त्यो मेरो जीवनका अनेक सुन्दर क्षणहरूमध्ये एक थियो, जहाँ म ढलिरहेको सूर्यसँगै समुद्रको किनारमा उभिएको थिएँ। त्यो क्षण मेरो मात्र थियो, एकदमै आफ्नो।
मेरो पैंताला मुनिबाट समुद्रको पानी छोई, पटक–पटक समुद्रमै फर्किरहेको थियो । मानौं हरेक लहरले, जसरी म तिम्रो काल्पनिक संसारमा डुबेको छु, त्यसरी नै उसले मलाई पनि आफ्नो गहराइमा डुबाउन खोजिरहेको थियो। त्यो चिसो पानीको स्पर्शमा एउटा अजीव न्यानोपन थियो, जुन केवल तिम्रो सम्झनाको न्यानोपनमा छ।
मेरो अगाडिको दृश्य यति राम्रो र सुन्दर थियो कि म त्यसलाई कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ। त्यो दृश्यलाई मैले आफूसँग भएको क्यामरामा कैद गर्न क्यामरा खोले, तर कस्तो दुर्भाग्य, क्यामराको ब्याट्री नै सकिएको रहेछ। त्यस दिनदेखि त्यो दृश्य मेरो हृदयको गहिराइमा, तिम्रो सम्झना जस्तै, सदाको लागि कैद भएको छ।
त्यो क्षण ढलिरहेको सूर्यका किरणहरू समुद्रमा उठिरहेका लहरहरूको छालमा परी, नीलो, सुन्तला र गुलाबी रङको मिश्रण भई एकदमै ठूलो पर्दा जस्तै उभिरहेको थियो, जसको अन्त अन्तहीन थियो। हावामा नुनको हल्का सुगन्ध थियो र टाढा कतै कुनै चरा एकाकी गीत गाइरहेको थियो, जुन गीत मेरो मनको त्यो एक्लोपनासँग मिलिरहेको थियो।
त्यो बेला म सम्झिरहेको थिएँ, 'यदि तिमी यहाँ हुन्थ्यौं भने, यो सूर्यास्त तिम्रो आँखामा कस्तो देखिन्थ्यो होला? तिम्रो ती आँखाहरू, जसमा म डुबिरहन्थे, जसरी यो समुद्र आफूमा सबै थोक समेटिरहेको थियो। सायद त्यो सुन्तला र गुलाबी उज्यालो तिम्रो हँसिलो मुहारमा परेको भए, यो संसार अझ बढी सुन्दर देखिन्थ्यो। तिम्रो हात मेरो हातमा थाम्न पाएको भए, त्यो चिसो हावाको कुनै असर हुन्थेन, किनकि तिम्रो स्पर्शमा नै मेरो उन्नौ मौसमको न्यानोपन भेटिन्थ्यो।'
मेरो अगाडि भएको त्यो अन्तहीन उज्यालोमा मैले तिमीलाई देखे।
जहाँ तिमी खुसी थियौ, तिम्रो ओठमा त्यो मीठो मुस्कान थियो जुन मैले वर्षौंसम्म मनमा बोकेर जीवनको यात्रामा एक्लै हिँडिरहेको छु, सायद त्यही मुस्कानका लागि नै बाँचिरहेको छु। त्यो अन्तहीन उज्यालोमा, जुन उज्यालो अहिले सपनामा मात्र भेटिन्छ। तिमीले मलाई आफूनेर बोलाउँदै थियौ, आफ्नो हात फैलाउँदै, मानौ तिम्रो अँगालोले मलाई आफूमा नपाएर एकोहोरो महसुस गरिरहेको थियो र जसरी पुरानो कुनै गीतको धुन अचानक कानमा आएर मनलाई धेरै वर्ष पछाडि तानेर लैजान्छ, म पनि त्यसै तानिन्छु, पटक पटक, हरेक पटक।
म आफ्नो मन र पाइला थाम्न सकिनँ र विस्तारै तिमीतिर पाइला बढाएँ। जसरी–जसरी मेरो पाइला तिमी नजिक हुँदै गयो, तिमी त्यति नै मबाट टाढा भइरहेको थियौ। सपनामा हात थाप्दा आफ्नो मान्छे छुन नपाइने जस्तै। केही पाइला हिँडेको होला, समुद्रको चिसो पानी फेरि मेरो पैतालामुनि आएपछि म झस्केँ।
ओहो!
