च्याट जिपिटीलाई सोधेँ मैले, 'केटीले मन पराई भने कस्तो व्यवहार देखाउँछे?'
उसले उत्तर दियो, 'बोल्ने बहाना खोज्छे, साना–साना कुरामा चासो देखाउँछे, कुरा ध्यान दिएर सुन्छे, मेसेजको जबमफ छिटो फर्काउँछे, फोनमा कुरा गर्न खोज्छे, देख्दा अनुहार उज्यालो बनाउँछे, मुस्कुराउँछे, विशेष व्यवहार गर्छे, पहिले भनेका कुरा सम्झिराख्छे, रूचि, काम, स्वास्थ्य, दिनचर्या आदिबारे सोध्छे।'
च्याट जिपिटी लभ गुरू भयो। हो, उसले च्याट जिपिटीले भनेजस्तै गर्थी मलाई। उसका व्यवहार हुबहु त्यस्तै थिए। भित्रभित्र दंग थिएँ। मन नपराउने कहाँ हो र? भन्न पो नसकेको मैले पनि।
उसले अर्थात् दुर्गाले मलाई पटक–पटक सोधी, 'तिमी मलाई मन पराउँछौ? वा राम्री लाग्दिन भने अहिले नै भन। पछि यस्तो उस्तो भन्न पाउँदैनौ नि। पछि म छोडदिनँ नि!'
उसका कुरा सुनेँ मैले, तर जबाफ फर्काइनँ। उसले सोचिछे कि म उसलाई मन पराउँदिनँ। वास्तवमा कुरा त्यस्तो थिएन। उसको रूप रङभन्दा साँचो व्यवहार हेर्न चाहन्थेँ। खासमा उसले मन पराएपछि मात्र मैले उसलाई मन पराएँ।
उसको र मेरो चिनजान क्याम्पसमा भएको हो। म नोट बनाउँथेँ, ऊ त्यही नोट सार्न खोज्थी। क्याम्पस ढिलो पुग्दा मलाई सिट रोकिदिन्थी। म इन्ट्रोभर्ट थिएँ। यही फरक थियो ऊ र ममा। उसलाई बोलिरहनुपर्ने, म हत्तपत्त नबोल्ने।
जैविक आकर्षण वा अनन्त जीवन–सहयात्रा यकिन नहुँदै उसको र मेरो विवाह भयो। पढाइ त स्नातक सकियो, तर दुवै बेरोजगार! केही समय आमा–बाबाको आम्दानीमा रमायौँ। माया र प्रेमले मात्र पेट नभरिने रहेछ। लोक सेवा पढेर जागिर खान आँट आएन। परम्परागत कृषि काम गरेर जीवन चल्छ भन्ने लाग्दै लागेन। रमाइलो होस्भन्दा भन्दै तनाव सुरू भयो।
दुर्गा पनि किचकिच गर्न थाली। 'पुरूषले मात्र कमाउनुपर्ने हो र? तिमीले कमाएर मलाई र परिवारलाई पाल्न हुँदैन? कमाउने जिम्मा केटाले मात्र लिनुपर्ने हो र? तिमीले कमाए हुँदैन? रिसाएँ म। अनन्त यो कुरा गढिरह्यो मनमा।
विवाहपछि रमाउँला भन्दा भन्दै ठुस्किँदै महिनाहरू बिते।
देशमा आदिम कालमा पनि अवसर थिएन, आज पनि भएन। इतिहासलाई विश्लेषण गरेर पढ्दा अवस्था सधैँ खराब थियो। धन कमाउन मुग्लान गएको, लाहुर गएर उतै हराएको, मजदुरी गर्न अरनिको पेकिङ (अहिलेको बेइजिङ) गएको, मुनालाई धनदौलत कमाउन मदन भोटमा गएको, पेट पाल्नकै लागि भाडाका सिपाही भएर पहिलो र दोस्रो विश्वयुद्ध लडेको आदि आदि। यो कुरा भनौँ भने अराष्ट्रवादी भन्लान्। तर सत्य यही हो।
विदेश जानुअघि इतिहासमा घोत्लिएँ। लक्ष्मी प्रसादको मुनामदन दिमागमा घुमिरह्यो। धन कमाउन गएको मदन घर फर्किँदा न प्राणप्यारी मुनालाई भेट्यो, न जन्म दिने आमालाई।
