मेरा लागि
एउटा गुडिया बनाइदेउ
जसलाई बिहान सबैभन्दा पहिले गुडमर्निङ लेख्न पाउँ
दिनभर मनमा सानो–ठूलो भाव लेखिरहन पाउँ।
बिनाझिँजो झर्को नमानी उसले रेस्पोन्स गरिरहोस्
अनि
राती सबैभन्दा अन्तिममा उसैलाई गुडनाइट लेखेर सुत्न पाउँ।
किनभने
यो मन बिसाउन चाहने उमेर हो,
घरभित्र कतै
एउटा यस्तो गुडिया राखिदेऊ
जहाँ
हरदिन अफिसबाट फर्किउँ
अनि
उसको सामु एकछिन सुस्ताउँ
मायाले भरिएको पुलिन्दा फुकाउँ
एउटा चकलेट
उसलाई दिउँ,
मुसुक्क हाँस्दै एउटा चकलेट उसले खाओस्
अर्को चकलेट आफु खाउँ।
दिनभरि चर्दा भेटिएको एक पसार मकै
आधा पसार उसलाई खुवाउँ
आधा पसार आफु खाउँ।
किनकि
यो अन्तरपुस्ता माया साँट्ने उमेर हो।
एउटा यस्तो गुडिया
जसको सामु केहिछिन
दिनभरिका सुखदुखका अनुभूति सुनाउँ
उ उत्सुकताले सुनिरहोस्
अनि उसको अनुभव सुनाओस्
अन्तरंगले
भरछिनमै दिनभरको थकान मेटुँ
किनभने
यो सन्तानको साथ रहने उमेर हो।
उसको सामु
भावी जीवनको योजना बुनुँ
बिगतको अनुभवको सुनाउँ
उसले उत्साहसाथ,
धैर्य गरी सुनोस्
किनकि यो मेरो अनुभवको माला गाँस्ने र सन्तानलाई पहिर्याइदिने उमेर हो।
घरभित्र
कतै एउटा यस्तो गुडिया बनाइदेउ,
जसको वर्तमान बनाउन,
जसको भविष्य बनाउन घुँडा धसेर लागुँ,
कम्मर कसेर लागुँ
किनभने
यो
सन्तानको वर्तमान र
भविष्य बनाउने उमेर हो।
अनि
जसले
आँशु टिल्पिलाएका बेला
रुमालले आँखा पुछिदियोस्
मायाले मुटु भरिएर पोखिन लागेका बेला
पोल्टो थापिदियोस्
किनभने
यो माया उम्लिने उमेर हो
माया छचल्किने उमेर हो।
जसले उम्लिएको माया सम्हालेर राखोस्
छचल्किएको माया जतनले राखोस्
पोखिएको माया उभाएर राखोस्
किनकि यो
सन्तानलाई माया पोख्ने उमेर हो
मेरा लागि एउटा यस्तो गुडिया बनाइदेउ
जस्ले छोरीको याद मेटोस्,
छोराको झल्को मेटोस्,
किनकि
यो सन्तान परदेशमा,
बाआमा घरदेशमा
विक्षिप्त हुने उमेर हो,
गुडियासंग बह पोख्ने उमेर हो।