र
उता कता तिर हो
सत्ता परिवर्तन भइरहँदा
यता गोंगबु तिर
बिहान घाम उदाइ नै रहनेछ
गोंगबु बसपार्कमा भर्खरका केटाहरूले
बसको ढोका ढ्याप-ढ्याप हान्दै
दाङ तुल्सिपुर, धरान, पोखरा
भनी चिच्याइ नै रहनेछन्
चोक तिर पहाडका जस्ता देखिने
तराईका जस्ता देखिने हुलहरूले
गन्तव्य म्यानपावर कता हो दाइ?
भनी सोधी नै रहनेछन्।
सामाखुसी यातायातको बस
अको ट्रिपको हतारमा चालकले
हतार-हतारमा हुइँकाइ नै रहनेछन्।
मोटरसाइकल स्कुटरको हेण्डलको माथि
मोबाइल फोन राखेका
पठाओ, ईनड्राइभ, याङ्गोका चालकहरू
कहाँ जाने हो दाइ?
भनी सोधी नै रहनेछन्।
कार्यालय समयमा
गोंगबु चोकबाट सुन्धारातर्फ जाने माइक्रोहरूमा
सिट पाइँदैन कि भनी भिड
तँछाड मछाड गरी नै रहनेछन्।
पृथ्वी कहाँ रोकिन्छ र!
समय कहाँ अडिन्छ र!
घाम डुबेपछि
गोंगबुका सडकहरूमा
दाइ कोठा चाहिएको हो भनी
गल्ली-गल्लीमा भिजिटिङ कार्ड लिएर
भर्खरका केटाहरूले सोधी नै रहनेछन्।
गोंगबु चोकमा आठ बजेपछि
ट्राफिक प्रहरीहरू मादक पदार्थ सेवनको
चेकिङ गरी नै रहनेछन्।
एघार बाह्र बजेपछि थर्मस लिएका दिदी-बहिनीहरू
रातको चिसोमा पनि
झरी परेको रातमा पनि
चिया चुरोट बेची नै रहनेछन्।
टाढा कतै
प्रहरीको भ्यान देखेपछि
अँध्यारो गल्ली तिर अपराधी झैँ
लुक्नलाई भागी नै रहनेछन्
र
उता कता हो
सत्ता परिवर्तन भइरहँदा
यता गोंगबु तिर
रातमा
सडकहरू सुनसान भई नै रहनेछन्
माथि निलो आकाशमा
ताराहरू चम्की नै रहनेछन्...।