अ… यस्तै–यस्तै सोच्दै थिएँ। निदाएछु। उता दुर्गा माइत गएकी छे। एक–दुई दिन भयो, फोन पनि गरेकी छैन। आज आफैले फोन गरेर मलेसियाको भिसा लागेको कुरा सुनाएँ। भोलिपल्ट नै घर आई। 'भगवानले हेरे' भन्दै खुसी भई। मैले पनि खुसी साटेँ।
अर्को हप्ता मलेसिया उडेँ। कारखानाको मजदुर हुन जाँदै थिएँ। पुग्नासाथ दुर्गालाई फोन गरेँ। आमा–बाबालाई पनि पुगेको खबर सुनाएँ। अनलाइनमा हरेक दिन माया खन्याउँथी। म पनि के कम? त्यसै गर्थेँ। दिनहरू त्यसैगरी बित्दै गए।
तलब आउनासाथ श्रीमतीकै नाममा पठाउँथेँ। घरखर्च आमा बालाई पनि दिन भन्थेँ। कारखानामा फलाम पगालेर मासिक तलब थाप्थेँ। त्यही फलाम पगालेको पैसा माया पगाल्न दुर्गालाई पठाउँथेँ। झन्डै दुई वर्ष त्यसरी नै पठाएँ।
आमाले दुर्गाको पारा ठीक छैन भनेर केही समयअघिदेखि भनिरहनुभएको थियो। सासू–बुहारीको ठाकठुक पर्यो होला! उसले गलत काम गर्छे वा गरी भनेर ठान्दै ठानिनँ। म्यासेज र फोनमा आई मिस यु बुढा बारबार भन्थी। यसले मलाई बेस्सरी दोधारमा पार्यो।
एका बिहानै एक दिन आमाले भन्नुभयो, 'बुहारी माइत गएकी छे। धेरै दिन भयो। एकपटक बुझ त।'
काममा व्यस्त थिएँ। कम्पनीले ओभरटाइम गर्न भन्थ्यो। झन्डै अठार घण्टा काम गर्दा कुरा गर्ने समय नै मिलेन।
एक दिन साँच्चिकै नराम्रो सपना देखेँ। आमाले भनेको सम्झिएँ। जुरूक्क उठेर दुर्गालाई फोन गर्दा फोन लागेन। मेसेज पठाएँ। जबाफ आएन। मनमा अनेक शंका उब्जिए। 'हैट… त्यसो हुँदैन।'
मन सम्हालेँ।
ज्यान जाला सम्पर्क भएन। माइतमा फोन गर्दा 'छोरी यहाँ आएकै छैन' भन्ने सुनाए। आत्तिएँ म!
डिजिटल माया खन्याउने दुर्गा बेखबर भई! संसार हारेको ठानेर नेपाल फर्किएँ! मनमा चैन थिएन। दुर्गा सुत्ने कोठामा ताला थियो। ताला फुटाएँ। दुर्गा र मेरो विवाहको फोटोले मलाई हेरिरहेको थियो। तर वास्तविक दुर्गा त्यहाँ थिइन। सुत्ने बेडमा एउटा कागज थियो! त्यसमा लेखिएको थियो-'सरी दिपेश, मैले नै तिमीलाई प्रस्ताव राखेँ र मन पराएँ। दुवैको विवाह भयो। मायाले मात्र पेट नभरिँदा तिमीलाई विदेश जान वा कमाउन बाध्य पारेँ। आज..... एक्लोपनले मन जित्यो! तिमीलाई कुरिरहन सकिनँ। तिम्रो अनुपस्थिति खड्कियो रह्यो मलाई। धनले घर रङ्गियो तर मन रङ्गिएन मेरो। सम्पत्ति मात्र सबै कुरा होइन रहेछ। बल्ल आज बुझे। कुनै दिन मैले नै तिमीलाई भनेको थिएँ— पछि भन्न पाउँदैनौं नि नराम्ररी! त्यो कुरा आज आफैलाई गला लागेको छ। तिमीलाई छोडेर हिँड्दैछु। जैविक आवश्यकताको अगाडि म निरीह भए! माफ गर! अब नखोज है दिपेश मलाई।
मनमा बाढी र तुफान आयो। साँच्चिकै डिजिटल यानेकी भर्चुअल मायाको भर चाहिँ नहुने रहेछ!