त्यो त मेरो मनमा तिम्रोप्रति भएको कल्पना थियो, जो त्यो सुन्दर क्षणमा जीवन्त बनेर सिनेमाको पर्दामा कुनै दृश्य देखाए झैं अगाडि देखिरहेको थियो। एकछिन अगाडिसम्म देखिने तिम्रो आकृति पुनः एकपटक त्यो अन्तहीन उज्यालोभित्र हरायो, जसलाई म सायद कहिल्यै खोज्न सक्दिनँ।
त्यो पलमा मनले एउटा अजीव खेल खेल्यो। याद आयो, एक दिन तिमीले हाँस्दै भनेको थियौ, 'कहिलेकाहीँ मन लाग्छ, संसारको कुनै टुप्पोमा उभिएर आकाशसँग कुरा गरौँ।'
त्यो दिन म समुद्रको त्यो किनारमा उभिएर बुझेँ, त्यो टुप्पो यही हो, तर म आकाशसँग होइन, तिम्रो सम्झनासँग कुरा गरिरहेको थिएँ। त्यो क्षण तिम्रो प्रत्येक शब्द, प्रत्येक हाँसो, प्रत्येक मौन सबै मेरो वरिपरि समुद्रको लहरझैं उठिरहेको थियो र फेरि फेरि मलाई छोएर फर्किरहेको थियो।
म एक्लै, सूर्य समुद्रमा नसमाएसम्म, एकटक त्यही उभिएर तिम्रो उपस्थितिलाई आफूभित्र महसुस गरिरहेँ। त्यो अवधिभर तिमी मसँगै थियौ, मेरो अँगालोमा, मलाई माया गर्दै, मेरो कानमा बिना शब्दको केही भन्दै। त्यो अनुभूति अहिले पनि मेरो छातीभित्र कतै जीवित छ, जसले मलाई सधैं तृष्णामा डुबाएको हुन्छ।
खै, कस्तो तृष्णा र माया हो यो? जसको तिर्खा कहिल्यै नमेटिने, सधैं तिमीलाई नै खोजिरहने। जुन माया बोल्दैन, तर चिच्याउँछ, मन भित्रैभित्रबाट।
त्यो साँझ मैले बुझेँ, माया गर्नु भनेको सँगै हुनु मात्र होइन। कहिलेकाहीँ यो त्यो पनि हो, जब कोही नहुँदा पनि उनको उपस्थिति यति गाढा हुन्छ कि एक्लोपन नै भरिएको महसुस हुन्छ। तिम्रो याद मेरो निम्ति एउटा गीत हो, जो कुनै साजमा बज्दैन, तर मनको गहिराइमा सधैं गुनगुनाइरहन्छ।
सूर्य समुद्रको गहिराइमा डुबेपछि मेरो आँखा अगाडिबाट त्यो अन्तहीन उज्यालोको पर्दा पनि सदाको लागि हरायो र तिमी पनि एक क्षणमा मेरो अँगालोबाट त्यही अँध्यारोमा समायौ, सायद कहिल्यै नफर्किने गरी।
तर जीवन रोकिँदैन, लहरहरू रोकिँदैनन्। ती लहरहरू जस्तै म पनि अगाडि बढिरहेको छु, कहिले ढिलो, कहिले हतारिएर, तर अगाडि नै। त्यो क्षण, त्यो सम्झना, त्यो माया सबै मैले आफ्नो छातीभित्र सजाएर राखेको छु, त्यो क्यामराले कैद गर्न नसकेको त्यो सूर्यास्तको दृश्य जस्तै।
एकदिन जब हामी भेटिनेछौ, म तिमीलाई सबै सुनाउनेछु। त्यो समुन्द्रको किनारको कथा, त्यो नुनको सुगन्ध, त्यो एकाकी चराको गीत, र त्यो उज्यालोमा देखेको तिम्रो मुस्कान। किनकि यी सम्झनाहरू मेरो मात्र होइनन्, यी तिम्रा पनि हुन्, तिम्रो अनुपस्थितिले नै बनाएका, तिम्रो सम्झनाले नै जिउँदो राखेका।
त्यो दिनसम्म, 'त्यो एक क्षण' मेरो हृदयमा सुरक्षित छ।
केवल तिम्रो लागि मात्र।