बिहान आठ
साँझ आउने सात
हतारमा टिप्ने
दुई गाँस भात!
निन्द्रामै हुन्छन्
ती साना परी
बिउँझाउनु पर्ने
अनेक जुक्ती गरी!
छोडेर तिनीलाई
स्कुलमा पहिले
अफिसमा हाजिर
नौ बजे नै जहिले!
हुन्छौँ भनी होला
अफिस अबेर
निद्राले पनि
छाड्दछ सबेर!
भटारभुटुरको
गर्दै तयारी
दालभातको जोहो
मिलाउने पियारी!
चार पाउको मुटु
हत्केलामा राखी
वेगले कुदाउँछौँ
आफैँ सवारी!
ढिलाइको कारण
लेख्न मन छैन
कुर्सी छड्केमा
पर्नु राम्रो होइन!
भन्दै कुद्दछौँ
ढुकढुकी बढाई
नतिजा निकाल्न
अफिसको कडाइ!
झरीबादल, थकाइ
निन्द्रा र भोक
रापताप कहिले
पर्छन् नोकझोक!
पाँच दिनको कुदाइले
दुई दिन बिदा पाउँदा
पुलकित हुन्छौँ
शुक्रबार आउँदा!
घर, आफन्त, समाज
सम्बन्धका सार
ती सबै मिलाउन
शनि, आइतबार!
मुलुक बदलियोस्
गर्छौँ असल कर्म
बुझी जनभरोसा
आशा अनि मर्म!
सरकारको नीति
गतिलाई समाती
नियमपूर्वक सेवा
गर्ने हो नआत्तिई!
देश बनाउने अठोट
बोकेका छौँ माथमा
संघर्ष वेदीमा
निको होस् यो गाथमा!
नरमकरम मिलाई
घर अड्डाका धन्दा
'धपेडीको जागिर छ'
निष्कर्षमा भन्दा!