिट्ठी लेखिन्।
‘प्राण प्यारा!
तपाईंसँग सात जन्म सँगै बिताउने कसम खाएर विवाह बन्धनमा बाँधिएकी थिएँ र जिन्दगीभरी हजुरसँगै रमाएर बस्ने धोको थियो तर नियतिलाई यो मञ्जुर रहेनछ। यो सम्बन्ध ७ महिना पनि पूरा टिक्न सकेन। यसमा म हजुरलाई पनि दोष दिन्नँ किनकी यो मेरो कर्मको दोष हो। यदि अर्को जन्म भएछ भने र नियतिलाई मञ्जुर भएछ भने अन्य जन्ममा यो सम्बन्धलाई दीर्घ बनाउँला भनेर चित्त बुझाउँदै म तपाईंको घर र तपाईंसँगको सम्बन्धबाट समेत अलग हुँदैछु। नववैवाहिक जीवनको शुभकामना छ।
हुन त हिजैदेखि म तपाईंकी रहिन तर माफ गर्नुहोला। हिजोको रात मैले तपाईंकै छहारी मुनि बिताएँ र आजबाट म तपाईंसँगको सबै किसिमको सम्बन्धबाट अलग हुँदैछु। मेरो मोबाइल नम्बर हजुरलाई यादै छ, कानुनी प्रक्रिया पूरा गर्नका लागि कहिले कहाँ आएर सही गर्नुपर्ने हो खबर पाऊँ म आएर सही गरिदिइ हाल्छु।
एकअर्कालाई परेको आपत् विपदमा सहयोग गर्ने कसम खाएर बिहे गरेको हुँदा हजुरलाई परेको आपदमा सहयोग गर्नु मेरो कर्तव्य नै सम्झेर सकेसम्म सहयोग गर्ने निष्कर्षमा पुगी मैले हिजै हजुरले तयार गरेको कागजमा सही गरी सकेकै छु। आगामी दिनमा म जे-जस्तो अवस्थामा रहे पनि तपाईंसँग बिताएका यी सुनौला दिन मेरो जीवनभर सम्झनामा आइरहने छन्। हजुरका कपडाहरू सबै पट्याएर दराजमा राखिदिएकी छु। अब त छिट्टै अर्की पनि आइहाल्छे होला तबसम्मलाई पुग्ने खाद्यान्न छ।
मसँग भएका हजुरका सबै पैसा तथा तपाईंले दिनुभएका गरगहना र लुगा सबै दराजमा राखी साँचो सिरानमुनि राखिदिएकी छु। सबै गरगहना र लुगाफाटो नयाँ आउने श्रीमतीलाई दिनुहोला र सफल र दीर्घ वैवाहिक जीवनका लागि मेरो तर्फबाट उसलाई शुभकामना पनि सुनाइदिनुहोला।
मैले लगाएका एक सरो लुगा र हजुरले किनिदिनुभएको मोबाइल मैले लगेकी छु। मोबाइल अदालतमा हुने भेटमा फिर्ता गर्नेछु। हजुरसँग अब एक पटक मात्र अदालतमा भेट हुनेछ। वैवाहिक जीवनको यो छोटो बसाइँमा मबाट कुनै गल्ती भएको भए माफ गरिदिनु होला।
माथि नै भनिसकेँ पुनर्जन्म भएमा र नियतिले साथ दिएमा अर्को जन्ममा जिन्दगीभर सँगै बसी यस जन्मका अधुरा इच्छा र कामनाहरू पूरा गरौंला। हवस् त बिदा हुन्छु।
हजुरको भलो चिताउने हिजोसम्मकी हजुरकी उही–
रजनी
चिट्ठी खुल्लै ओछ्यानमा र दराजको साँचो सिरान मुनि राखी भित्री लुगाको एउटा सानो पोको बोकेर रजनी ढोकाबाट बाहिर निस्किइन्। गन्तव्यहीन, शून्य दिमाग र सोच शून्य भएर।